Logo
Logo

मकैको उत्पादन घट्दा किसान मारमा


315
Shares

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–१ सम्मर गाउँका कृषक यसवर्ष निकै मर्कामा परेका छन् । कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बीउ अध्ययन विनानै वितरणगर्दा उत्पादन राम्रो नभएपछि कृषक मर्कामा परेका हुन् । गाउँलाई गत वर्ष मकै पटेक क्षेत्र घोषणा गरिएको थियो ।

गणेश जातको मकैको बीउ १७ समय मिटरभन्दा माथिको उचाइमा लगाउनुपर्ने हो तर सम्मर गाउँ एक हजार छ सय मिटरको उचाइमा छ । गणेश जातको मकै लगाउने उत्तम उचाइभन्दा होचो क्षेत्रमा बीउ लगाउँदा मकै ढल्ने, राम्रो घोगा नहाल्ने समस्याले उत्पादनमा कमी आएको कृषकको गुनासो छ । यहाँका कृषकले गत वर्षसम्म मनकामना जातको मकै लगाउने गरेका र उक्त जातको बीउले उत्पादन पनि राम्रो दिएको थियो ।

‘यसवर्ष कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउले नै ठग्यो’, स्थानीय कृषक प्रेमबहादुर पुनले भने, ‘यसपालि उत्पादनमा निकै कमी आयो, अर्को वर्षदेखि यो बीउ लगाउनै नहुने भो ।’ मकै ब्लगका अध्यक्षसमेत रहनुभएका पुनले गाउँका अधिकांश कृषकले कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउ लगाएका छन् ।

नयाँ जातको बीउबाट राम्रो उत्पादन गर्न सकिने आश गरिएको तर उत्पादनमा निकै कमी भएपछि निराश हुनुपरेको बताए । ज्ञान केन्द्रका प्राविधिकले अर्को वर्षदेखि यो बीउलाई उच्च ठाउँमा पठाउने र यहाँ मनकामना जातनै लगाउन सुझाएको उनको भनाइ छ ।

स्थानीय कृषक छमप्रकाश पुनले भए भरको सबै बारीमा नयाँ जातको मकै लगाउँदा धेरै नोक्सानी व्यहोर्नुपरेको बताए । उनले ज्ञान केन्द्रले सुरुमै गाउँमा आएर प्राविधिक रुपमा माटो जाँच गरेर बीउ वितरण गरेको भए आफूहरुले धेरै नोक्सानी व्यहोर्ननपर्ने बताए ।

‘बीउ वितरण गर्ने बेलामा प्राविधिक आएर यहाँको वस्तु स्थिति, माटो र हावापानी परीक्षण गरेको भए हामीले यति धेरै नोक्सानी भोग्नुपर्ने थिएन’, उनले भने, ‘अब अर्को वर्षदेखि पहिलेको बीउले राम्रो उत्पादन दिएको त्यसैलाई निरन्तर गर्नुपर्छ ।’ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सम्मर गाउँ एक हजार छ सयभन्दा माथिको उचाइमा रहेको भन्दै बीउको माग गरेको र सोही अनुसार केन्द्रले बीउ उपलब्ध गराएको बताए । उनले उत्पादनमा केही कमी आए पनि नयाँ बीउ भएको हुँदा प्राविधिक रुपमा उत्पादनमा खासै कमी नआएको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्