Logo
Logo

विमानस्थल अपराधीको अखडा, कर्मचारी र व्यापारीबाटै जोखिम

सुन तस्करी, भिजिट भिसामा मानव तस्करी, डलर तस्करीपछि विमानस्थलमा आपराधिक व्यक्तिबाटै भिआइपी कक्षको दुरुपयोग


42.8k
Shares

काठमाडौं । सरकारी निकायमा बढेको भ्रष्टीकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपराधीको अखडा बन्दै गएको छ । यसले देशको राष्ट्रिय सुरक्षामा गम्भीर खतराको संकेत गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचमा हुने लापरबाहीदेखि भिजिट भिसामा हुने मानवतस्करी तथा सेटिङमा सुनदेखि डलर तस्करीका घटना विमानस्थलमा हुँदै आएको पटक–पटक सार्वजनिक भइसकेको छ । पछिल्लो समय विमानस्थलको विशिष्ट कक्षको समेत दुरुपयोग हुँदै आएको खुलेको छ । यसले देशको सुरक्षा अवस्था भगवान भरोसामा चलेको छ भन्ने प्रष्ट भएको छ ।

गत १७ भदौमा ठगी मुद्दामा फरार रहेका एक अभियुक्त समेत विदेशबाट आउँदा भिआइपी कक्ष हुँदै भागेपछि विमानस्थलको सुरक्षा प्रणाली थप उदांगो भएको छ । ठगी मुद्दामा विदेशमा फरार रहेका सुनसरीका रिजवान आलमले भिआइपी कक्षको दुरुपयोग गरेका हुन् ।

यदि, उनको ठाउँमा कोही आतंकवादमा संलग्न व्यक्तिले त्यसरी भिआइपी कक्ष दुरुपयोग गरेको भए के हुन्थ्यो ? भन्ने प्रश्न यतिबेला उठेको छ । तर, यसमा दोषीलाई कारबाही हुन सकेको छैन । बरु अन्य व्यक्तिले पनि भिआइपी कक्षको दुरुपयोग गरिरहेको स्रोत बताउँछ ।

युनाइटेड अरब इमिरेट्स (यूएइ)बाट आएका अरब संसद्का उपाध्यक्ष लगायतको टोलीसँगै मिसिएर आलम भिआइपी कक्षमा पुगेका थिए । जबकी परराष्ट्र मन्त्रालयले अन्य चार जनाको नाम मात्र त्यहाँ दिएको थियो । अध्यागमनले उनको पासपोर्ट जाँच गर्दा कालोसूचीमा रहेको जानकारी दिएपछि मात्र दुरुपयोग खुलेको हो ।

अध्यागमनले उनलाई उपस्थित गराउन भनेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भिआइपी कक्ष अगाडिबाट उनलाई गाडीमा राखेर भगाएका थिए । यही दिन बेलुका प्रहरीले उनलाई पक्राउ गरेपछि अदालतको आदेश उनी हाल जेलमा छन् ।

यो घटनाले विमानस्थलभित्रको दुई वटा गम्भीर त्रुटि बाहिर ल्यायो । एकातर्फ आलमले कुनै निकायको निर्णय बिना नै भिआइपी कक्ष प्रयोग गरे । विमानस्थलको एप्रोन क्षेत्रबाट सीधैं उनी भिआइपी कक्षमा पुग्दा जाँच भएन । यसमा नागरिक उड्डयन कार्यालयका कर्मचारीको गल्ती थियो । भिआइपीसँग कोही सँगै आएमा उनीहरूमाथि सोधपुछ नै नगर्ने डरलाग्दो प्रवृत्ति विमानस्थलमा छ ।

अर्काेतर्फ बिना पासपोर्ट आलम भिआइपी कक्षबाट निस्किएका थिए । कालोसूचीमा रहेको खुलेपछि अध्यागमनले उनको पासपोर्ट राखेको थियो । पासपोर्टमा अराइभलको छाप नलगाई विमानस्थलबाट उनी सहजै भाग्न सफल भएका थिए । भिआइपी कक्षमा अराभइल छापको जाँच गर्ने सिष्टम नै विमानस्थलमा बन्न सकेको छैन ।

भिआइपीहरु आफैं विमानस्थल जानु पर्दैन । सहयोगीहरूले नै उनीहरूको पासपोर्टमा छाप लगाउने गरेका छन् । पछिल्लो समय विमानस्थलमा बायोमेट्रिक सिष्टम रहेको बताइएपनि भिआइपीको हकमा त्यो लागू नहुने देखाएको छ ।

