Logo
Logo

नेपालमा भारतीय गिरोहबाट हत्या कहिलेसम्म ?


2.1k
Shares

काठमाडौं । गोठाटारका गार्मेन्ट व्यापारी लाल मोहम्मदको गोली हानी हत्या भएको एक साता भन्दा धैरै दिन बित्दा पनि प्रहरीले अभियुक्त पत्ता लगाउन त सकेको छैन नै, घटनामा प्रयोग भएको मोटरसाइकलसमेत पहिचान गर्न सकेको छैन ।

यो घटनाले एकातर्फ नेपालमा भारतीय सुटरबाट आक्रमण श्रृङखलाको निरन्तरतालाई देखाएको छ भने अर्काेतर्फ नेपालको सुरक्षा व्यवस्था र नेपाल प्रहरीको कमजोर अनुसन्धान प्रणालीलाई उदांगो बनाइदिएको छ ।

प्रारम्भिक अनुसन्धानमा मोहम्मद भारतविरोधी गतिविधिमा संलग्न भएको र सोही आधारमा उनीमाथि गोली प्रहार भएको प्रहरी आँकलन छ । विगतमा उनी नक्कली नोट कारोबारमा संलग्न थिए । नक्कली नोट कारोबारकै विवादमा एक व्यक्तिको हत्याको अभियोगमा करिब ८ वर्ष जेल बसेर उनी छुटेका थिए । २० असार २०६४ मा अनामनगर–बानेश्वर पुल नजिक बलराम पटुवारको हत्या आरोपमा उनी जेल परेका थिए ।

लालमाथि विगतमा पटक–पटक हत्याको प्रयास भएको थियो । हत्या भएको ३ दिनअघि मात्र पनि उनीमाथि आक्रमण भएको थियो । त्यसपछि उनले प्रहरीमा निवेदन दिएका थिए । त्यती हुँदा पनि उनी जोगिएनन् ।

यो घटनामा भारतीय सुरक्षा अधिकारीको समेत सहयोग भएको चर्चा समेत छ । उनीहरूले आपराधिक समूह नै प्रयोग गरी हत्या गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले सार्वजनिक गरेको सिसिक्योमरा भिडियोमा उनलाई गोली हानी सुटरहरू मोटरसाइकलमा भागेका थिए । तर, उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत फेला परेको छैन । एसएसपी जनकराज भट्टराई नेतृत्वमा छानबिन समिति बने पनि अनुसन्धानमा दख्खल अधिकृत नहुँदा प्रहरीको साख गुमेको छ ।

कहिलेसम्म हत्या श्रृङखला ?
नेपालमा भारतीय अन्डरवल्र्डको दुश्मनी र भारतीय सुरक्षालाई थ्रेट दिएको आरोपमा पटक–पटक भारतीय सुटरबाट हत्या हुँदै आएको छ । ती हत्यामा मुख्य व्यक्तिहरू पक्राउ पर्दैनन्, हत्याका वास्तविक कारण पनि पत्ता लाग्ने गरेका छैनन् ।

यस्ता घटनाले नेपाल अपराधीको क्रिडास्थल बनेको छ भन्ने सन्देश दिएको छ । सँगै नेपाली सुरक्षा निकायको निकम्मापन पनि देखाइदिएको छ ।

यसअघि ४ असोज २०७५ मा यस्तै प्रकृतिको हत्या सुनसरीमा भएको थियो । स्थानीय खुर्सिद अन्सारीमाथि गोली प्रहार गरी हत्या भएको थियो । सुटरलाई पक्राउ गर्न खोज्ने क्रममा सशस्त्र प्रहरीका एक कर्मचारीमाथि समेत गोली प्रहार भएको थियो । खुर्सिद पनि सुरक्षा निकायको वाचलिष्टमा भएका व्यक्ति हुन् ।

घटनालगत्तै एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएपनि चार वर्षसम्म केही पत्ता लाग्न सकेको छैन । उनले भारतमा अपराध गर्ने व्यक्तिहरूलाई जोगाउने गरेको आरोप लागेको छ ।

त्यसअघि २०६९ सालमा काठमाडौंको घण्टाघरमा यस्तो घटना भएको थियो । ८ असोज २०६९ मा इस्लामिक संघका महासचिव फैजान अहमदको गोली हानेर हत्या गरिएको थियो । प्रहरी कार्यालयकै छेउमा पर्ने काठमाडौंको मध्यभागमा त्यसरी गोली हानेर सुटरहरू सहजै भाग्न सफल भएका थिए । अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

सुटरहरूलाई भगाउने ट्याक्सी चालकलाई भारतबाट पक्राउ गर्ने बाहेक प्रहरीले अन्य नाइकेलाई पक्राउ गर्न सकेन । सो हत्यामा छोटा राजन समूहका बब्लु श्रीवास्तवसँग कनेक्सन देखिएको थियो ।

