काठमाडौँ । कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कालाकारले गरिरहेको मेहनतको चर्चा हुन् थालेको छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाच्न थालेका छन् । डिजिटल प्लेटफर्म’ हरुको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने, अध्यनगर्ने शैली अधिकांश नयाँ पिंढीका कलाकारमा देखिन थालेको छ । प्रायः फिल्ममा अभिनय उस्तै भएपछि ‘टाइप कास्ट’ को आरोप खेपिरहेका नयाँपुस्ताका कलाकार भने मेहनती देखिने गरेका छन् ।
रङ्मञ्च हुँदै फिल्ममा उदाएका कलाकार सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायतले आफ्नो चरित्र निर्माणमा गरेको मेहनतको चर्चा हुन्थ्यो गर्छ । पछिल्लो समय उनीहरु बढी व्यावसायिक बनिरहेको आरोप पनि लाग्ने गरेको छ । तर नयाँपुस्ताका कलाकारमा भने चरित्र निर्माणमा गम्भीर भएर पेसाप्रति लगनशील भएको देखिन्छ । कलाकारितामा बढी पारिश्रमिक लिएर अभिनय गर्ने अभिनेतामा अनमोल केसीले ‘अभिनय गर्न नजानेको’ प्रश्नको सामना गरिरहेका छन् । उनी अभिनित फिल्मले निर्मातालाई मुनाफा दिए पनि समीक्षकलाई सन्तुष्ट पार्न सकेको छैन ।
अभिनयमा कमजोर रहेको प्रतिक्रिया पाइरहने अनमोल ‘छड्के २’ मा हिंसक व्यक्तिको भूमिकामा छन् । उनले ‘लभरब्वाई’ को स्वरूप बदल्न ‘कृ’मा द्वन्द्व गरेता सफलता प्राप्त गर्न सकेनन । चरित्र जीवन्त नदेखिएको प्रतिक्रिया पाएपछि अनमोलले कलात्मक फिल्म खेल्ने कोशिस गरे । त्यहि सिलसिलामा फिल्म ‘धुपौरे’ गर्ने निर्णय लिए । आन्तरिक विवादले फिल्म बन्न नसकेपछि अनमोल अहिले निगम श्रेष्ठको निर्देशनमा तयार भइरहेको फिल्ममा ‘ग्याङ्गस्टार’को भूमिका निर्वाह गरिरहेका छन् । व्यावसायिकरुपमा सफलता पाएका अनमोलले कलाकारिता देखाउन नसकेको गुनासोलाई मेट्न मेहनत गरेका हुन् । ‘एउटा स्टारले क्यारेक्टरलाई एडप्ट गर्न देखाएको मेहनत प्रशंसनीय छ’, निर्देशक श्रेष्ठले बताए ।
अनमोल झैँ खोजिने अभिनेता प्रदीप खड्काले अभिनय गरेको फिल्म ‘प्रकाश’ गत भदौमा प्रदर्शन भएको थियो । व्यसायिक सफलता नपाए तापनि उनले आफूलाई स्टारडमको छायाँबाट बाहिर ल्याए । जुम्ली युवक बन्न रङ्गकर्मी अनुप बरालसँग प्रशिक्षण लिए । काठमाडौँमै खाली खुट्टा हिँड्ने, भाषा सिक्ने साथै छायाङ्कन अगाडि नै जुम्ला पुगेर स्थानीयसँग घुलमिलसमेत भए । अभिनेता प्रदीपले भने, ‘नयाँ भूमिका खोज्दा प्रकाश पाएँ । चरित्रमा देखिन मैले सक्दो प्रयास गरेको हुँ । कलाकारका रुपमा महशुस गर्न पाएँ ।’ उनलाई चरित्रमा ल्याउने श्रेय निर्देशक दिनेश राउतले पाएका छन् । ‘प्रदीपले अभिनय गरिरहनुभएको फिल्म र रुचिमा फरक पाएँ । उहाँभित्र देखिएको कलाकारितालाई बाहिर ल्याउने प्रयाश गरेको हुँ’, निर्देशक राउतले भने ।
‘झिँगेदाउ’ मा गाउँले युवतीको भूमिकामा देखिएका अभिनेत्री आँचल शर्मा मेहनतले सार्थकता पाएको बताएका छन् । ‘मैले कृति पढेपछि गाउँले भूमिकामा अभिनय गर्न तयार भएकी हुँ । मेरा लागि नयाँ भएकाले सुरुआती समयमा कठिन भए पनि सक्दो मेहनत गरें’, उनले भने । ‘बाबरी’ फिल्ममा धीरज मगरले पुरानो छवि हटाए । ‘म स्टार नभई कलाकार बन्न आएको हुँ । त्यसैले पुर्वेली बनेको हुँ’, धीरजले भने । गत भदौको पहिलोसाता प्रदर्शन भएको फिल्म ‘कृष्ण लीला’ मा अभिनेता पुष्प खड्काले अटिजम पीडित युवाको भूमिका निर्वाह गरे । उनले यसको लागि अटिजम पिडितलाई भेटेर, बुझेर अभिनय गरेका छन् ।
नयाँ पुस्ताले चरित्र निर्माण गरिरहेको मेहनत सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताउछन् । उनले भने, ‘स्टारलाई हेर्न दर्शक हलसम्म आउनुहुन्छ । उहाँहरुले चरित्रमा गर्ने मेहनतले लामो समयसम्म जोगाउँछ ।’ यसले फिल्मलाई पनि उत्तिकै फाइदा पुग्ने विश्वास उनको छ ।