काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएको गराउने तयारी गरिएको छ । पूरक प्रश्न सोध्ने तयारी स्थगित गरेर उनले विगतमा दिएको बयानमा हस्ताक्षर गराउने तयारी गरिएको हो ।
नेकपा एमालेको मागअनुसार पूरक प्रश्न सोध्ने तयारी स्थगित गरिएको हो । यसअघि एमालेका सांसदहरुले जबरालाई पुरक प्रश्न नसोध्न प्रस्ताव राखेको थियो । शुक्रबार बिहान बसेको महाअभियोग सिफारिस समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले आवश्यक कागजात मगाएरमात्रै बयान अगाडि बढ्नुपर्ने बताएका थिए ।
जबरालाई पूरक प्रश्न सोध्न भन्दै शुक्रबार बिहान समितिको बैठक बसेको थियो । आज बिहान ९ बजेदेखि नै पुरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो । सोहीअनुसार अगाडि बढ्न खोज्दा जेष्ठ सदस्य रामबहादुर विष्टलाई एमाले सांसदहरुले रोकेका थिए ।
सुरुमा जबराले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरुले राखेका थिए । एमालेले आवश्यक प्रमाण संकलन गर्नुपर्ने, थप कागजात मगाउनुपर्ने र त्यसपछि मात्र प्रश्नका सूची तयार पारेर पुरक प्रश्न सोध्ने गरी जानु प्रक्रियासंगत हुने माग राखेको थियो । प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले बिगतको बयानमा जबरालाई हस्ताक्षर गराउने तयारी गरेकाे हो ।
सत्ता गठबन्धनका सांसदहरुले भने आजै पूरक प्रश्न गरेर प्रतिवेदन तयार पार्ने र भोलिको संसद बैठकमा पेश गर्ने योजनामा थिए ।