Logo
Logo

पूर्वआइजिपीलाई अख्तियारको ‘क्लिनचिट’


31k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतले अकूत सम्पत्ति आर्जन गरेकोसम्बन्धी मुद्दामा क्लिनचिट पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथिको छानबिन तामेलीमा राखेपछि बस्नेतलाई हाइसञ्चो भएको हो ।

पूर्व महानिरीक्षक सनतकुमार बस्नेत/पूर्वडिआइजी गोविन्द निरौला

यसअघि उनीविरुद्ध आयोगले नक्कली बिल बनाई भ्रष्टाचार गरेको अभियोगमा ६ वर्षअघि मुद्दा दायर गरेको थियो । लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनीसहित चार सशस्त्र प्रहरी महानिरीक्षकविरुद्ध मुद्दा दायर गरेका थिए । वासुदेव ओली, कोषराज वन्त र शैलेन्द्र श्रेष्ठविरुद्ध पनि मुद्दा परेको थियो । जसमा विशेष अदालतले सबैलाई सफाइ दिएको थियो । अकूतसम्बन्धी मुद्दामा पनि बस्नेत जोगिएका छन् । पदमा हुँदा करोडौंको सम्पत्ति जोडेको आरोप उनीमाथि थियो ।

त्यस्तै, सशस्त्रका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठको छानबिन पनि तामेलीमा परेको छ । तामेलीमा परेसँगै उनी राजनीतिमा लागेका छन् । गत साता उनी राप्रपामा प्रवेश गरेका छन् ।

नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलाको फाइल पनि थन्किएको छ । विमानस्थलमा हुँदा सुन तस्करीमा सहयोग गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलेको थियो । जसमा उनले सफाइ पाएका छन् । सुन काण्डमा मुछिनुअघि उनी विमानस्थलबाट एक यात्रुको आइप्याडलगायत सामान घर लगेको घटनामा पनि मुछिएका थिए ।

सुन काण्डमा गोरे समूहलाई सहयोग गर्नेलगायत अन्य केही प्रहरी अधिकारीमाथिको छानबिन भने चलिरहेको स्रोत बताउँछ । अख्तियारले करिब २० वर्षदेखि बहालवाला प्रहरी अधिकारीविरुद्ध अकूत सम्पत्ति आर्जनको मुद्दा दायर गर्न सकेको छैन । जबकि सबैजसो उच्च अधिकारीले करोडौैंको सम्पत्ति जोडेका छन् । हालै राजनीतिमा लागेका प्रहरीका केही अवकाशप्राप्त अधिकारीमाथि भने छानबिन चलिरहेको स्रोत बताउँछ ।

त्यस्तै, विवादास्पद डिएसपी श्यामकुमार राईको सम्पत्ति छानबिन पनि रोकिएको छ । उनी बौद्ध वृत्तमा हुँदा घुससहित पक्राउ परेकामा पछि अदालतबाट सफाइ पाएका थिए । उनले धेरै सम्पत्तिको स्रोत खुलेको थिएन । तर पनि तामेलीमा राखिएको छ ।

सशस्त्रका डिएसपी मोहनराज विष्ट, नेपाल प्रहरीका इन्सपेक्टर लोकबहादुर जिसीमाथिको छानबिन पनि रोकिएको छ । जिसी गैंडाकोटमा हुँदा नक्कली चालक खडा गरी वास्तविक चालकलाई जोगाएको घटनामा निलम्बनमा परेका अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्