Logo
Logo

धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक ‘सैन्डाँडा’


630
Shares

बझाङ । माहुरीको मिलनजस्तै संकेत गर्ने मेला हो, सैन्डाँडा । सामाजिक एकताको प्रतीकका रूपमा चिनिने सैन्डाँडा मेला भाद्र शुक्ल दशमीको दिनदेखि चहलपहल सुरू हुन्छ । मेला भने शुक्ल चतुर्दशीदेखि शुक्ल पूर्णिमाको तेस्रो दिनसम्म लाग्ने गर्छ ।

बझाङ, बाजुरा, अछामसहित हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने मेलाले संस्कृतिलाई जोगाएको खप्तडछान्ना गाउँपालिका–६ का वडाध्यक्ष तेजबहादुर खड्का बताउछन् । उनले सैन्डाँडा मेला साझा फूलबारी भएको भन्दै पूजाआजामा सहभागी हुने सबै समुदायले पहिचान जोगाउन पनि मद्दत गरेको बताए ।

उनले खापरमाडौँ (सैन्डाँडा) को डोली अछामबाट ल्याउने बेलादेखि नै छान्नाबासी सबै समुदाय मिलेर काम बाँडफाँट गरेको हुँदा अहिले पनि सबै समुदायले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताए । ‘जसरी खापरमाडौँमा सबै समुदायको समान अधिकार छ, त्यसरी नै छान्नावासीलाई एकतामा बाँध्न यो माडौँले ठूलो काम गरेको छ’, उनले भने, ‘माडौँ त्यस्तो ठाउँ हो, जहाँ हजारौँका मनमुटावलाई पनि बाँध्ने गर्छ । त्यसरी नै यो पनि समुदायको मनमुटावलाई बाँधेर एकता कायम गर्ने मेला हो ।’

सबै समुदायमा आ–आफ्ना टोलमै माडौँ स्थापना गरेर पूजाआजा गरिन्छ तर, खापरमाडौँ बाजुरा, अछाम, डोटी तथा बझाङको छान्नाका सबै समुदायले पूजा गर्दै आएको साझा थलो भएको खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशीले बताए । ‘यो सबैको साझा मन्दिर हो’, उनले भने, ‘सबैको समान दायित्व र समान अधिकार भएको खापरमाडौँले समुदायमा सद्भावको काम गरिरहेको छ ।’ यहाँ पूजाआजा गर्नेले बाहिर विभिन्न समुदायको लडाइँ झगडा गरे पनि खापरमाडौँमा सबैले एकसाथ पूजा गर्नुपर्ने उनले बताए । ‘मिलाप हुनैपर्छ भन्ने एकताको सन्देश दिएको छ । समाजलाई बाँध्न पनि यस्तै माडौँहरू आवश्यक पर्छन्’, उनले भने ।

सैन्डाँडाको पौराणिकता

खेचरा पर्वत (खप्तड)मा अवस्थित तलाउ नजिककै मुसारानीको रूपमा भगवान् प्रकट भएर सोही ठाउँमा पूजाआजा गर्न थालेको किंवदन्ती छ । पार्वती मुसारानीको रूपमा प्रकट भएपछि सबैभन्दा अगाडि त्यहाँ बसोबास गर्ने खप्तडी खड्काले देखेको र पूजाआजा गर्दै आएको स्थानीयवासी बताउँछन् ।

खप्तडमा मुसारानीको रूपमा पार्वती प्रकट भइसकेपछि उनले त्यसै ठाउँमा शिवका लागि तपस्या गरिन् र पछि शिव प्रकट भए । पछि शिला भयो । त्यस बेला प्रकट भएको एउटा शिला अछामको लुङ्ग्रामा लगेर मन्दिर स्थापना गरिएको थियो । अहिलेको पाटादेवलको जस्तै लुङ्ग्रामा पूजाआजा गरिन्थ्यो । सुरुमा पार्वती मुसारानीको रूपमा प्रकट भएको ठाउँमा माइतीघर र त्यसपछि शिला लगेर माडौँ बनाइएको ठाउँमा माइतीघर उकालु र पोइलीघर ओरालु भन्दै दुवै ठाउँमा पूजाआजा गरिन्छ ।