घटनाको विषयमा नागरिक उड्डयन कार्यालयले निर्देशक टेकनाथ सिटौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले यसमा कर्मचारीको समेत गल्ती औंल्याएको छ । तर, कारबाही हुने सम्भावना छैन ।

नेपाल प्रहरीका पूर्व एआइजी बमबहादुर भण्डारी भिआइपी कक्षबाट फरार व्यक्ति सजिलै उन्मकनुले विमानस्थलको सुरक्षा व्यवस्थाको कमजोरी बाहिर ल्याएको र यो गम्भीर विषय भएको बताउँछन् ।

‘सुरक्षाको दृष्टिकोणले यो ठूलो लापरबाही हो,’ उनी भन्छ्न, ‘विमानस्थल सुरक्षाको प्रमुख जिम्मेवारी नागरिक उड्डयन कार्यालय हो, टिआइएको नेतृत्वमा सबै निकाय मिलेर सुरक्षा व्यवस्थामा सुधार गरिएन भने भोलिका दिनमा अपराधिक समूहले दुरुपयोग गर्न सक्छन् ।’

कर्मचारी र व्यापारीबाटै जोखिम
एकपछि अर्काे सुरक्षा त्रुटि बाहिरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी अपराधिक गतिविधिमा संलग्न छन् । सिष्टम बलियो नहुँदा कर्मचारीबाटै सुरक्षा जोखिम बढेको हो ।

गत फागुनमा एक किलो एक सय ६५ ग्राम सुन तस्करी गराउँदै गर्दा प्रहरीले अध्यागमन कार्यालयका नासु लक्ष्मण गुरागाईंलाई पक्राउ गरेको थियो । दुबईबाट आएका सुनसरीका कमल घिमिरेले ल्याएको सुन नासु गुरागाईंले विमानस्थलबाट पास गराइदिएका थिए ।

उनले विमानस्थलको आगमनतर्फको अध्यागमन काउन्टरको छेउमा रहेको शौचालयमा सो सुन लिएर बाहिर ल्याई घिमिरेलाई दिएका थिए । सुराकीका आधारमा प्रहरीले विमानस्थलकै आगमनतर्फको टनेलमा घिमिरेलाई नियन्त्रणमा लिई सुन बरामद गरेको हो । नासु गुरागाईंले धेरैपटक विमानस्थलबाट सुन पास गराउँदै आएको खुलेपनि विस्तृत छानबिन भएन ।

भिजिट भिसादेखि सुन तस्करीसम्म सेटिङ
विमानस्थलमा भिजिट भिसा र सुन तस्करीमा एउटै समूहको सेटिङ देखिदै आएको छ । पटक पटक पक्राउ परेका व्यक्तिहरूले त्यही बयान दिएपनि अध्यागमनका कर्मचारीमाथि कारबाही हुन सकेको छैन ।

यसअघि प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पटक–पटक सुन तस्करी भएको पुष्टि भइसकेको छ । ०७३ मा त्यसरी विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पिंगलास्थानमा सिआइबीले बरामद गरेको थियो ।

जसमा भन्सार कर्मचारी तथा प्रहरी अधिकारीको संलग्नता देखिएको थियो । त्यस्तै, ०७४ मा त्यसैगरी भित्रिएको सुन हराएको घटनामा थप छानबिन हुँदा पाँच वर्षदेखि विमानस्थलमार्फत सेटिङमा सुन तस्करी हुँदै आएको खुलेको थियो ।

विगतमा भन्सारका कर्मचारीसँगको सेटिङ हुनेमा हाल अध्यागमन कर्मचारीसँग तस्करहरूले साँठगाँठ गरेको खुलेको छ । प्रहरीका कर्मचारी मिल्ने आशंकामा उनीहरूलाई ड्युउटीको समयमा मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । अध्यागमन कर्मचारीलाई पनि ड्युउटीमा निजी मोबाइल बोक्न रोकिएपछि नासु गुरागाईंले कसरी सेटिङ मिलाए खुल्न सकेको छैन ।

