काठमाडौं । यस वर्ष नेपाली फिल्ममा दर्शकले द्वन्द्वको कथालाई भिन्न तरिकाले हेर्न पाइएको छ । निर्माता तथा निर्देशकले द्वन्द्वको कथालाई पर्दामा ल्याउन गरेको साहसको चर्चा पनि भयो ।
विशेषत यस प्रकारको फिल्ममा लगानी सुरक्षित हुने सम्भावना अन्यको तुलनामा कम हुन्छ । नेपालमा व्यासायिक सफलता पाउने फिल्म सम्झिने हो भने हाँस्यप्रधान विषयवस्तु बोकेको धेरै छ । यसले दर्शक पूर्ण मनोरञ्जनात्मक फिल्म चाहन्छन् भन्ने प्रस्ट्याउँछ ।
यस वर्षको सुरुआतदेखि नै तीन माओवादी द्वन्द्वको परिवेशमा जोडिएर निर्माण भएको तीन फिल्म प्रदर्शनमा आइसकेको छ । दोख, पानीफोटो र प्रकाश । तीनै फिल्म जम्म सकेन ।
नयाँ पुस्ताले उक्त विषयवस्तुलाई हलसम्म पुगेर हेर्ने जाँगर देखाएनन् । अर्कोतर्फ द्वन्द्वको समय पार गर्नुभएका पुस्ताले पनि त्यसलाई सम्झिन चाहेनन् । किनकि तीनै फिल्मको व्यापार न्यून छ ।
कलात्मक फिल्म हेर्ने दर्शकसमेत नआउँदा यस किसिमको कथालाई ठूलो पर्दामा अब देख्न मुस्किल पर्नेछ । ‘कालोपोथी’ फिल्मले पाएको सफलताले फिल्मकर्मीलाई द्वन्द्वको परिवेशमा कथा भन्न उत्साहित गरेको हो । गएको असार पहिलो साता प्रदर्शनमा आएको फिल्म ‘दोख’ झण्डै सात वर्षको मेहेनतपश्चात हलसम्म आइपुगेको थियो ।
भुइँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण प्रोडक्शनमा बढी समय खर्चिएको भएता पनि दर्शकले रुचाएन । दर्शकको साथ नपाउँदा सात दिन हलमा रहन मुस्किल प¥यो । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको ‘दोख’ लाई अनुप बरालले निर्देशन गर्नुभएको छ । द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाइएको छ ।
निर्माणमा लामो समय लागेको भएर पनि दर्शक फिल्मसँग जोडिन सकेनन् । हलसम्म आइपुग्नुभएका केहीले यसलाई राम्रो भनेता पनि व्यावसायिकरूपमा घाटा भयो । यसले हलमा प्रदर्शन भएवापत पाउने शेयर निकै न्यून छ । निर्देशक बराल यस किसिमको फिल्ममा दृश्य भाषा, कथ्य शैली रेगुलरझैँ नहुने बताउँछन् । तर उनी असफलता भने स्वीकार छन् । उनकै अभिनय रहेको ‘पानीफोटो’ पनि असफल रह्यो ।
द्वन्द्वकालमा हराएको छोराको खोजीमा रहेको बुवाआमाको कथा फिल्ममा देखाइएको छ । यसलाई अभिनेता खगेन्द्र लामिछानेले निर्देशन गरेका हुन् कोरोना भाइरसको महामारीले गर्दा भएको लकडाउनले यसलाई केही असर ग¥यो । बुढेसकालको सहारा बेपत्ता हुँदा परिवारले भोग्ने भोगाइलाई यसमा प्रस्तुत गरिएको छ । ‘पानीफोटो’ दशक अगाडि गुरुकूलमा मञ्चन भएको सोही नामको नाटककै अनुरुपण गरिएको फिल्म हो ।
यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्नुभएका लामिछानेलाई पहिलो प्रयासमै असफलता प्राप्त भयो । उनले आफ्नो भोगाइबाट यसको कथा तयार गरेका थिए ।
‘मेरो मामा पनि बेपत्ता हुनुभएको अझै फर्किनुभएको छैन । उहाँको पर्खाइमा मेरो हजुरआमा टोलाइरहनु हुन्थ्यो’ यस्तै अन्य कथा पनि सुनेपछि मञ्चन गरेको नाटकलाई फिल्ममार्फत धेरै दर्शकसम्म पु¥याउन चाहन्थेँ । ‘यद्यपि सफलता प्राप्त भएन’ निर्देशक लामिछानेले भने । उनी आउँदो समयमा लेखन तथा निर्माण शैलीमै आफूलाई परिवर्तनसमेत गर्ने सोचमा छन् ।
माओवादीको तर्फबाट युद्ध लडेर सहिद हुनुभएको व्यक्तिका परिवारको कथा ‘प्रकाश’मा देखाइएको छ । वर्गीय विभेद, भ्रष्टाचार, बेथिति अन्त्य गर्न युद्ध लड्दा सहिद हुनुभएको कमरेडको छोरा प्रकाशले भोगिरहेको विभेद, शिक्षक बन्न गरेको सङ्घर्षको कथा फिल्ममा छ । अघिल्लो दुई फिल्मको तुलनामा यसले व्यावसायिकरूपमा सुखद् व्यापार गरेता पनि असफल नै रह्यो ।
स्टारडमको छायाँलाई हटाएर कलाकारिता देखाउन प्रयत्न गरेका प्रदीप खड्का सफल हुन सकेनन् । उनलाई हेर्न हलसम्म आइपुग्ने दर्शक कम भए । उल्लेखित तीन फिल्मको असफलताले दर्शकले द्वन्द्वको कथालाई हेर्न नचाहेको प्रस्ट्याएको छ ।
‘प्रकाश’ ले अन्य दुईभन्दा तुलनात्मकरूपमा हलसँगै डिजिटल राइट्स, विदेश राइट्सबाट लगानीको केही प्रतिशत फिर्ता ल्याउन सफल भएता पनि पानीफोटो र दोखको अवस्था नाजुक छ ।
तीनै फिल्मको असफलतालाई लेखक प्रदीप भारद्वाज दर्शकको टेस्ट बदलिएको बताउँछन् । ‘दर्शक अब पुनः त्यहीँ समयलाई हेर्न चाहनुहुन्न, त्यसैले हलसम्म आउनु भएन । हामीले अब मनोरञ्जनात्मक फिल्म निर्माण गर्नुपर्छ’, उनले भने । द्वन्द्वको कथा पर्दामा असफल भएता पनि आउँदो समयमा यी फिल्मले बितेको कालखण्डलाई सङ्ग्रहित गरेर नयाँ पुस्ताका लागि दस्तावेजको काम गर्ने विश्वास निर्माता तथा निर्देशकमा छ ।