काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् ।
आज (शुक्रबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताका मुद्दा स्थापित गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताए । २०७४ सालको निर्वाचन पनि जस्तो सोचिएको थियो, त्यस्तो संसदको पाँच वर्षे कार्यकाल हुन नसकेको उनको भनाइ छ ।
उनले केपी ओलीको व्यक्तिवादी चरित्र र अहंकारका कारण मुलुक अन्यौलको बाटोमा गएको आरोप लगाए । संसद भंगको विरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उनको भनाइ छ । उनले मुलुकको विकास र सुशासनका हिसाबले पनि विगतको पाँच वर्ष खराब भएको जिकिर गरे ।
उनले भने, ‘राष्ट्रको विकासको हिसावले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै खराब । अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन । राज्यमा जुन ढंगले सुशासनको मान्यतालाई अवलम्वन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेको कुराले म अत्यन्तै चिन्तित छु । दोस्रो, देशको विकासको सन्दर्भमा जुन दूरदृष्टि राखेर समग्र विकासको कामलाई अघि बढाउने कुरा हो । त्यो पनि नभएको देख्दा म सन्तुष्ट छैन । यो मुलुकमा विचारमा, कार्यशैलीमा पुनर्गठनको, रुपान्तरणको आवश्यकता छ ।’
।त्यस्तै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले कानुन निर्माण गर्ने कुरामा संसदका पाँच वर्षे कार्यकाल सफल भएको बताए । उनले पक्ष विपक्ष हुनु संसदीय व्यवस्था नै भएकाले संसदले सहमति कायम गर्दै छलफल अघि बढाउन सफल भएको जिकिर गरे । त्यस्तै कांग्रेस सांसद सुजाता कोइरालाले पनि संसदका पाँच वर्षे कार्यकालमा महत्वपूणर् निणर्य भएको र केहि विवाद भए पनि संसद सफल भएको बताइन् । कोइरालाले संसदबाट धेरै कुरा सिक्ने मौका पाएको पनि बताइन् ।