Logo
Logo

हत्या अभियोगमा बीमा कम्पनी जोगाइयो


0
Shares

काठमाडौं । साढे दुई करोड रुपैयाँ बीमा रकमका लागि एक युवतीको नक्कली बिहे गरेर ‘श्रीमान’को हत्या गराएको घटनामा बीमा कम्पनीका कर्मचारीलाई प्रहरीले जोगाएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको कोहलपुर शाखाका कर्मचारीको पनि संलग्नता देखिएपनि उन्मुक्ति दिईएको छ ।

बाँके कोहलपुरका सर्जन विकको दुर्घटनामा मृत्यु भएको देखाई बीमा रकम हात पार्न हत्या भएको थियो । हत्याअघि उनको साढे दुई करोड रुपैयाँको बीमा स्थापना गरी सपना मल्लसँग विवाह दर्ता गरिएको थियो । ठगीकै योजनाअनुसार यसरी बीमा गरी हत्या भएको थियो ।

यो घटनामा संलग्न सपनासहित संजीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपक केसी र ललिता सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । थप व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

२०७८ सालको बैशाख २ गते सर्जनको बाँकेको बैजनाथ गाउँपालिका–६ मा मिनीबसको ठक्करबाट मृत्यु भएको थियो । योजनाबद्ध रुपमा बसले ठक्कर दिएर हत्या भएको हाल अनुसन्धानमा खुलेको छ ।
त्यसअघि विकको रिलायन्स लाइफ इन्स्योरेन्समा बीमा गरिएको थियो । उनको मृत्यु हुनुभन्दा दुई महिनाअघि बीमा गरिएको र एक महिनाअघि मात्र सपनासँग विवाह दर्ता गरी बीमा इच्छाएको व्यक्तिमा उनको नाम राखिएको थियो ।

घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल भएको र बीमा अभिकर्ता सरदार अहमत खाँ लगायतको मिलेमतो रहेको सिआइबीले जनाएको छ । बीमाको रकम आइसकेपछि ८० लाख संजीव अर्याल तथा ६० लाख दीपक केसीले लिएका थिए । अन्य रकम सपनाले नै खर्च गरेको अनुसन्धानमा खुलेको छ ।

यो घटना पुनर्बीमा कम्पनीले पत्ता लगाएपछि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दुर्घटना शंकास्पद भएको भन्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान गर्दा हत्या र ठगी पत्ता लागेको हो । सामान्य मजदुरको नियमविपरीत बीमा गरिएको थियो । संगठित मुद्दा चल्दा पनि बीमा कम्पनीलाई जोगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्