काठमाडौं । घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । डेढ महिनाअघि ६ लाख घुससहित पक्राउ परेका प्रमोद नेपालविरुद्ध मुद्दा दायर भएको हो ।
हात्तीसारको होटल अरन्याबाट अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । उनको गाडीबाट प्रहरीले थप साढे १६ लाख बरामद गरेको थियो । सो रकम बीबी एयरलाइन्सका सिइओ हरिभक्त श्रेष्ठले दिएको खुलेको थियो । श्रेष्ठलाई पनि आयोगले मुद्दा दायर गरेको छ । साढे १६ लाख पनि घुसवापतकै भएको आयोगको दाबी छ । श्रेष्ठले भने बयानको क्रममा सापटी दिएको बताएका थिए ।
आयोगको बिज्ञप्तीः
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप-सचिव प्रमोद नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग रु.६,००,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज उप-सचिव प्रमोद नेपाललाई सेवाग्राहीसँग रु.६,००,०००।– (छ लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्ग स्थित Hotel Aranya को कम्पाउण्डबाट नियन्त्रणमा लिई निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप रकम रु. १६,५०,०००।– (सोह्र लाख पचास हजार रुपैयाँ) गरी जम्मा रु.२२,५०,०००।- (बाइस लाख पचास हजार रुपैया) बरामद गरिएको थियो ।
अनुसन्धानको सिलसिलामा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उप-सचिव प्रमोद नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र (लाईसेन्स) दिने क्रममा घुस/रिसवत माग गरी रु.6,00,000।– घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज प्रमोद नेपाललाई बिगो रू.6,00,000।– (अक्षेरुपी छ लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय हुन मागदावी लिइएको छ ।
प्रमोद नेपालले आफू वहाल रहेको पदअनुसार बि.बि. एयरवेज प्रा.लि.को इजाजत नवीकरण सम्बन्धित कार्य सम्पादन गरेकोमा निजले सोही कार्यसम्पादन गरेको बि.बि. एयरवेज प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग रु.16,50,000।–सापटी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 5 को उपदफा (1) बमोजिमको कसुर गरेको हुँदा निज प्रमोद नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 5 को उपदफा (1) अनुसार कैद सजाय गरी रु.16,50,000।–(अक्षेरुपी सोह्र लाख पचास हजार रुपैयाँ) सोही ऐनको दफा 5(1) बमोजिम जफत गरी पाउनसमेत मागदावी लिइएको छ ।
साथै, बि.बि. एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले आफू वहाल रहेको बि.बि. एयरवेज प्रा.लि.को इजाजत नवीकरण सम्बन्धित कार्यसम्पादन गरेका प्रमोद नेपाललाई रु.16,50,000।- सापटी दिई निजलाई लाभ पुर्याउने कार्य गरी निज प्रमोद नेपालले गरेको भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 5 को उपदफा (1) बमोजिमको कसुरमा ऐ.ऐनको दफा 22 बमोजिम मतियारको भूमिका निर्वाह गरेको हुँदा बि.बि. एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठ उपर सोही ऐनको दफा 5 को उपदफा (1) ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 22 को प्रतिवन्धत्माक वाक्यांशबमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।