नेपालीहरूको महान चाड दशैं नजिकिँदैछ । परदेशमा रहेका नेपाली घरदेश फर्कन थालेका छन् । घरपरिवारका सदस्य र आफन्त भेला भएर मनाउने यो चाडमा अतिरिक्त चाँजोपाँजो मिलाउनुपर्ने हुन्छ । हुनेखाने हुन् या हुँदाखाने दुबैखाले आ–आफ्नो गच्छेअनुसार त्यो अतिरिक्त चाँजोपाँजो मिलाउन जुटेका छन् ।
अधिकांश नेपाली चाडको तयारीमा जुटे पनि यही वर्ष मरोमरण भएका घरपरिवारमा भने यो चाड आउँदैन । वाग्मतीमा धेरै पानी बगिसक्यो तैपनि यही छेको सुत्केरी र रजश्वला भएका महिलाका लागि पनि दशैं आउँदैन ।
यस वर्षको दशैं असोजमै परेकाले हिले दशैंभन्दा पनि हुन्छ । हिले दशैंको नियति नै भनौं ! यही बेला बाढी, पहिरो र सडक दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको संख्या पनि बढ्छ । यसरी असामयिक निधन हुनेहरूको परिवारमा पनि दशैं आउँदैन ।
सनातनको कोणबाट यसरी दशैं नआउनेहरूको सन्दर्भ सामान्यीकरण होला । तर, केही कपुतहरूको दुर्बुद्धिका कारण उनीहरूलाई दशैं आउँदैन जो आफ्नै कुकर्मको परिणामले खुशी डाँडापारि नै राखेर बाँच्न अभिसप्त हुन्छन् । यस्ता मानिसको कोटीमा यस वर्ष दुई स्टार पल शाह र सन्दीप लामिछाने पनि परेका छन् । नावालिगमाथि कुकर्म गर्ने अपराधीका रूपमा कलाकार पल शाहको दशैं जेलको कोठरीमा बित्ने भएको छ । उनी अदालतबाट दोषी प्रमाणित भइसकेका छन् ।
अर्का स्टार क्रिकेटर सन्दीप लामिछाने पल शाहकै मार्गमा लागेर अर्की एक नावालिगमाथि जाइलागे । उनले पल शाहले महँगो मूल्य तिरेको पाठशालाबाट शिक्षा लिएनन् । अहिले उनी फरार अभियुक्तको कोटीमा एक बलात्कारी अभियुक्तको रूपमा भागेर बाँच्न अभिसप्त छन् । नेपाली राष्ट्रिय टोलीको कप्तानको रूपमा केन्यासँग एकदिवशीय क्रिकेट खेल्न गएका उनी बीचैमा बलात्कारी अभियुक्त भए । कप्तानबाट मात्र हैन, राष्ट्रिय क्रिकेट टिमबाटै निलम्बनमा परेका उनी उतैबाट फरार छन् । उनलाई पक्राउ गर्न इन्टरपोल गुहारिएको छ । योभन्दा लज्जाको विषय के हुन सक्छ ?
यी दुई स्टार र उनीहरूको परिवारमा दशैंँ त छ तर मनाउने माहोल छैन । यी कपुतहरुको दुर्बुद्धिले बाबुआमाले गौरव गर्न त पाएनन् नै, दशैंँ पनि दशाका रूपमा आएर नजिकबाटै खिसिट्युरी गरिरहेको छ । यिनीहरूको परिवार त यो वा त्यो रूपमा दशैंँ खोसिनेमा परेको औचित्य पनि पुष्टी हुन्छ ।
तर, यिनीहरूको फकाइमा परेर होस गुमाएका दुई किशोरी छोरी र उनीहरूको परिवारमा पनि एक किसिमको खल्लो दशैं आउँदैछ । अस्मिता लुटिएको भनिएका छोरीहरू डिप्रेसनमा छन् । उल्टै समाजले उनीहरूमाथि नै नानाभाती भन्दै औलो ठड्याइरहेको छ । छोरी न साट्न मिलेको छ, न काट्न मिलेको छ । किन गइस त ? भनेर प्रश्न पनि गर्न सकेका छैनन् । त्यस्तो प्रश्न गर्यो कि अप्रिय निर्णय लेलान् भन्ने पीर छ । अहिले उनीहरूको परिवार अप्रिय घटना हुनबाट जोगाउन पहरेदारी गर्नुपर्ने अवस्थामा छ । यस्तो अवस्थामा दशैंको वास्तविक खुशी आउने कुरै भएन ।
