Logo
Logo

गृहमा विभूषणको व्यापार


4.8k
Shares

काठमाडौं । विगतका वर्षझै यो वर्ष पनि चाकडी र चलखेलका आधारमा सरकारले करिब एक हजार व्यक्तिलाई विभूषण दिएको छ । विभूषण पाउनेमा चाकडीवाल कर्मचारी र सत्तानिकट व्यक्तिहरू धेरै छन् । जसले विभूषणको गरिमालाई झन् घटाएको छ ।

विभूषणसम्बन्धि कार्यविधिलाई समेत मिचेर गृह मन्त्रालयले सिफारिस गरेको छ । कार्यविधिमा भ्रष्टाचार मुद्दा परेका व्यक्तिलाई विभूषण दिन नमिल्ने उल्लेख छ । तर, भ्रष्टाचार मुद्दा खेपिरहेका व्यापारी पशुपति मुरारकालाई सुकीर्तिमय राष्ट्रदिप दिने निर्णय भएको छ ।

चुनढुंगा खानीको अनियमिततामा उनलाई ४९ करोड ४५ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । उनको सिद्धार्थ मिनरल्स प्रालिले अनुमतिभन्दा धेरै चुनढुंगा उत्खनन गरेको थियो । जसमा जम्मा एक लाख रुपैयाँ क्षतीपूर्ति दिएर तत्कालीन मन्त्री लेखराज भट्टलाई समेत हातमा लिई सेटिङ मिलाइएको थियो । राज्यलाई करोडौं नोक्सान पारेको अभियोग लागेका व्यक्तिलाई सरकारले भने पुरस्कृत गरेको छ ।

त्यस्तै, अर्का विवादास्पद व्यापारी राजेशकुमार अग्रवाल पनि पुरस्कृत हुनेमा परेका छन् । हुन्डी लगायतका अपराधमा मुछिएका उनलाई पनि विभूषण सिफारिस गरिएको छ ।

त्यस्तै, नेपालकै महंगो स्कुल यूलेन्स स्कुलकी डाइरेक्टर सजनी अमात्य पनेरु पनि विभूषण पाउनेको सूचीमा परेकी छिन् । प्रधानमन्त्रीपत्नी आरजु राणाको लगानी रहेको यूलेन्समा उनी कार्यरत छिन् । आरजुकै सिफारिसमा उनले त्यस्तो विुभषण पाएको बताइन्छ । जबकी शिक्षा क्षेत्रमा दशकैंदेखि योगदान गर्ने धेरै व्यक्तिहरू उपेक्षित हुन् ।

सो स्कुलमा सजनीकी श्रीमान सोम पनेरु अध्यक्ष छन् । उनले स्कुलको नाममा विदेशबाट आएको स्रोत दुरुपयोग गरी व्यक्तिगत सम्पत्ति जोडेको आरोप लाग्दै आएको छ । समाजसेवीका नाममा कतिपयलाई आर्थिक चलखेलका आधारमा समेत विभूषण वितरण गरिएको चर्चा गृहमा छ ।

सोही कारण यो वर्ष इतिहासमै धेरै ९ सय ९३ जनालाई विभूषण दिइएको छ । विभूषणको सूची कति हचुवाको भरमा तयार गरिएको छ भने एउटै व्यक्तिको नाममा दुई ठाउँमा समेत राखिएको छ । गृहमन्त्री अध्यक्षको विभूषण सिफारिस समितिले यस्तो सूची बनाउँछ । विभूषणमा गृह मन्त्रालयका कर्मचारीले हालिमुहाली जमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्