Logo
Logo

नजरबन्दमा चोलेन्द्र- सुरक्षाकर्मी र भीभीआईपी कार खोसियो

महाभियोग टुङ्गो नलागी सर्वोच्च जान खोजेपछि निवासमै नजरबन्दमा राखिएको पुष्टि


35.7k
Shares

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी खोसेको छ ।

प्रहरी प्रधान कार्यालयले अगुवा र पछुवा गाडीसहितका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै जबराका सुरक्षाकर्मी खोसिएका हुन् । स्रोतका अनुसार सरकारले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई जबराका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएको थियो ।

जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायब निरीक्षकको कमान्डमा ९ जना सुरक्षाकर्मी खटाइएको थियो । प्रहरीले गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाएको हो । 

प्रहरीले स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रधान कार्यालय फिर्ता बोलाएको छ । त्यसैगरी, औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार र अगुवा–पछुवाका रुपमा प्रयोग हुने जीप पनि खोसिएको छ ।

प्रहरीले बजराको निवासका सुरक्षा सतर्कता बढाएको छ । महाभियोग टुङ्गो नलाग्दै नियमित कामका लागि सर्वोच्च अदालत जान लागेपछि सरकारकै निर्देशनमा प्रहरीले जबरालाई निवासमै नजरबन्द बनाएको छ ।

सरकारले जबरालाई नजरबन्दमा राखिएकोबारे केही नबोले पनि चाेलेन्द्रको निवास पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टालीले जबरालाई नजरबन्दमा राखिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्