Logo
Logo

उम्मेदवारबारे एमालेका शीर्ष नेतै बेखबर


16.8k
Shares

काठमाडौं । मंसिर ४ गते एकैपटक प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय ३० स्थानमा निर्वाचन हुँदै छ । तर, नेकपा (एमाले)ले चुनावमा उठाउने उम्मेदवारहरूबारे एमाले भएर जीवन बिताएका थुप्रै नेता, कार्यकर्ता जानकार छैनन् ।

दशैंको पूर्णिमाको दिन, अर्थात्, असोज २३ गते मनोनयन दर्ता गर्नुपर्ने छ । तर, सर्वसम्मत सिफारिस हुनेदेखि निर्विकल्प भनेर चिनिएका नेतासम्म ओलीको अन्तिम ‘हुकुम’ पर्खिनुपर्ने बाध्यतामा छन् । त्यसैले कसैले पनि खुलेर जनताको बीचमा जान सकेका छैनन् ।

पछिल्ला दिनमा विकसित घटनाक्रमअनुसार नेपाली कांग्रेसबाट शेखर कोइराला समूहले विद्रोह गर्याे र एमालेसँग तालेमल गरेर चुनावमा जाने भयो भने एमालेले आफूसँग केही बढी सीट राखेर कांग्रेससहित नवआगन्तुक उम्मेदवारलाई उठाउने सोच बनाएको छ ।

यदि, त्यसरी कांग्रेसको एउटा खेमासँग एमाले मिल्यो भने एमालेका ८० प्रतिशत पुराना नेताहरू टिकटबाट बञ्चित हुँदैछन् । तर, कांग्रेसको त्यो खेमा आएन भने विभिन्न दल त्याग गरेर एमाले भएकालाई भाग दिँदा पनि एमालेका ५० प्रतिशत पुराना नेता टिकटबाट बञ्चित हुने करिव निश्चित भएको छ ।

कस्तो दृश्य देखिन्छ भने, ओलीभक्त र ओलीलाई ‘साष्टाङ्ग दण्डवत्’ गर्दै आएका अन्य पार्टीका नेताहरूबाहेक असली एमालेजन नै पार्टीले के गर्दैछ भन्नेबारे जानकार छैनन् । अझ रमाइलो त एमालेमै फर्किएका ‘१० भाइ’ मध्ये उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई, भीम रावल, घनश्याम भूसालकै टिकट पक्कापक्की छैन ।

यिनै नेताका पछि लागेर माधवकुमार नेपाल छाडेका अन्य जिल्ला नेता र सांसदहरू पनि टिकटको टुंगोबिना नै दशैँ मान्ने तयारीमा जुटेका छन् । ‘दिए ठिकै छ, नदिए देखाजायगा’ भन्दै उनीहरू उपत्यका छाड्दैछन् । एमालेमा पहिलेदेखि नै ‘भएकाहरू’ भन्दा अहिले प्रवेश गरेकाको बोलवाला बढेकाले अहिले पार्टीका नेता र कार्यकर्ताहरू साँच्चै ‘माऊ बिनाका चल्ला’ झैँ भएका छन् ।

कतिसम्म छ भने प्रहरी महानिरीक्षकबाट अवकाश लिएका सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दा निकै तामझाम देखाइएको छ । यसअघि पार्टी कार्यालयलाई आफ्नै घर दिने मारवाडीको चर्चा गरिएझैँ, कोमल ओली ल्याएर राष्ट्रिय सभाको सांसद दिइएझैँ, पूर्वप्रहरी डिआइजी नवराज सिलवाललाई उनको अनेक बदमासीमा माफ दिएझैँ घरभित्रकालाई बेवास्ता र ‘आयाराम’ हरूलाई मौका दिने काममा इतिहासमै ओलीले गरेको बदमासी अरु कयौँ वर्ष नमेटिने गरी बसिरहने एमालेका एक नेताले दाबी गरे । यद्यपि, एमालेमा आएकाहरूको हालत के हुन्छ भन्ने हेर्न पनि नेता र कार्यकर्ताले केही समय कुर्नुपर्छ ।

अहिले सर्लाहीका खोभारी राय एमालेमा प्रवेश गरेजस्तै कुनैताका भीमकुमार गौचनहरू आएका थिए । उनीहरू अहिले कहाँ छन् ? त्यसपछि माओवादीका प्रभावशाली नेता भनिएका रविन्द्र श्रेष्ठ नै आए, अहिले उनको राजनीतिमा कहीँ कतै खोजी हुँदैन । परिवार दलका नेता एकनाथ ढकाल पनि केपी ओलीको पक्षमा लागेपछि नेपाली राजनीतिबाट पत्तासाफ भए ।

एमालेमा पूर्वप्रहरी र गुण्डा नाइकेहरुको आकर्षण यस्तरी बढाइएको छ कि, गोर्खामा मिलन चक्रे उर्फ मिलन गुरुङलाई टिकट पक्कापक्की जस्तै छ । जबकी, चितवनमा सर्वाधिक मतसहित जितेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई यसपटक टिकट नदिएर ओली आफ्नाभक्त जेएन थपलियालाई अघि सार्न चाहन्छन् । दुई नम्बरमा पनि कृष्णभक्त पोखरेलका ठाउँमा विकल्प खोजिरहेका छन् । अरु त अरु, ३० वर्ष एमालेको विरासत रहेको मकवानपुरमा जसले पटकपटक कमल थापालाई हराए, उनै कृष्ण दाहाल यसपटक ओलीको रोजाइमा नपरेर कमल थापाको प्रचारमा हिँड्नुपर्ने अवस्थामा छन् ।

