काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूको भिड लागेको छ । पाँच जनाको दरबन्दी भएको प्रधानमन्त्री कार्यालयमा आठ सचिव कार्यरत छन् ।
प्रधानमन्त्री कार्यालयमा सचिव र सहसचिवको संख्या लगभग बराबर भएको छ । सूर्यप्रसाद गौतम, दिनेश भट्टराई, मधु मरासिनी, धनराज ज्ञवाली, गणेशप्रसाद पाण्डेय दरबन्दीमा कार्यरत छन् । उनीहरु बाहेक इन्जिनियरीङ सेवाका सुरेश आचार्यलाई पनि त्यही राखिएको छ । उनलाई कुनै जिम्मेवारी छैन । त्यस्तै, सुमनराज अर्याललाई अतिरिक्त दरबन्दीमा तथा खगेन्द्रप्रसाद नेपाललाई बिशेष दरबन्दीमा राखिएको छ ।
प्रधानमन्त्री कार्यालयमा आफुहरुको कामै नभएको एक सचिव बताउँछन् । हाजिर गर्ने र फर्किने दैनिक रहेको उनले सुनाए । ‘पाँच जना सचिव हुँदा त काम हुँदैन थियो,’ एक सचिव भन्छन्,‘आठ जना हुँदा अवस्था के होला ?’ यसरी प्रधानमन्त्री कार्यालयमा धेरै सचिव हुँदा प्रदेशमा भने सचिव छैनन् । प्रदेश नम्बर १ मा प्रमुख सचिवको पद रिक्त छ । प्रधानमन्त्री कार्यालयमा राखिएका सचिव सुमन अर्याललाई भने तथ्याङक प्रशासक बनाएर जिम्मेवारी दिन लागिएको छ । विगतमा राष्ट्रिय योजना आयोग मातहतको राष्ट्रिय तथ्याङक विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखी यसको संरचना हेरफेर गर्न लागिएको छ । त्यसका लागि संसदले हालै नयाँ ऐन पास गरिसकेको छ ।
प्रधानमन्त्री कार्यालय यती कमजोर हुनमा प्रधानमन्त्रीकै कमजोरी रहेको एक कर्मचारी बताउँछन् । प्रधानमन्त्री शेरबहादुर देउवा कहिलेकाँही मात्र प्रधानमन्त्री कार्यालयमा पुग्छन् । कर्मचारीसँग छलफल र निर्देशन बिरलै हुने गरेको छ । प्रधानमन्त्रीले आफ्नै कार्यालयका सचिव नचिन्ने अवस्था छ । प्रधानमन्त्री कार्यालय नै यती भद्रगोल भएपछि देश सञ्चालनको अवस्था कस्तो छ भनेर सहजै बुझ्न सकिन्छ ।