Logo
Logo

३ वर्षमा ४ हजार कैदीको सजाय मिनाहा


945
Shares

काठमाडौं । सरकारले संविधान दिवसका अवसर पारेर करिब ६ सय ९८ कैदीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

साथै १७ जनालाई आममाफी दिन मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सिफारिस गरेको हो । देशभरका ७४ कारागारमा १४ हजारभन्दा बढी कैदी छन् । हरेक वर्ष संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र गणतन्त्र दिवसका दिन आचरण, व्यवहार, उमेर, अदालतका आदेशलगायतलाई आधार बनाएर कैदीको बाँकी सजाय कट्टा गरी कैदमुक्त गर्ने चलन छ ।

यसरी पछिल्ला ३ वर्षमा मात्रै ४ हजार बढी कैदीलाई विभिन्न दिवसमा बाँकी कैद सजाय मिनाहा र आममाफी दिइएको छ । गृह मन्त्रालयको अभिलेखअनुसार २०७९ जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा ८ सय १८ कैदीको सजाय अवधि मिनाहा र १६ जनालाई आममाफी दिइएको थियो ।

यो वर्ष संविधान दिवसमा ६ सय ८१ कैदीको बाँकी सजाय मिनाहा र १७ जनालाई आममाफी दिइँदै छ । २०७८ को संविधान दिवसमा ५ सय २३ को बाँकी सजाय मिनाहा र ८ जनाले आममाफी पाएका थिए । २०७८ को गणतन्त्र दिवसमा ४ सय ३० र प्रजातन्त्र दिवसको अवसरमा ५ सय १ कैदी रिहा भएका थिए । त्यस अवसरमा १२ जनालाई आममाफी दिइएको थियो ।

२०७७ को गणतन्त्र दिवसमा २ सय ३३ को सजाय मिनाहा र ८ ले आममाफी, २०७७ को संविधान दिवसमा २ सय ८९ लाई कैद कट्टा र १ जनालाई आममाफी, २०७७ फागुन ७ मा ४ सय १ लाई बाँकी कैद कट्टा र १५ लाई आममाफी दिइएको थियो ।

यसैगरी २०७६ फागुन ७ मा ३ सय २९ लाई बाँकी सजाय मिनाहा, त्यही वर्षको संविधान दिवसमा २ सय ६० लाई बाँकी सजाय मिनाहा र २२ लाई आममाफी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्