ओली मकवानपुरका लागि कमल थापा रोज्छन्, तर झापामा राजेन्द्र लिङ्देनको सहयोग चाहिने भएकाले लिङ्देनले त्यहाँ दीपक सिंह उठाउने सम्भावना छ । मकवानपुरमा मात्र होइन, चितवन ३ मा एमालेले राप्रपालाई कोटा बाँडेर विवादास्पद ठेकेदार विक्रम पाण्डे बोक्दै छ ।

एमालेले कसलाई टिकट दिन्छ, को–को नेताले अवसर पाउँछन् भन्ने विषय ओली समूहको कोरटिममा मात्र छलफल हुने गरेको छ । उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालबाहेक अरु पदाधिकारी ओली पक्षकै भनिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललेसमेत मिडियाबाट थाहा पाउने गरेको भनेर बालकोटमै चर्चा हुने गरेको छ ।

एमालेका पदाधिकारीहरू मनको बह पोख्न बेलाबेखत आफ्ना समकालीनहरूलाई फोन गरेर ‘के छ हो समाजवादी हालखबर’ भन्ने गरेका छन् । पार्टीमा कुनै सुनुवाइ नै नहुने र मंसिर ४ गतेसम्म ‘ओली नामको जुजुमानको कोट’ ले काम गरिरहने भन्दै एमालेका पाखा पारिएका नेताहरूले समाजवादीका नेताहरूसँग मनको बह पोख्ने गरेका हुन् ।

‘मंसिर २१ गतेसम्ममा जुजुमानको कोट च्यातिएपछि नयाँ केही होला, अहिलेलाई टेलिभिजन हेर्ने, टिकटक चलाउने, फेसबुकमा लेख्नेबाहेक हाम्रो केही काम छैन,’ एमालेका पदाधिकारीहरूले समाजवादीका नेताहरूलाई फोनमा बताउने गरेका घटना पनि बालकोट पो पुग्छ कि भन्ने भयले उनीहरू आतंकित छन् । ‘जुजुमान’ भन्दा ‘कोट’ को आतंक एमालेमा ओलीले मच्चाइरहेको ती नेताहरू बताउँछन् ।

खासमा दुईतिहाइ बहुमतको नजिक पुगेर पाँच वर्षमा ३ वर्ष एकलौटी सरकार चलाएको नेकपा एमाले केपी ओली समूह यसपटकको निर्वाचनमा के गर्दैछ भनेर धेरैलाई चासो नै छैन ।

सिंगो जनमत कम्युनिष्टको पक्षमा बनाउन मेहनत गरेका अध्यक्ष र त्यतीखेरका प्रधानमन्त्री ओलीले मौका पाउँदा आफ्नो गुट मात्रै पाल्ने काम गरेपछि ओरालो लागेको नेकपा, देश र पछिल्लो समय न्यायालयसम्म पुग्दा एमाले सम्झने फुर्सद जनतालाई पनि कमै छ ।

कुनैबेला ‘माओवादीको जस्तो नेता र एमालेको जस्तो कार्यकर्ता’ भए देश कम्युनिष्टमय बन्छ भन्नेहरू पनि यतिखेर आयातीत नेताहरूको पंक्ति मात्रै एमालेमा जम्मा भएको देखेर कार्यकर्ताको बिचल्ली भएका पनि समवेदित हुन छाडेका छन् । किनभने एमालेमा ओली अध्यक्ष भएपछिका ‘क्रिम कार्यकर्ता’ पनि व्यक्ति गुणगानमा रमाउन नसकेर बहिर्गमनमा परेपछि एमालेको ओरालो यात्राको गति अरु बढेको हो ।

भित्रियाहरू नै दोधारमा
टिकट पाइन्छ र चुनाव लडिन्छ भन्ने कुरामा गोकुल बास्कोटा, महेश बस्नेत, निरुदेवी पाल, विशाल भट्टराई (खोटाङ), शिवमाया तुम्बाहाङ्फे, ऋषिकेश पोखरेल (मोरङ), विद्या भट्टराईजस्ता ओलीका भित्रियाहरू नै ढुक्क छैनन् ।

ओखलढुंगाबाट यज्ञराज सुनुवारले टिकट पाउने छाँट सकिएपछि उनी ईश्वर पोखरेलमार्फत ओलीसँग कुरा गर्न खोजिरहेका छन् । यसबारे ईश्वरले ओलीसँग कुरा राख्दा ‘तपाईं आफ्नोबारे चिन्ता गर्नुस्, अरुको कुरा गर्ने होइन’ भनेर फर्काइदिएका छन् । त्यहाँ ओलीले अम्बिरबाबु गुरुङलाई संघमा उठ्ने गरी तयारी गर्न भनेका छन् ।

भोजपुरबाट यसपटक फेरि शेरधन राईले संघमा टिकट पाउने भएपछि कृपाशुर शेर्पा रनभूलमा परेका छन् । काठमाडौंमा सिफारिस चरणबाटै बाहिर पारिएका रामवीर मानन्धर चुनाव उठ्ने भन्दैछन् । तर, कुनै पार्टी र चुनाव चिह्न भन्ने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्