यहीबेला अर्का धन्धुकारीलाई पनि दशा लागेको छ । यी धुन्धुकारी हुन्, मुलुकको सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा । जसको नाम लिँदा सम्माननीय भन्नुपर्ने सनातनी छ । यी सम्माननीय अहिले भ्रष्टाचारी, पदीय मर्यादा उलङ्घनकारीलगायत अनेकौ आरोपमा महाभियोगले प्रधानन्यायाधीशको सरकारी निबासमा थन्को लागेका छन् । निलम्बित भइसक्दा पनि शान शौकातका साथ सरकारी निबास नछाडेका यी अभिसप्तलाई लाज, शरम केही छैन । अझ उनले संसदको महाभियोग छानबिन समितिमा आएर जुन किसिमको बयान दिए, त्यो न उनको पदलाई सुहाउने थियो न त्यसले उनी आफू निर्दोष रहेको नै प्रमाणित गर्न सके । यसबाट केही फुर्सदिला मानिसलाई सामाजिक सञ्जालमा बसिबियालो गर्ने बहाना मिल्यो । बाँकी त उनले नेपालको न्यायापालिकाको धज्जी उडाउने र संघीय गणतन्त्रलाई धारेहात लगाउने काम गरे ।
जब संसद्को कार्यकाल सकियो र उनीमाथिको महाभियोग प्रक्रिया टुङ्गिएन, यी धन्धुकारीले सर्वोच्च अदालत फर्कने घोषणा गरे, त्यसबाट बिकसित घटनाक्रम भने मुलुकका लागि थप दुःखदायी किसिमको छ । सरकारले उनीमाथि जुन किसिमको रबैया देखायो, त्यो किमार्थ ठीक होइन । उनलाई सर्वोच्च जान दिएर गेटबाटै फर्काइदिएको भए हुन्थ्यो । यस प्रकरणमा सरकार मात्र प्रतिक्रियामा उत्रेन, बार र अदालत पनि त्यही मेसोमा थपिए । यी प्रतिक्रिया हेर्दा, गुलेलीले काम तुरिने ठाउँमा बम नै पड्काइयो । गतिको तेस्रो नियमले बरार मात्रामा विपरीत दिशामा क्रियाको प्रतिक्रिया दिन दिन्छ । तर, यहाँ त क्रिया एक किलोको थियो, प्रतिक्रिया एक टनको भयो । विज्ञानको कोणबाट हेर्दा पनि यसलाई किमार्थ सही भन्न सकिन्न ।
यी धन्धुकारी र उनको परिवारलाई पनि दशैं एक किसिमको नमिठो दशा बनेर आएको छ । तर, उनी यो दशाका सक्कली हकदार हुन् । उनी जुन पद र गरिमाका लागि योग्य नै थिएनन्, ल्याकत र नियत दुबै कोणबाट फाजिलमा परेका नेताहरूले बोकेर उनलाई यहाँसम्म ल्याएका थिए, त्यसको परिणाम आज उनीहरू आफैं भोग्न अभिसप्त छन् । आज उनीहरूको काँधबाट सिनो ह्वातह्वाती गन्हाइरहेको छ ।
तर, दुर्भाग्य नेकपा एमाले र उनका अध्यक्ष केपी शर्मा ओलीलाई भने यतिबेला दङदङी गन्हाइरहेको त्यो सिनोबाट गन्ध हैन, कस्तुरीवास आइरहेको छ । त्यही वासबाट अल्हादित भएर उनले चोलेन्द्रलाई निर्दोषिताको प्रमाणपत्र नै दिइसके । त्यसअघि नै महाभियोग छानबीन समितिमा रहेका उनका पार्टीका सदस्यहरूले चोलेन्द्रलाई महाभियोग लगाउने निर्णयविरूद्ध नोट अफ डिसेन्ट लेखिसकेका थिए ।