सुध्रने कहिले ?
९ फागुनमा एक युवक सुरक्षा जाँचलाई चुनौती दिँदै विमानस्थलको पश्चिमतर्फको कम्पाउन्डबाट छिरेर विमानभित्रै पुगेका थिए । रौतहटका अस्फाम आलम नेपाल एयरलाइन्सको बिजनेस क्लासमा पुगेपछि मात्र पत्ता लागेको थियो । सो विषयमा गृह मन्त्रालयले अध्यागमन विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरी विभिन्न पक्षमा सुधार गर्न भनेपनि कार्यान्वायन हुन सकेको छैन ।

त्यस्तै, १८ भदौमा बुद्ध एयरलाइन्सका दुई यात्रु चार किलो सुनसहित नेपालगन्ज जाँदा काठमाडौंको विमानस्थलको चेकिङमा पत्ता लागेको थिएन । नेपालगन्ज विमानस्थलमा पत्ता लागेको थियो । त्यसपछि त्रिभुवन विमानस्थलमा यात्रुलाई जुत्तासमेत खोल्न लगाएर चेकिङ हुने गरेको छ । तर, विमानस्थलभित्र सुरक्षा सुधारका काम भने हुन सकेको छैन ।

गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीले पाँच वर्षसम्म ३८ सय केजी सुन तस्करी भएको खुलेको थियो । त्यसअघि साढे ३३ किलो सुन विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीको मिलेमतोमा भित्रिएको थियो । त्यसअघि तत्कालीन एसएसपी रविराज श्रेष्ठ डलर तस्करी प्रकरणमा बर्खास्त भएका थिए ।

विमानस्थलको सुरक्षा बलियो बनाउन विमानस्थलमा कार्यरत सबै निकायका कर्मचारीमा पनि शुद्धीकरणको आवश्यकता पूर्व एआइजी विज्ञानराज शर्मा औंल्याउँछन् । तीन वर्षअघि तत्कालीन एसएसपी सन्दीप भण्डारीले विमानस्थलको एप्रोन एरियामा प्रवेश गर्ने सबैमाथि चेकजाँच गर्ने नियम लागू गर्दा त्यतीबेला कतिपय कर्मचारीले नै विरोध गरेको एक प्रहरी अधिकारी बताउँछन् ।

एक्सरे मेसिन थोत्रो भए, बडि स्क्यानर छैन
नेपालको विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनलमा समेत बडी स्क्यानर जडान हुन सकेको छैन । बडि स्क्यानरका साथै एक्सरे मेसिनसमेत अत्याधुनिक खरिद गर्नका लागि प्रहरीले प्रस्ताव गरेपनि त्यसमा प्रक्रिया अघि बढ्न सकेको छैन ।

हवाई सुरक्षा बिज्ञ भरत ढकालका अनुसार विमानस्थलमा बडि स्क्यानरलाई आइकाओले अनिवार्य भनेको छैन तर यो जडान हुूँदा विमानस्थलको सुरक्षा थप बलियो हुने उनी बताउँछन् । ‘थाइल्याण्डको सुवर्णभुमी विमानस्थलमा पनि बडि स्क्यानर राखिएको छ,’ उनी भन्छन्, ‘तर, सबैलाई त्यो प्रयोग गरिँदैन, कोहीमाथि शंका लागेमा भने बडि स्कानरमार्फत चेकजाँच हुने गर्दछ ।’

नेदरल्याण्डबाट एक व्यक्ति बिष्फोटक पदार्थ बोकेर अमेरिका गएको घटनापछि अमेरिकाले विश्वभरीका विमानस्थलमा बडि स्क्यानर राख्न जोड दिँदै आएको छ । छानबिन समितिले ‘ड्युल भ्यू’ प्रविधिको एक्सरे मेसिन समेत जडान गर्नका लागि सिफारिस गरेको छ ।

खाँचो विमानस्थल प्रहरीको
नेपाल प्रहरीका पूर्व एआइजी बिज्ञानराज शर्मा विमानस्थल सुरक्षामा व्यापक सुधारको आवश्यकता देख्छन् । अहिलेकै अवस्थामा अघि बढ्दा कुनै दिन ठूलो समस्या नआउँला भन्न नसकिने उनी बताउँछन् ।

‘यदी सुनको सट्टा जुत्तामा राखेर हतियार लगेको भए के हुन्थ्यो ?’ विमानस्थल प्रहरी प्रमुखका रुपमा समेत काम गरेका शर्मा भन्छन्, ‘विमानस्थलमा एक्सेस कन्ट्रोल बिशेष ध्यान दिनुपर्छ ।’

