कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी ३३ वर्षीया दुर्गा चौधरीलाई शारीरिक अपाङ्गता छ । कम्मरमुनिको भाग चल्दैन ।
तीन वर्षको उमेरमै पक्षघात भएर दुर्गाको कम्मरमुनिको भाग चल्न छाडेको हो । शारीरिक अपाङ्गताकै कारण उच्च शिक्षा पढ्ने उनको धोको पूरा हुन सकेन ।
गाउँ नजिकैको विद्यालयबाट उनले ५ कक्षासम्मको पढाइ पूरा गरेका छन् । पाँच कक्षामाथि पढ्नका लागि गाउँ नजिकैको सनवोरा नदी तर्नु पर्दथ्यो । ह्विलचियर गुडाएर नदी तरेर टाढाको विद्यालय पुग्न सम्भव थिएन । त्यै भएर उनको उच्च शिक्षा पढ्ने धोको पूरा हुन सकेन ।
‘विद्यालय जाँदासमेत साथीसङ्गीले गाई गोरुजस्तै हिँड्छौँ, जीवनमा के नै गर्न सक्छौँ भनेर नराम्रो तरिकाले जिस्क्याउँथे’, विगत सम्झँदै उनले भने, ‘त्यसको प्रवाह गरिन, उच्च शिक्षा पूरा गर्ने सपना पूरा नभए पनि निरास भइन, समाजकै अगाडि केही गरेर देखाउने दृढ सङ्कल्पमा अडिग थिए, अवसरको खोजीमा थिए, परिवारका लागि बोझ नभएर सहारा बन्ने धोको थियो ।’
विसं २०६४ मा गैरसरकारी संस्थाको सहयोगमा दुर्गाले ६ महिने सिलाइकटाइ गर्ने तालिम लिए । तालिम पाएपछि उनको दिनचर्या नै फेरिएको छ ।
तालिम लिएपश्चात् संस्थाले उपलब्ध गराएको हाते सिलाइ गर्ने मेसिनले उनले गाउँघरमै सिलाइको कार्य गरी कमाइ गर्दै आएका छन् । त्यसै क्रममा सङ्घ संस्थाले सञ्चालन गर्ने सिलाइकटाइ तालिममा सुरुमा सहायक प्रशिक्षकका रुपमा काम दिन्थे ।
‘त्यसबाट आउने पारिश्रमिकले घरको खर्च चलाउन सहज हुन्थ्यो’, उनले भने, ‘सिलाइकटाइमा एक लेवलको परीक्षा पास गरेपछि प्रमुख प्रशिक्षकारुपमा नगरपालिकाबाट सञ्चालन हुने तालिममा अब काम पाइन थालेको छ ।’
सिलाइकटाइको दोस्रो लेवलको परीक्षा पास गर्ने उनको धोको छ । तालिम सञ्चालन गरेबापत उनले ३० हजारदेखि ४५ हजार रुपैयाँसम्म पारिश्रमिक बुझ्ने गरेका छन् ।
तालिम दिने कार्यसँगै उनले शुक्लाफाँटा–५ वन समिति बजारमा दुई लाख रुपैयाँ लगानी गरी सिलाइकटाइ गर्ने पसल सञ्चालन गरेका छन् । आजकल पैसा तिरेर सिलाइकटाइ सिक्ने आउने बढ्दैछन् ।
दैनिक दुई घण्टा सिलाइकटाइ सिक्नेबाट उनले मासिक एक हजार शुल्क लिने गरेका छन् । दुर्गाको पसलमा अहिले सिलाइकटाइको चार जनाले प्रशिक्षण लिइरहेका छन् ।
दुर्गा अहिले कपडा कटिङ गर्ने कार्यसँगै जेन्सले लगाउने कमिज, पाइन्ट, कोट र लेडिजले लगाउने ब्लाउज, पेटिकोट, सलवार, कुर्तालगायत सिलाइ गर्छन् ।
भनेकै समयमा कपडा सिलाइ गरी दिने र चाहेकै डिजाइनमा कपडा सिउने भएकाले दुर्गासँग ग्राहकको विश्वास बढ्दो छ ।
कमाइबारे दुर्गा भन्छन्– ‘तालिम सञ्चालन भएका बेला प्रशिक्षकका रुपमा कार्य गर्छु’, उनले भने, ‘बाँकी समय पसलमै कपडा सिउने कार्यमा खर्चिने गर्दछु, कपडा सिलाइ गरेवापत दैनिक दुई हजारदेखि चार हजार रुपैयाँसम्म कमाइ हुन्छ, सिजनमा त्योभन्दा दोब्बर तेब्बर बढी कमाइ हुन्छ ।’
परिवारमा एक्लो कमाउने दुर्गा नै हुन् । परिवारको पूरै खर्च उनले नै बहन गर्दै आएक छन् ।
‘बुबा, आमा र भाइको खर्च मैलेनै बेहोर्छु’, उनले भने, ‘शारीरिक अपाङ्गता भएपछि परिवार निकै तनावमा हुन्थे, तालिम लिएर सिलाइकटाइको कार्य गर्न थालेपछि परिवार पूरै खुसी छ, दिनभरि सिलाइ गरेर आएको पैसा आमाको हातमा राखिदिन्छु, उहाँ आँसु झार्दै भन्नुहुन्छ, ‘हामीले छोरा नै पाएका छौँ, तिमी छोरी हैन छोरा नै हौं ।’ घरका लागि आवश्यक सामान खरिद गरेर दुर्गाले नै लग्ने गर्छन् ।
पसलको भाडा तिरेर बाँकी रकम आमालाई बुझाउने गरेको उनी बताउँछन् । गाउँकै समूहमा भविष्यका लागि दुर्गाले रकम बचतसमेत गर्दै आएका छन् । समूहमा उनको रु एक लाख बढी रकम बचत छ ।
विगतको जस्तो अहिले सनवोरा नदीसमेत तर्नुपर्दैन । नदीमा पक्की पुल निर्माण भएपछि दुर्गा दैनिक घरबाटै सडकमा ट्राइसाइकल गुडाएर सात किलोमिटरको यात्रा तय गर्दै पसलसम्म गुग्छन् ।
‘घाम पानी जे भए पनि दैनिक ट्राइसाइकल गुडाएर पसलमा पुग्छु’, उनले भने, ‘अब बानीनै परिसक्यो, जीवनसँग सङ्र्ष गर्न सिकेको छु, त्यसैले पसल सञ्चालन गर्न सक्षम भए ।’
दुर्गाका बुबा जग्गुराम चौधरी छोरीको सङ्घर्ष देखेर दङ्ग छन् । जग्गुराम भन्छन– ‘शारीरिक अपाङ्गता भएको छोरीले जीवनमा सङ्घर्ष गरी व्यवसायी होला भनेर सोचेका थिएनौँ, गरेर देखाएकी छ, यसमै हामी सन्तुष्ट छौँ, अपाङ्गता भएपछि यसको भविष्य के होला भनेर सोच्थ्यौँ, कमाइ गर्न थालेपछि ढुक्क छौँ, अब चिन्ता छैन ।’
दुर्गाले एक लेवलको कक्षा पास गरे पनि दुई लेवलको कार्य गर्न समक्ष भएको नगरपालिकाको उद्योग शाखाका प्रमुख धनबहादुर चौधरीले बताउँछन् । ‘दोस्रो लेवलको परीक्षामा सहभागी गराउनका लागि प्रयास गर्छौँ’, उनले भने, ‘नगरपालिकाबाट सञ्चालन हुने तालिममा प्रशिक्षकका रुपमा दुर्गालाई नै लिँदै आएका छौँ ।’