काठमाडौं । नेपालमा भिजिट भिसामा विदेश जान कडाइ भएपछि भारत हँुँदै विभिन्न देशमा मानवतस्करी हुन थालेको छ । भारत हुँदै कम्बोडिया पुगेका तीन नेपालीलाई त्यहाँको अध्यागमनले शंका लागेपछि गत मंगलबार विमानस्थलबाटै फर्काइदिएपछि यसको रहस्य खुलेको हो ।
करिब तीन सातायता नेपालको विमानस्थलबाट भिजिट भिसाको सेटिङ भत्किएको छ । प्रहरीले कडाइ गरेपछि अध्यागमनले पनि शंकास्पदलाई फर्काउन थालेको छ । यस्तो अवस्थामा भारतका विभिन्न विमानस्थल प्रयोग गर्दै नेपालीहरू तेस्रो देश जान थालेका हुन् ।
गत मंगलबार कम्बोडियाबाट फर्काइएका तीनजना चिनियाँ कल सेन्टरमै काम गर्न एक गिरोहले पठाएको थियो । कम्बोडियामा धेरै नेपाली घुम्ने बहानामा काम खोज्न गएपछि त्यहाँको अध्यागमनले कडाइ गर्न थालेको छ । कम्बोडियाले नेपालीलाई ‘अन अराइभ’ भिसा दिन्छ । त्यही सुविधाको दुरुपयोग गरी मानव तस्करी भइरहेको हो । अन्य देश नघुमेका व्यक्तिलाई अन अराइभ भिसामा त्यहाँ कडाइ भएपछि सुरुमा दुबई लाने र त्यहाँ केही दिन राखेर कम्बोडिया लैजाने प्रवृत्तिसमेत देखिएको छ ।
गत बुधबार नेपाल फर्किएका महोत्तरीका मुकेश ठाकुरलाई पनि त्यसैगरी सुरुमा दुबईमा केही दिन राखेर कम्बोडिया पु¥याइएको थियो । आयुष मेनपावरका सञ्चालक उदीतनारायण साहले त्यसरी कम्बोडिया पठाएर बिक्री गरेको भन्दै उनले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् ।
नेपाली युवा दुई हजारदेखि पाँच हजार डलरसम्म बिक्री
नेपाली युवालाई दुई हजारदेखि पाँच हजार डलरसम्म एजेन्टहरूले चिनियाँ गिरोहलाई बिक्री गर्ने पीडितको भनाइ छ । चिनियाँ गिरोहले बन्धक बनाएर नेपालीलाई अनलाइनबाट हुने ठगीका काममा लगाउने गरेका छन् । उनीहरूले मासिक ५०–६० हजार तलब पनि दिने र भिसासमेत नलिई त्यहाँ अवैध काममा लाग्दा उनीहरूलाई त्यहाँ पक्राउ पर्नेलगायत समस्या बढेका छन् ।
गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लालसिंह खड्का वैदेशिक रोजगारीको प्रलोभनमा कम्बोडिया पु¥याएर धेरैलाई चिनियाँ कल सेन्टरमा बन्धक बनाएर काममा लगाउने गरिएको प्रवृत्ति बढेको बताउँछन् । कतिपयलाई आफूहरूले उद्धार गरी नेपाल फर्काएको उनी बताउँछन् । भिजिट भिसामा कामका लागि करिब चार सय नेपाली कम्बोडिया पुगेको आकलन छ । पछिल्लो समय कम्बोडिया प्रहरीले यस्ता कल सेन्टरमा छापा हान्ने कामलाई तीव्रता दिएको खड्काले बताए । थाइल्यान्ड, बंगलादेशलगायत देशबाट समेत त्यसरी रोजगारीको प्रलोभनमा लगी बन्धक बनाएर अवैध काममा लगाइनेमा पटक–पटक उद्धार भएका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी दानबहादुर मल्लले पछिल्लो समय कम्बोडियालगायत दक्षिण–पूर्वी एसियन देशमा भिजिट भिसामा मानव तस्करी बढ्न थालेको र त्यसउपर अनुसन्धान भइरहेको बताए । ‘भिजिट भिसामा लगेर अवैध काममा लगाउने गरेको सूचना छ,’ उनले भने, ‘यसको नियन्त्रणदेखि अनुसन्धानसम्मका काम गरिरहेका छौँ ।’
कम्बोडिया मात्र नभई खाडीलगायत अन्य देशमा पनि भारतबाट जाने क्रम बढेको स्रोत बताउँछ । भारतबाट जाँदा दिल्लीस्थित नेपाली दूतावासको नो अब्जेक्सन लेटर चाहिने भए पनि त्यो नियमको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।