काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईकै गृह जिल्ला संखुवासभा, खाँदबारी नगरपालिकामा भ्रष्टाचार भएको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा हुँदै नभएको कामको नक्कली बिल पेश गरी अनियमितता भएको हो । आयोगले सो प्रकरणमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा निर्माण कार्यमा नभएको काम भए गरेको हो भनी नापी किताब, स्वीकृत सम्झौता, बैङ्क स्टेटमेन्ट, बिल भरपाईसमेतका आधारमा तीन लाख ७४ हजार एक सय २७ भुक्तानी गरी भ्रष्टाचार भएको हो ।
नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार निरौला, तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र सव–इन्जिनियर मनोज कुमार चापागाइ, महानन्द चोक हिगुवा योगी डाँडा हुँदै वर्खे डाँडा मोटर बाटो मर्मत उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपाल बहादुर थापामगर र कोषाध्यक्ष मेनुका तामाङविरुद्ध मुद्दा दायर भएको हो । आफ्नै गाउँमा भएको यो भ्रष्टाचारमा आयोगका प्रमुख आयुक्त राईले चासो राखी तिव्रताका साथ अनुसन्धान गर्न निर्देशन दिएका थिए । पछिल्लो समय आयोगले अनुसन्धान र अभियोजनमा सक्रियता बढाएको छ ।