Logo
Logo

सिभिल सहकारीको ठगीमा नयाँ चलखेल


3.8k
Shares

काठमाडौं । सिभिल सहकारीको ठगी मुद्दामा जेलभित्रैबाट नयाँ चलखेल सुरु भएको छ । सम्पत्ति बेचेर बचतकर्ताको पैसा फिताए गर्न भन्दै नयाँ कार्यदल र नयाँ सञ्चालक समिति बनाउने खेल सुरु भएको छ ।

हाल जेलमा रहेका केशवलाल श्रेष्ठले केही बचतकतालाई हातमा लिएर यस्तो तयारी थालेका छन् । यसले पीडितहरु थप आत्तिएका छन् । सो ठगी प्रकरणमा इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य र अध्यक्ष केशवलाल श्रेष्ठ हाल जेलमा छन् । तीनै जनालाई छुटाउने र नयाँ कार्यदल बनाउने छलफल अघि बढेको हो ।

तर, उनीहरुले गरेको ठगीको अझै विस्तृत छानबिन हुन सकेको छैन । तामाङ २०५७ देखी २०६७ साल सिभिल सहकारीको अध्यक्ष भएर काम गरेका थिए । त्यसपछि महिनाको ५ लाख तलब तथा अन्य भत्ता खाने गरी सहकारीको प्रमुख कार्यकारी सल्लाहकार भएर काम गरेका थिए ।

सिभिल सहकारीको सिभिल मलमा रहेको ५०% सेयर २०६५–१०–२८ मा त्यसबेलाको सहकारीको संचालक समितिबाट गोप्य रुपले निर्णय गराइ सो सेयर यस सहकारीको होइन, यो इच्छाराज तामाङको निजी लगानीको सेयर हो भनेर निर्णय गराएको समेत खुलेको छ । तमाङले सिभिल सहकारीको सोल्टीमोडमा रहेको साँढे पाँच तले हेड अफिस बिल्डिङ त्यस बेलाको यस सहकारीको संचालक समितिबाट निर्णय गराइ २०६७–६–५ मा उसको निजी कम्पनी सिभिल ग्रुप प्रा लि मा नामसारी गराइसकेको खुलेपछि पीडितहरु आफ्नो पैसा फिर्ता पाउनेमा थप चिन्तित बनेका छन् ।

तामाङले सिभिल सहकारीबाट बिना धितो ५० करोड रुपैया ल्याइ काठमाडौंको सुन्धारामा कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा र कित्ता नम्बर २४२५ को ६ रोपनी गरी जम्मा १२ रोपनी जग्गा पवित्र डिभलोपर्स प्रालिसँग किनेका थिए । त्यसपछि सिभिल इस्टेट्स प्रालि खोलेर सहाकारीका नमामा ४० प्रतिशत मात्र सेयर राखे । सहकारीको सो सेयर सिभिल इस्टेट्स प्रा लि का संचालक इच्छाराज तामाङ र केशवलाल श्रेष्ठले लालकाजी गुरुङ्लाई मिटिङमा नबोलाई २०६६–८–२५ मा २ जनाले निर्णय गरेर इच्छाराज तामाङका नाममा नामसारी गरी यस सहकारीको सेयर सुन्य बनाएका थिए ।

तामाङले सिभिल सहकारीको अध्यक्ष भएको बेला तथा सहकारीको प्रमुख कार्यकारी सल्लाहकार भएको बेला बिभिन्न मितिमा निजी हाउसिङ कम्पनी सिभिल होम्स (२०६३) का लागि भनेर ७ अर्ब १ करोड ३७ लाख ११ हजर २११ रुपैया ३७ पैसा बिना धितो लगेको थिए । अहिलेसम्म उसले सो रकम र यसको ब्याज यस सहकारीलाई फिर्ता दिएको छैन । ती घर बेचेको पैसा उनले विदेशमा लगेर लुकाएको आशंका गरिउको छ ।

त्यस्तै तामाङले सिभिल अपार्ट्मेन्ट्स प्रा लि (२०६५) का लागि यस सहकारीबाट ३४ करोड ६७ लाख ८० हजार ७४५ रुपैया ९१ पैसा बिना धितो कर्जा लगेका थिए । अहिले सम्म सो रकम र यसको ब्याज यस सहकारीलाई फिर्ता पाएको छैन ।

तामाङले आफ्नो निजी कम्पनी सिभिल स्टेट्स प्रा लि (२०६५) का लागि यस सहकारीबाट ६ करोड ६८ लाख ४६ हजार ४०७ रुपैयाँ ८९ पैसा बिना धितो ऋण लगेका थिए । अहिलेसम्म उनले सो रकम र यसको ब्याज यस सहकारीलाई फिर्ता दिएका छैनन् ।

त्यस्तै, सिभिल सहकारीको जग्गा वा बिल्डिङ धितो राखी प्रभु बैंक, कर्मचारी सन्चय कोष, एनअआईसी एशिया बैंक र राष्ट्रिय सहकारी बैंकबाट करोडौ करोड रुपैया यस सहकारीका नाममा कर्जा लिएर सो सबै रकम बेपत्ता बनाएका थिए । यसबारे कर्जा दिने र लिने दुबैतर्फका संचालकहरुमाथि छानबिन गर्नुपर्ने पीडितहरु बताउँछन् ।

तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ सिभिल क्यापिटल मार्केटको अधक्ष भएको बेला यस मार्केटबाट तामाङ दम्पतिले ११ करोड ४७ लाख रुपैया लगेर सिभिल सहकारीमा राखेका थिए ।

यस घोटाला बारे छानबिन गर्न हिराकाजी बस्नेत लगायत सिभिल क्यापिल मार्केटका अन्य संचालकहरुलाई छानबिनको दायरामा ल्याइएको छैन । सिभिल क्यापिल मार्केटले पनि कतै उजुरी गरेको छैन भने सिआइबीले समेत यसतर्फ अनुसन्धान नगर्नुलाई शंकास्पद रुपमा लिइएको छ ।

तामाङले सिभिल सहकारीका नाममा रहेका २५० रोपनी जग्गा मध्ये धेरै जसो जग्गामा सिभिल होम्स मार्फत करिब ११०० घर बनाएर बेचेका थिए । त्यो रकम कहाँ गयो भन्नेतर्फ अनुसन्धान हुन सकेको छैन ।

सिभिल सहकारीकी लेखा समितिकी सदस्य सिर्जना शाक्य तमाङले प्रभु बैंकमा रहेको सिभिल सहकारीको खाताबाट १०–०४–२०७६ मा १० करोड ६५ लाख रुपैया र २१–०४–२०७६ मा १० करोड रुपैया लगेर बेपत्ता बनाएको विषयमा पनि विस्तृत छानबिन हुन सकेको छैन ।

हाल तामाङले काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतमा लिखित रुपमा भनेका छन “मैले सिभिल सहकारीबाट अहिले सम्म एक पैसा पनि रिण नलिएको हुँदा यस सहकारीको तथा यसका बचतकर्ताको पैसा फिर्ता गर्ने मेरो र मेरो परिवारको कुनै दायित्व छैन ।’ सम्पत्ति सबै विदेशमा लुकाएका तामाङ अहिले जेलभित्रैबाट चलखेल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्