Logo
Logo

ललितपुरको गोदावरी र भक्तपुरको हनुमन्ते खोलामा सफाइ जारी


252
Shares

काठमाडौं । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान चार सय ८९औँ हप्तामा प्रवेश गरेको छ ।

महाअभियानको चार सय ८९औँ शृङ्खलामा शनिबार बुद्धनगर वाग्मती पुल (युएन पार्क नजिकै) को नदी किनारमा सफाइ गरी साढे दुई टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सफाइमा काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हिरालाल तण्डुकार, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घ, लायन्स क्लब अफ सिद्दार्थ गौतम बुद्ध, युरेशिया रेयुकाइ सङ्घ, अष्ट्रेलिया, बेलायतबाट आएका तीनजना स्वयंसेवक, गायत्री परिवार एवं वाग्मती अभियानकर्मीको सक्रियता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा दुई हजार पाँच सयभन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर एक सय नौ भन्दा बढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैलाउन सफल भएको छ ।

यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्