जानकारका अनुसार श्रावण पूर्णिमाका दिन (उकालु) पोइलीघरबाट पार्वतीलाई माइतीघर खप्तड पु¥याउने र भाद्र चतुर्दशीका दिन पोइलीघरमा ल्याउने हुँदा शिला राखेको ठाउँमा डोली ल्याउने गरिन्छ । त्यसबेलामा देवी (पार्वती)का भाइ धामीहरू दिदीसँग छुट्नुपरेको भन्दै काँप्दै रोइकराइ गर्ने गर्छन् । ‘पार्वतीलाई माइतीघर पु¥याउँदा वा पोइलीघर ल्याउँदा काँप्दै रोइकराइ गर्ने गर्छन्’, जोशी भन्छन्, ‘त्यस बेलामा खापरको घोडा पनि काँपेर थाप्न नसकिने अवस्थामा हुने गर्छ ।’

कसरी ल्याइयो अछामबाट छान्नामा डोली ?

मुसारानीको रूपमा खप्तडमा पार्वती प्रकट भएपछि त्यहाँ पहिलो पूजा खप्तडी खड्काले गरेका थिए । डाँफेकोट बस्ने खप्तडी खड्काले नजिकै मुसारानीको रूपमा पूजाआजा गरेपछि उनीहरूको पूजा निरन्तर चलेको किंवदन्ती छ । खप्तडी खड्काका भाइहरू डाँफेकोटबाट अन्यत्र ठाउँमा बसाइँसराइ गर्दा एक भाइले अछामको लुङ्ग्रामा शिला लगेर माडौँ स्थापना गरेका थिए । त्यसपछि खप्तडी खड्काको जेठो भाइ छान्ना पूजारी गाउँमा बसोबास गर्थे । पूजा जेठो भाइले नै लगाउनुपर्ने त्यति बेलाको धार्मिक विश्वास थिथो । जेठो भाइ छान्नाबाट गएर अछाममा पूजा लगाउनुपर्ने भएपछि भाइहरूबीच नै विवाद हुँदै गयो । जेठो भाइले शिला आफ्नो ठाउँमा हुनुपर्ने अडान लिए ।

खापरको डोला अछामी प्रभाल खड्काले रोक्दा विवाद भई मुद्दासमेत चल्यो । त्यसबेला विवाद सरकारको केन्द्रीय अड्डासम्म पुग्यो र महाराजी खड्काले खापरको डोला पाउने निर्णय भयो । स्थानीय ज्ञानबहादुर खड्का ‘घायल’का अनुसार डोला छान्नामा पाउने भएपछि विसं १७७० तिर बिजु बयानीको नेतृत्वमा उनका भाइ लिखु र रिठु बयानी थापाहरूले खापरको डोली जात्रा गरी बाजागाजा र सजधजका साथ पाटादेवलको खापरमाडौँ भित्र्याए । त्यसबेला नै स्थानीयवासीले सबै समुदायलाई जिम्मेवारी दिए ।

पहिलोपटक खापरमाडौँमा डोली ल्याउँदा छान्नाका सबै समुदायको सहभागिता रहेको थियो । कसैले डोली बोक्ने, घोडा समात्ने, कुनै समुदायले पूजा सामग्री बोक्ने, डोलाको सुरक्षाका लागि छाता बोक्नेलगायतका जिम्मेवारी त्यसबेला नै सबैको सहमतिमा प्रदान गरिएको थियो । अहिले पनि तिनै समुदायले आ–आफ्नो जिम्मेवारी पूरा गर्दै आएको वडाध्यक्ष तेज खड्काले बताए ।

स्थानीयवासी ज्ञानबहादुर खड्काका अनुसार माडौँबाट बिहान ४ बजे मुसारानी देवीको प्रस्थान साइत हुँदा शङ्ख घण्ट आफैँ बज्छन् भन्ने जनश्रुति रहिआएको छ । देवी (पार्वती) लाई माइतीघर पु¥याउँदा होस् या पोइलीघर पु¥याउँदा खापरको डोलीमा शिव पार्वतीको मूर्ति राखी चढाएको फलफूलले भरिन्छ । पाँचगाई बयानीले शुभयात्राको सबैतिर पुग नपुग हेरी परिपूरक बन्छन् भने खापर देवताको प्रमुख सुरक्षा गार्डका रूपमा कौछ्या धामी र दुदीर धामी मानिने परम्परा चल्दै आएको छ ।

डोली लिएर जाने बेलामा खप्तड तालको पहिलो पूजा धणाका सार्की समुदायले लगाउने गर्छन् । उनीहरूले खप्तड जाँदा निगालो काट्दा रगत बगेको हुँदा देउता भेटेको भन्दै उनीहरूले पहिलो पूजा लगाउने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्