Logo
Logo

नेपाली श्रमिकको अधिकार संरक्षणमा भूमिका खेल्न निर्देशन


1.6k
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशी भूमिमा रहेका नेपाली श्रमिकको हकअधिकार संरक्षणमा ध्यान दिन दूतावासमा कार्यरत श्रम अधिकारीलाई निर्देशन दिएका छन् ।

विभिन्न नौ श्रम गन्तव्य मुलुकका लागि तोकिएका श्रम काउन्सिलर र सहचारीसँग आज भएको भर्चुअल छलफलमा उनले समस्या परेका श्रमिकको उद्धार तथा रोजगारदाता र श्रमिकबीचको विवाद समाधानमा ध्यान दिन निर्देशन दिएका हुन् ।

श्रम काउन्सिलर र सहचारीले गन्तव्य मुलुकमा रही नेपाल सरकारको प्रतिनिधित्व गर्नुपर्ने भन्दै मन्त्री कुँवरले वैदेशिक रोजगार ऐन, २०६४ ले तोकिएको भूमिका अनुसार काम गर्न आग्रह गरे । उनले नेपाली श्रमिकले गर्ने काम र पाउने पारिश्रमिक र सेवासुविधाका बारेमा अनुगमन गर्न पनि निर्देशन दिए ।

सो अवसरमा विभिन्न मुलुकमा कार्यरत श्रम काउन्सिलर र सहचारीले श्रमिकका समस्या, पारिश्रमिक भुक्तानीको अवस्था, म्यानपावर व्यवसायीले गरेको ठगी, जेल र मृत्यु भएका व्यक्तिको व्यवस्थापन तथा अलपत्र नागरिकलाई दूतावासले गरिरहेको सहयोगका बारेमा जानकारी गराए ।

श्रम स्वीकृति नलिई ‘भिजिट भिसा’मा नेपाली विदेशिने गर्दा समस्यामा पर्ने गरेको जनाउँदै उनीहरुले भिजिट भिसालाई व्यवस्थित बनाउन पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्