बाँके । नरैनापुर गाँउपालिकाले २६ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।
५८औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो । सो गाँउपालिकाले २६ विद्यार्थीलाई सम्मान गरेको हो ।
एसइइमा सर्वोत्कृष्ट अंक ल्याएका दिक्षिणा यादव र पवन सिंहलाई ल्यापटप प्रदान गरिएको छ । अरु उत्कृष्ट विद्यार्थीलाई नेपालको संविधान, कपि, झोला, प्रमाणपत्र र खादाले सम्मान गरिएको छ ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको सडक निर्माण गर्नु मात्र नभएको बताउदै शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्रको विकास हुदै जाने बताए ।
‘सर्बोत्कृष्ट २ जनाले आज ल्यापटप पाउनुभो । यसैगरी तपाईहरु पनि मेहनत गर्नुहोस् सर्बोत्कृष्ट हुने सबैले पाउनुहुन्छ ।’ गाँउपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताए । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन उर्जा प्रदान गर्ने बताए ।
सोही गाँउपालिका–६ को नेपाल राष्ट्रिय मावि जमुनीमा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वक्तृत्वकला कार्यक्रमसमेत आयोजना गरेको थियो । वक्तृत्वकलाका विजेतालाई पालिका अध्यक्ष शाहले पुरस्कार वितरण गरे ।
बाँकेको पूर्वी क्षेत्रमा रहेको विकट नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातको समस्या छ ।