२०६७ सालमा जेलभित्रै समेत घुसेर हत्या प्रयास भयो । जाली नोट कारोबारमा संलग्नताको आरोप लाग्ने युनुस अन्सारीमाथि २६ फागुन २०६७ मा मनमित सिंह नामक सुटरलाई भारतबाट ल्याएर केन्द्रीय कारागार सुन्धाराभित्रै गोली प्रहार भयो ।

अन्डरवेयरभित्र पेस्तोल लुकाएर जेलभित्र उनले अन्सारीलाई गोली हानेका थिए । एक कैदीले रोक्न खोज्ने क्रममा कुममा उनलाई गोली लाग्दा अन्सारी बाँचेका थिए । जेलबाट छुटेपछि अन्सारी पुनः नक्कली नोटसहित पक्राउ परेकोमा हाल जेलमा छन् ।

गोली हान्ने मनमित छुटेर भारत गइसकेका छन् । जाली नोटकै कारोबारमा संलग्न इल्ताफ हुसेन पनि सुन कारोबारको आरोपमा हाल जेलमै छन् ।

नेपालमा अन्डरवल्र्डको द्वन्द्व
२०७० सालको पुसमा बाराको जितपुरमा आफताब अन्सारीको हत्यामा पनि नक्कली भारु जोडिन्छ । त्यतीबेला दुई सुटर पक्राउ परेका थिए । उनीहरूको बयानले पनि अन्डरवल्र्डकै विवादमा हत्या भएको खुलेको थियो ।

२०६४ सालको माघमा लाजिम्पाटमा सञ्चार उद्यमी जमिम शाहको गोली हानी हत्या भएको घटना पनि अझै रहस्यमै छ ।

त्यस्तै, २०६४ सालमा नेपालगञ्जमा पनि भारतीय पक्षबाट हत्या भएको थियो । लालिगुराँस होटलमा १९ असोज २०६४ मा मारिएका मजिद मनिहार पनि नक्कली नोट कारोबारसँग जोडिएका व्यक्ति हुन् । उनलाई होटलको कोठा नम्बर १०५ मा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । उनीमाथि नक्कली भारु कारोबारको आरोप थियो ।

२४ भदौ २०६३ मा बानेश्वरमा भारतीय समूहले कमलसिंह नेपालीको गोली हानी हत्या गरेको थियो । आपराधिक समूहमा लागेको भनेर उनको हत्या भएको थियो । मलेसियामा रोजगारीका लागि गएका नेपालीले दाउन समूहलाई सघाएको आरोपमा छोटा राजन समूहले हत्या गरेको प्रहरी अधिकारीको दाबी छ ।

काठमाडौं सिफलमा ११ असार २०५५ मा सांसद मिर्जा दिलसाद बेगको गोली हानी हत्या भएको थियो । पूर्वमन्त्रीसमेत रहेका वेगलाई छोटा राजन समूहले हत्या गरेको थियो ।

कुनै समय दाउद इब्राहिम र छोटा राजन एउटै समूहमा थिए । मुम्बई बिष्फोटपछि उनीहरू छुटिएका थिए । त्यसपछि छोटा राजन समूहलाई प्रयोग गरी भारतीय सुरक्षा अधिकारीले विभिन्न व्यक्तिको हत्या गराउँदै आएको छ । छोटा राजनको गत वर्ष मृत्यु भइसकेको छ ।

नेपालमा भएका यस्ता सबै घटनाको शैली एकै देखिन्छ । पेशेवर सुटरलाई बोलाउने र उनीहरूलाई सहजै भगाइने गरेको छ । जसले काठमाडौंको सुरक्षा कमजोरी देखाइदिएको छ ।

अझै पनि शंकास्पद व्यक्तिमाथि निगरानी नगर्ने र प्रहरीको व्यवसायिकता नबढाउने हो भने भोलिका दिनमा भारतीय पक्षको हेपाई अझै बढ्ने जोखिम देखिन्छ ।

जमिमका हत्यारा अझै फरार
भारतीय सुटरबाट काठमाडौंमा भएको एउटा हाइप्रोफाइल हत्या घटना संचारउद्यमी जमिम शाहको हत्या हो । घटनाका प्रमुख योजनाकार तथा सुटरहरू १३ वर्ष हुँदा पनि पक्राउ परेका छैनन् ।

२४ माघ ०६६ मा दरबारमार्गको याक एण्ड यती होटलबाट पानीपोखरीस्थित घर जाने क्रममा शाहको लाजिम्पाटमा गोली हानी हत्या भएको थियो ।