विश्वको सबै विमानस्थलमा एयरलाइन्सको काउन्टरपछि मात्र सेक्युरिटी जाँच हुन्छ । तर, नेपालमा भने सुरुमा सेक्युरिटी जाँच हुन्छ र त्यसपछि मात्र सर्वसाधरणको लगेज एयरलाइन्सको काउन्टरमा बुझाउने गरिन्छ । यसले लगेजमा एयरलाइन्सका कर्मचारीको पहुँच हुने भएको प्रतिबन्धित सामान समेत जान सक्ने जोखिम हुन्छ ।

‘हाम्रो विमानस्थलमा ठीक उल्टो व्यवस्था छ,’ नेपाल प्रहरीका पूर्व एआइजी शर्मा भन्छन्, ‘विश्वमा कँही पनि सुरक्षा जाँचभित्र एयरलाइन्सको टिकट काउन्टर हुँदैन ।’ यो विषय पटक पटक उठ्दै आएपनि नागरिक उड्डयन प्राधिकरणले सुधारमा चासो दिएको छैन ।

नेपाल प्रहरीमा विमानस्थल सुरक्षा प्रहरी गठन गर्नु अत्यावश्यक भइसकेको पूर्व एआइजी शर्मा बताउँछन् । प्रहरीलाई चेकजाँच र खानतालासी जस्ता मुख्य काममा केन्द्रीत गरी बाहिरी पेरिमिटरको सुरक्षामा सशस्त्र वा सेनालाई खटाउनु उपयुक्त हुने उनको सुझाव छ ।

हवाई सुरक्षा विज्ञ भरत ढकाल पनि विशिष्टकृत सुरक्षा फौजको विमानस्थलमा आवश्यकता रहेको औंल्याउँछन् । ‘हाम्रो विमानस्थलमा आइकाओले तोकेको मापदण्डअनुसारका सबै पूर्वाधार छन्,’ उनले भने, ‘हवाई सुरक्षा निकै संवेदनशील विषय हो, तर यो क्षेत्रमा तालिमप्राप्त प्रहरीको अभाव छ, यसमा सुधार गर्नुपर्छ ।’

निषेधित क्षेत्रमा अनाधिकृत व्यक्तिको प्रवेशमा नियन्त्रण र त्रुटीरहित सुरक्षा जाँच प्रणाली नै विमानस्थल तथा हवाई सुरक्षा प्रणालीको आधार भएको आइकाओका प्रशिक्षकसमेत रहेका ढकाल बताउँछन् ।

छिमेकी देश भारतमा पनि विमानस्थलमा विशिष्टकृत सुरक्षा फौज खटाउन थालिएको छ । सेन्ट्रल इन्ड्रिस्टियल सेक्युरिटी फोर्स अन्र्तगत एयरपोर्ट सेक्युरिटी ग्रुप बनाएर विमानस्थल सुरक्षामा खटाइएको छ । खासगरी सन् १९९९ मा नेपालबाट एयर इन्डियाको जहाज अपहरणमा परेपछि भारतमा यसरी विशिष्टकृत सुरक्षाकर्मी खटाउन थालिएको हो ।

हालै एसएसपी भण्डारी नेतृत्वको छानबिन समितिले पनि विमानस्थलमा छुट्टै सेवा समूह गठन गरेर तालिमप्राप्त प्रहरी मात्र खटाउन सुझाव दिएको छ । सुन तस्करीको घटनामा तालिमप्राप्त प्रहरी नहुनुलाई प्रमुख कमजोरीका रुपमा औंल्याइएको छ । हाल आधारभुत तालिम मात्र दिएर विमानस्थलमा प्रहरी खटाउने गरिएको छ ।

एकातर्फ विमानस्थलमा ठूलो संख्यामा करारका कर्मचारी छन् । उनीहरु सजिलै प्रलोभनमा परेर अवैध गतिविधिमा संलग्न हुन्छन् । अर्काेतर्फ सिष्टम नै कमजोर हुँदा अवैध गतिविधि बढेको छ ।

कमजोर सुरक्षा प्रणालीकै कारण २३ वर्षअघि काठमाडौं विमानस्थलबाट इन्डियन एयरलायन्सको जहाज अपहरण भएको थियो । त्यो घटनाले नेपालको सुरक्षामा अन्तर्राष्ट्रिय रुपमै प्रश्न उठ्यो । तत्काल गम्भीरताका साथ विमानस्थलको सुरक्षा प्रणाली नसुधारे फेरि ठूलो दुर्घटना हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्