काठमाडौं । दिवंगत बेलायतकी महारानी एलिजावेथको आज (सोमबार) एक विशेष समारोहकाबीच अन्त्येष्टि गरिंदैछ ।
अन्त्येष्टि समारोहमा सहभागी हुन विश्वभरका ५ सय बढी नेताहरु बेलायत पुगिसकेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेल्जियमका राजा फिलिप लगाएत राजपरिवारका अन्य सदस्यहरु, अष्ट्रेलियाका प्रधानमन्त्री एंटोनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डर्न र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सहभागी हुने भएका छन् ।
यसैगरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, बगलादेशका प्रधानमन्त्री शेख हसिना पनि अन्त्येष्टि समारोहका लागि बेलायत पुगेका छन् । साथै नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत पुगेका छन् । अन्त्येष्टि समारोहमा शाही परिवारका सदस्य तथा विश्वभरका नेताहरूको उपस्थिति रहने भएको छ ।
वेस्टमिन्स्टरको दरबारमा राखिएको महारानी एलिजाको पार्थिव शरीर सोमबार बिहान चर्चमा सारिने भएको छ । महारानी एलिजाको यही सेप्टेम्बर ८ तारिखमा स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको थियो ।