Logo
Logo

सशस्त्रमा बिचौलिया सक्रिय


273.4k
Shares

काठमाडौं । चुनावको मुखमा सशस्त्र प्रहरी बलमा हतियारसहित करोडौंका सामान खरिदको प्रक्रिया अघि बढेको छ । खरिदमा सेटिङ मिलाउन व्यापारीहरु बालुवाटार र गृह मन्त्रालय धाउन थालेका छन् ।

सशस्त्र प्रहरीको माली मिसनका लागि बन्दोबस्तीका सामान खरिद हुन लागेको हो । त्यसका लागि आवश्यक हतियार खरिदका लागि सशस्त्र प्रहरीले आइतबार अन्तर्राष्ट्रिय टेण्डर निकालेको छ । यसअघि पनि सशस्त्रले हतियार खरिद गर्न लागेकोमा विवादपछि रद्द गरिएको थियो ।

शान्ति मिसनका लागि अत्यावश्यक हुने भएपछि बाध्य भएर फेरि हतियार किन्न लागिएको छ । सशस्त्र प्रहरी कल्याण कोषबाट हुन लागेको यस्तो खरिदकामा पनि बिचौलियाहरु सक्रिय भइसकेको छन् । हतियार मात्र होइन अन्य बन्दोबस्तीका सामान पनि खरिदको काम अघि बढेको छ । एपिसी लगायत गाडी खरिद पनि विगतमा जस्तै विवादमा नपर्ला भन्न सकिदैन ।

यसअघि नेपाल प्रहरीको सुडान मिसनका लागि खरिद गरिएका सामानमा भ्रष्टाचार हुँदा तीन आइजिपी जेल पुगेका थिए । सरकारको दबाबमा त्यतीबेला आइजिपीहरुले कमसल सामान खरिद गरेका थिए । त्यो घटनाबाट सुरक्षा निकायले धेरै पाठ सिकिसकेका छन् ।

अहिले पनि यसका लागि चलखेल भएपनि त्यसरी कमसल सामान खरिद हुने सम्भावना छैन । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सकेसम्म स्वच्छ प्रतिस्पर्धा गर्न चाहेका छन् । तर, उनका प्रबन्ध शाखामा बस्ने एसएसपी दीपेन्द्र कुँवरको व्यापारीहरुसँग उठबस छ । जसले गर्दा खरिद प्रक्रियामा ठूलै चलखेल हुने संकेत देखिएको छ ।

समयमा सामान खरिद नगर्दा शान्ति मिसन नै गुम्ने जोखिम समेत छ । आवश्यक तयारीको निरीक्षण गर्न आगामी महिना राष्ट्रसंघबाट एक टोली नेपाल आउनेछ । आगामी पुसभित्र टोली मालीका लागि खटिनुपर्ने दबाबमा सशस्त्र प्रहरी छ । जसकारण बिशेष परिस्थितीको ब्याख्या गरी बन्दोबस्तीका सामान किन्न लागिएको छ । ६ वर्षअघि करिब ३० करोडमा यसकै लागि केही सामान किनिएको थियो । तर, त्यसमध्ये केही सामान बिग्रिसकेका छन् ।

उता नेपाल प्रहरीले पनि चुनावका लागि एक सय ८० वटा गाडी खरिदको प्रक्रिया अघि बढाएको छ । गाडी खरिदका लागि ७५ करोड रुपैयाँ बजेट छ । प्रहरीको गाडी खरिदमा पनि व्यापारीहरु सक्रिय बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्