Logo
Logo

राष्ट्रपतिले तुरुन्त राजीनामा दिनुपर्छ : पूर्वन्यायाधीश केसी


945
Shares

काठमाडौं । पूर्वन्यायाधीश बलराम केसीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको गम्भीर उल्लंघन गरेको बताएका छन् । उनले संसद भएको भए राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने भएपनि अहिले संसद नभएकाले तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

पूर्वन्यायाधीश केसीले अनलाइन खबरसँग भनेका छन्, ‘राष्ट्रपतिबाट संविधानको गम्भीर उल्लंघन भयो । यसमा क्षमा हुनुहुँदैन । संसद् भइदिएको भए पास होस् नहोस् महाअभियोग लगाउनुपर्दथ्यो ।’

गत भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ दोस्रो पटक प्रमाणीकरणका लागि पठाएका थिए । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोजसम्ममा प्रमाणीकरण गरिसक्नुपर्ने थियो । तर, राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।

केसीका अनुसार राष्ट्रपतिले ११३ को (४) मात्र होइन, अरु थुप्रै धारा उल्लंघन गरेकी छन् । संविधानको धारा १ को उपधारा २ मा सबै नागरिकले संविधानको पालना गर्नुपर्छ भनिएको छ । उनले भनेका छन्, ‘उहाँ नागरिक भएर राष्ट्रपति हुनुभएको हो, उहाँले पनि उल्लंघन गर्न पाउनुहुन्न । धारा ४८ मा प्रत्येक नागरिकले संविधानको पालना गर्नुपर्छ भनेको छ । विद्यादेवी भण्डारीबाहेक भनेको छैन ।’

धारा ११४ (४) मा राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको विधेयक दुवै सदनले प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा १५ दिनभित्र प्रमाणीकरण गर्नेछ भनिएको छ ।

पूर्वन्यायाधीश केसीले संसद नभएका कारण महाअभियोग लगाउने कुरा नभएकाले अब ३० करोडको मोटरगाडी चढाएर सुरक्षा घेरामा राख्नुको औचित्य नभएको भन्दै संविधानउपर नै ठूलो बेइमानी गरेकाले राष्ट्रपतिले तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन् ।

नागरिकता विधेयक नआएका कारण नागरिकता नपाएका जो कोही वा अरु कोही सर्वोच्च अदालत जानुपर्ने पनि उनले बताएका छन् । त्यसरी जाँदा नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशसँगै राष्ट्रपतिलाई नसिहत दिन माग गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्