अब यही चोलेन्द्र नामको कलंकको टीका लगाएर एमाले मंसिर ४ को चुनावमा जाँदैछ । यसअघि नै एमालेको निधारमा गैरआवासीय नेपाली नागरिकता र वंशजको आधारमा नागरिकता दिने प्रावधान रहेको नागरिकता संशोधन विधेययकलाई राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् हलो अड्काएर अर्को कलंकको टीका लागिसकेको छ । यसैपनि झण्डै दुईतिहाइ बहुमत दिएका जनताको म्याण्डेटलाई पाँच वर्ष पनि टिकाउन नसक्ने नालायकका रूपमा ओली चुनावमा जाँदैछन् । यसबीचमा दुई दुईपटक संसद विघटन गर्ने असंवैधानिक दुस्साहस गरे, अहिले त्यही संसदमा जान उनको रोइलो जारी छ ।
यो चुनावमा ओली लगभग एक्लिएका छन् । उनी अब टालाटुली बटुली गरेर अर्को गठबन्धन बनाउन लागिपरेका छन् । उनको गठबन्धनमा राजावादी राप्रपाका दुई घटक, मधेसवादी दल लोकतान्त्रिक समाजवादी र यस्तै केही चानचुने दल हुने देखिएको छ ।
अहिले उनी एमालेमा उनको हैकममाथि प्रश्न उठाउने सुनका सिक्कालाई किनारा लगाएर मधेसतिरका पदलोलुप खोटेसिक्काहरूलाई भित्र्याउन फूलमाला लिएर दौडधुप गरिरहेका छन् । यो दौडधुपले उनी र उनका अनुयायीहरूलाई मुतको न्यानो दिनेभन्दा उपल्लो स्तरको परिणाम दिनेवाला छैन । धेरैमा यो सारा खेलबाट उनले सोचेजस्तो नतिजा आए मधेसतिर एक दुई सिट थप्ने हुन् ।
जे भए पनि ओली मंसिर ४ को चुनावको इपिसेन्टर हुन् । नौ दिनमा नौलो र बीस दिनमा बिर्स्यो रोग लागेका नेपालीको ध्यान आफूतिर तानेर उनले अनेक क्रिया गर्नेछन् र बाँकीलाई प्रतिक्रिया दिन बाध्य पार्नेछन् । उनको यो दिउँसै रात पार्ने खुबीले नेपाली जनतालाई फेरि गुमराहमा नपार्ला भन्न सकिन्न ।
यस्तो अवस्थामा ओलीलाई छेक्ने रक्षापंक्ति र ओलीविरूद्ध गोल गर्ने अग्रपंक्ति दुबैतिर नेपाली कांग्रेस छ । ऊसँगै रहेको सत्ता गठबन्धनका बाँकी घटकले टीम पु¥याउने र चुनावी मैदानको बीचतिर बल खेलाउने र पास दिने मात्र हुन् । त्यसैले ओलीलाई रोक्न कांग्रेसले टिमस्प्रिरिटका साथ रणकौशल देखाउनुपर्ने हुन्छ । कथङ्कदाचित् कांग्रेस ‘मै मात्र टिकट लिऔं, मै मात्र जितौं’ भन्ने दुर्बुद्धितिर लागेर गठबन्धनका अन्य दलको महत्वलाई नजरअन्दाज गर्यो भने सत्तागठबन्धनको जीत बुमर्याङ पनि हुनसक्छ । यस्तो अवस्थाबाट लाभान्वित हुने भनेको फेरि पनि ओली र उनको कम्पनी नै हो ।
तर, यी सबका बाबजुद पनि नेपालको प्रगतिशील सोच र कोण भएको पार्टी एमाले नै हो । अहिले यसमा ग्रहण लागेर बामाले भएको छ । नेपाल र नेपालीको सुदुर भविष्य बन्यो भने यही पार्टीबाट बन्ने हो । तर, त्यसका लागि बामाले हार्नुपर्छ । ओली आफैं पनि हार्नुपर्छ र उनको अहम् चकनाचुर हुनुपर्छ । त्यसो भयो भने बामाले हार्ने छ । त्यही हारको आलोकमा अर्कोपटक एमालेले जित्नेछ । त्यो जीतमा नेपालमा दीर्घकालीन महत्वको वाम ध्रुवीकरण हुनसक्छ ।
जे होस् यसपटक दशैं मात्र आएको छैन, दशैंलाई नै छायाँमा पार्ने गरी आमचुनाव पनि सँगै आएको छ । प्रस्तुत पृष्ठभूमिमा यसपटक दशैंमा कम चाडबाड र बढी चुनाव हुने छ । कतै चुनावको पारो तात्दा चाडको सद्भाव त बिथोलिने हैन ? यसतर्फ सबै नेपाली सचेत हुनुपर्छ ।
कामना गरौं, यसपालिको दशैं सबैका लागि दशैं नै भएर आवोस्, कसैका लागि पनि दशा नबनोस् !