Logo
Logo

सशस्त्र प्रहरीमा नयाँ चलखेल


293.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा एआइजीको एक दरबन्दी थपिएसँगै भावी आइजिपीको चलखेल सुरु भएको छ । यसअघि एआइजी नारायणदत्त पौडेललाई भावी आइजिपीको एक्ला दाबेदारका रुपमा हेरिएकोमा अब उनका प्रतिस्पर्धी थपिने भएका छन् ।

सरकारले सशस्त्रमा एआइजीको एक दरबन्दी थपेर बढुवाको तयारी गरिरहेको छ । सिनियर डिआइजी बंशी दाहाल एआइजीमा बढुवा हुने लगभग निश्चित छ । उनकै लागि सो पद थपिएको थियो ।

एआइजीको एक पद थपिनुमै ठूलै रणनीति रहेको बताइन्छ । दाहाल एआइजी भएमा अब साढे तीन वर्षपछि उनी पनि आइजिपीको प्रतिस्पर्धामा हुनेछन् । हाल सशस्त्रमा दुई एआइजी छन्, नारायणदत्त पौडेल र चन्द्रप्रसाद गौतम । उनीहरूमध्ये गौतमले डेढ वर्षपछि अवकाश पाउनेछन् । त्यो अवस्थामा पौडेल एआइजीका एक्ला दोबदार हुने आँकलन गरिएको थियो ।

सोही कारण गत बैशाखमा उनको एकल बढुवा गरिएको थियो । एआइजीकै दरबन्दी नै खाली नहुँदै सूचना प्रकाशन गरेर त्यसरी बढुवा भएको थियो । तर, डिआइजी दाहालले रणनीतिले पौडेलको तनाव बढेको छ । एआइजी पौडेल कांग्रेस नेता पूर्णबहादुर खड्का निकटस्थ मानिन्छन् ।

दाहालले पनि प्रधानमन्त्रीनिकट समूहलाई नै प्रभावमा पारेर दरबन्दी थपेका हुन् । प्रहरी महानिरीक्षक राजु अर्याल सीमा सुरक्षा विभाग र एकेडेमीमा गरी एआइजीको दुई वटा दरबन्दी थप्नुपर्ने पक्षमा थिए । तर, उनी विदेशमा भएका बेला दाहालकै दौडधुपपछि एउटा मात्र दरबन्दी थपियो । जसकारण भावी आइजिपीको प्रतिस्पर्धा फेरिने भएको छ ।

उता, आठ वटै बाहिनीका प्रमुखको एक वर्षे अवधि पुगेपनि सशस्त्रमा तीन वटा मात्र बाहिनीपति फेरिएका छन् । चार जनाले गृह नेतृत्वलाई प्रभावमा पारेर सरुवा रोक्न सफल भएका छन् भने पशुपति बाहिनीका डिआइजी बंशी दाहाल बढुवाको प्रतिक्षामा छन् । प्रदेश नम्बर १ का कमल गिरी, मधेसका गणेश ठाडा मगर, गण्डकीका शम्भु सुवेदी र सुदुरपश्चिममा दुर्गा भट्टराईले आफ्नो सरुवा रोक्न सफल भएका हुन् । सामान्यतया एक वर्षमा बाहिनीपतिको सरुवा हुन्छ । तर, कमाउने र बुझाउने डिआइजीहरू भने दुई वर्षसम्म बस्ने गरेका छन् ।

त्यस्तै, सशस्त्र प्रहरीमा चार डिआइजीको दरबन्दी रिक्त हुने भएपछि त्यसमा पनि बढुवाको दौडधुप सुरु भएको छ । तीन दरबन्दी पहिलेदेखि नै रिक्त छ । एक जना एआइजी हुनेभएपछि चार खाली हुनेछ ।

जसमा सि.स १ र सि.स २ का एसएसपीबीच प्रतिस्पर्धा छ । नियमअनुसार सि.स १ का एसएसपी बढुवा हुनुपर्ने भएपनि सि.स २ का विवादास्पद एसएसपी दीपेन्द्र कुँवरको चलखेलले डिआइजी बढुवा रोकिँदै आएको छ । कार्यक्षमतामा कमजोर कँुवर ब्याच नै टपेर बढुवा हुने दाउमा छन् । हाल सशस्त्रको खरिद शाखामा रहेका उनले त्यहाँ पनि बालुवाटारको आडमा कमाउ धन्दा चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्