Logo
Logo

नेपाल प्रहरीमा एआइजी बढुवा रोकियो


188.2k
Shares

काठमाडौं । चुनावअघि नेपाल प्रहरीमा एआईजी बढुवा नहुने भएको छ । चुनावपछि मात्र बढुवा गर्ने सहमति गृहमन्त्री र आइजिपीबीच भएको छ ।

हाल प्रहरीमा एआइजीका दुई पद रिक्त छन् । मंसिरमा थप दुई पद रिक्त हुने भएकाले चार जनाको बढुवा गर्ने सरकारको तयारी छ । बढुवाका आकांक्षीहरू शक्तिशाली भएकाले पनि दुई पदमा बढुवा नहुने भएको हो ।

राजनीतिक शक्तिका दृष्टिकोणले अशोक सिंह र दीपक थापा सबैभन्दा अगाडि छन् । सिंहलाई बालुवाटारले, थापालाई एमालेले बोकेको स्रोत बताउँछ । वसन्त कुँवर, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, उमेशराज जोशी, किरण बज्राचार्य, मीरा चौधरी, रामदत्त जोशी, भीम ढकाल पनि शक्तिका पछाडि कुदिरहेका छन् ।

दुई जनालाई मात्र बढुवा गर्दा भावी नेतृत्वको प्रतिस्पर्धा पनि साँघुरो हुने भएकाले तत्काललाई रोकिएको हो । अब सबै तहको बढुवा चुनावपछि गर्ने तयारी छ ।

बढुवा रोकिएपनि सरूवा भने दैनिक जसो हुने गरेको छ । पछिल्लोपटक नवलपुरका एसपी फेरियो । एसपी प्रज्वल महर्जनले कांग्रेस नेताहरूको अनावश्यक दबाब नमानेपछि उनलाई ६ महिनामै हटाइएको छ । जहाँ भुवनेश्वर तिवारीलाई पठाइएको छ ।

उता पश्चिम नवलपरासीको एसपीले भने गम्भीर गल्ती गर्दा पनि कारबाही भएको छैन । कांग्रेस नेता देवेन्द्रराज कँडेलले उनलाई जोगाएको स्रोत बताउँछ ।

बांके, सुर्खेत लगायतका जिल्लामा एसपी फेर्न भने गृहमन्त्री र आईजिपी अझै कुरा मिलेको छैन । सरूवा रोकिदा बांकेका एसपी भने चुनावसम्म बसेर मस्त कमाउने अभियानमा छन् ।

उता पर्सा, धनुषा लगायत जिल्लाका एसपी १० महिनामै हटाउन पनि चलखेल चलिरहेको छ । चुनावमा धेरै जिल्लामा कांग्रेस नेताहरूले आफुअनुकुल प्रहरी लैजाने प्रयास गरिरहेका छन् । जसकारण तल्लो तहमा प्रहरीको पनि काज सरूवन बढ्न थालेको छ । चुनावको मुखमा यसरी प्रहरीमा राजनीतिकरण हुंदा चुनावी सुरक्षा कमजोर हुनसक्ने प्रहरी मुख्यालयमा चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्