एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाका केही भागमा बुधबार भएको मध्यमदेखि भारी वर्षाका कारण गहिरो क्षेत्रका बस्तीहरू जलमग्न बनेका छन् । बर्षाका कारण सडक यातायात अवरुद्ध भएको छ ।
दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको यस सहरका केही भागका सडक, गल्ली र सहायक गल्लीहरूमा करिब दुई फिट गहिरो पानी जमेको छ । यसले गर्दा यात्रुहरूलाई निकै सास्ती भएको छ ।
ढाकामा पछिल्लो २४ घण्टा अर्थात् स्थानीय समयअनुसार बुधबार बिहान ६ बजेसम्म ५३ मिलिमिटर वर्षा भएको देशको मौसम विज्ञान विभागले जनाएको छ । बङ्गलादेशमा मनसुन सक्रिय रहेकाले देशभर मध्यमदेखि भारी वर्षासमेत भएको छ ।
बङ्गलादेशको मौसम विज्ञान विभाग (बीएमडी) ले आगामी २४ घण्टामा शहर र उपनगरीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।