Logo
Logo

जापनिज इन्सेफ्लाइटिसका कारण वृद्धाको मृत्यु


630
Shares

चितवन । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा छन् । उपचार गरेर घर फर्किए पछि उनको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको छ । मृतक भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर आएका थिए । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको र २२ जना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

कार्यालय प्रमुख चापागाईँका अनुसार पुष्टि भएकामध्ये माडीकै अर्का एक ७५ वर्षीया महिला सम्पर्कमा नआएकाले उनको खोजी भइरहेको छ । राप्तीका ३५ वर्षीया महिला उपचारपछि घर फर्किए । उनको स्मरण शक्ति कमजोर देखिएको छ । कालिका नगरपालिकाका एक जना ३२ वर्षीय पुरुष अस्पतालबाट निको भएर घर फर्किएको र उनको अवस्था सामान्य रहेको प्रमुख चापागाईँले जानकारी दिए ।

रत्ननगरका २९ वर्षका एक महिलाको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । भरतपुर महानगरभित्रका चार जनामध्ये वडा नं २२ का ५२ वर्षीय पुरुषमा अस्वाभाविक गतिविधि र बिर्सने समस्या रहेको छ ।

सोही वडाका ५२ वर्षीया एक महिला, वडा नं १९ का ७० वर्षका पुरुष र वडा नं २० का ६४ वर्षका पुरुषमा जापनिज इन्सेफ्लाइटिसको पुष्टि भए पनि ती बिरामीलाई सम्पर्कमा ल्याउन नसकिएकाले उनीहरुको खोजी भइरहेको छ । रगतका नमूना सङ्कलन गर्दा ठेगाना प्रष्ट नलेखिएकाले बिरामीको खोजीमा कठिनाइ भएको हो ।

उक्त कार्यालयका अनुसार परीक्षण गरिएका भरतपुर महानगरपालिकाका १२ जनामध्ये चार, माडीमा पाँच जनामध्ये दुई, राप्तीमा दुईजनामध्ये एक, कालिका नगरपालिकामा एक रत्ननगरमा दुई जनामध्ये एकमा सङ्क्रमण देखिएको हो ।

साउन १५ गतेदेखि यस्ता बिरामी देखिन थालेकामा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको थियो । यहाँ परीक्षण गर्दा नमूनामा शङ्का लागेकाले काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिन्छ । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको कार्यालय प्रमुख चापागाईँले बताए । हाल यो रोग देखिएका चार पुरुष र पाँच महिला छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन् ।

प्रतिक्रिया दिनुहोस्