घटनाका प्रमुख योजनाकार ब्बलु भनिने दीपक शाही (त्रिलोक सिंह) भएको खुलेपनि प्रहरीले पक्राउ गर्न सकेको छैन । दुई भारतीय सुटर पनि फरार छन् । उनीहरूलाई सहयोग गर्ने नुवाकोटका श्रीकृष्ण पौडेल अझै फरार नै छन् ।

ठमेलमा कार्गाे संचालन गर्ने पौडेले जानीजानी भारतीय समूहलाई सहयोग गरेका थिए । उनको कार्गाेको अफिसमा भारतीय समूहले पेस्तोल लुकाएको थियो ।

सो समूहलाई सहयोग गर्ने पूर्व डिएसपी जगदिश चन्दले सघाएकोमा उनी भने घटनाको ६ वर्षपछि पक्राउ परेका थिए । भारतीय जेलमा रहेका बब्लु श्रीवास्तको निर्देशनमा शाहीले हत्या गरेको नेपाल प्रहरीले अनुसन्धान प्रतिवेदनमा जनाएको छ । तर, किन हत्या भयो भन्नेमा अझै प्रहरीले केही खुलाएको छैन । श्रीवास्तक भारतीय अन्र्डरवल्र्ड छोटा राजन समूहका व्यक्ति हुन् ।

सो हत्याको केही दिनपछि प्रहरीले लक्ष्मण धमला, किशोर खड्का भकभके र नेपाल प्रहरीका सई प्रकाश खड्कालाई पक्राउ गरेको थियो । भारतीय आपराधिक समूहले प्रहरी अधिकारीकै सहयोग लिएर सो हत्या गरेको थियो ।

शाहीलाई पूर्वडिएसपी चन्दले पटकपटक भेटेका थिए । घटनाको अघिल्लो दिन शाहीले चन्दकै अगाडि श्रीवास्तवलाई फोन गरेर डिएसपीसाब पनि स“गै रहेको र कुनै चिन्ता नभएको बताएका थिए ।

केशरमहलको द भ्यू रेष्टृुरेन्टमा हत्याको अघिल्लो दिन स“गै बसेर उनीहरूले घटनालाई अन्तिम रुप दिएका थिए । सई क्षेत्रीले बयानको क्रममा घटनाको बारेमा सबै कुरा चन्दलाई थाहा भएको बताएका थिए ।

स्पेसटाइम नेटवर्क तथा च्यानल नेपाल टेलिभिजनका मालिक रहेका शाहलाई दैनिक निगरानी गरेर हत्या गरिएको थियो । मोटरसाइकलमा पिछा गरेर उनलाई गाडीभित्रै गोली हानिएको थियो । उपचारका क्रममा उनको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । घटनामा शाहका चालक मथुरामान मालाकारसमेत घाइते भएका थिए ।

घटनाका प्रमुख योजनाकार छोटा राजनका सहयोगी बब्लु श्रीवास्तव हुन् । उनी भारतीय जेलमा छन् । उनले दीपक शाहीलाई खटाएर जमिमको हत्या गरेका थिए । शाहीले भारतबाटै सुटर ल्याएर लामो समयसम्म शाहको सूचना जम्मा गरेर हत्या गरेका थिए । घटना लगत्तै सोही समूहका भरत नेपालीले स्पेशटाइमको कार्यालयमा फोन गरेर हत्याको जिम्मेवारी लिएका थिए ।

दीपक शाहीको समूहस“ग पूर्व डिएसपी चन्दको पुरानो चिनजान थियो । चन्दले नक्कली सर्टिफिकेटका आधारमा नेपाल प्रहरीमा जागिर खाएका थिए । त्यसको छानबिन हुन थालेपछि उनले जागिर छाडेका थिए । उनको नक्कली सर्टिफिकेटसमेत बब्लुकै समूहले बनाइदिएको थियो ।

पाल्पा पुख्यौली घर भएका प्रमु्ख योजनाकार शाही पहिला पनि नेपालमा बसोबास गरेका थिए । डिएसपी चन्दस“ग पुरानै चिनजानका आधारमा उनकै प्रमुख सहयोगमा जमिमको हत्यालाई अन्तिम रुप दिएका थिए ।

जमिमको बारेमा सूचना संकलन गर्नेदेखि निगरानी गर्नसमेत उनले सघाएका थिए । घटनाको एक सातासम्म पनि उनी खुलेआम हिडेका थिए । पछि प्रहरीबाटै सूचना चुहाएर उनलाई भगाइएको थियो । शाहीस“गको पटक पटक टेलिफोन सम्पर्कका आधारमा प्रहरीले उनलाई अनुसन्धानमा तानेको थियो ।

प्रतिक्रिया दिनुहोस्