काठमाडौैं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)मा पाँच जना डिआइजीमा बढुवा भएका छन् । ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भिम बहादुर बुढाथोकीको डिआइजी सरहको अनुसन्धान निर्देशक पदमा बढुवा भएको हो ।
बढुवासँगै चार जनाले प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । खड्कालाई सुदुरपश्चिम, खनाललाई प्रदेश नम्बर १, दाहाललाई कर्णाली तथा हमाललाई प्रदेश नम्बर २ को जिम्मेवारी दिइएको छ । बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ ।
त्यस्तै, दुई डिआइजीको सरुवा पनि भएको छ । प्रदेश नम्बर १ मा कार्यरत प्रकाश पाण्डेको बागमति तथा सुदुरपश्चिममा कार्यरत मधु कार्कीको गण्डकीमा सरुवा भएको छ ।
डिआइजी बढुवासँगै गुप्तचरमा लामो समयदेखि रोकिएको बढुवाको जाम खुलेको छ । तल्लो तहमा भने विभागमा नयाँ प्रमुख नियुक्ति भएपछि मात्र बढुवा हुने सम्भावना छ । हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउँदैछन् ।