काठमाडौं । नेपाल भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सूचना संयन्त्र बनाउने सहमति भएको छ । सीमा सुरक्षामा खटिएका नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबीच काठमाडौंमा जारी सीमा समन्वय बैठकमा यस्तो सहमति भएको हो ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार नेपालमा बाहिनीमा तथा भारतमा सेक्टरमा एक–एकजना सम्पर्क व्यक्ति तोकेर सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको हो । यद्यपि, यस विषयमा दुवै देशका सरकारबाट निर्णय हुनुपर्छ । ‘आपराधिक सूचनाको आदानप्रदान अहिले पनि हुँदै आएको छ,’ बैठकमा सहभागी एक अधिकारीले भने, ‘अब भने स्थायी संयन्त्र नै बनाएर सीमा अपराधलाई निन्यन्त्रण गर्ने सहमति बनेको हो ।’
बैठकमा नेपालले लागुऔषध तस्करीको नियन्त्रणमा भारतर्फ कडाइ गर्न आग्रह गरेको छ, भारतीय अधिकारीले भने नेपाल हुँदै भारत छिर्ने तेस्रो देशका व्यक्तिको विषयमा चासो लिएका थिए
हरेक वर्ष हुँदै यस्तो समन्वय बैठक मंगलबारदेखि सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा बसिरहेको छ । आन सकिने यस्तो बैठकमा भाग लिन एसएसबीका महानिर्देशक सुजयलाल थाओसेन नेतृत्वको टोली नेपालमा छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका छन् । बैठकमा गृह, परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन् ।
बैठकमा नेपालले लागुऔषध तस्करीको नियन्त्रणमा भारतर्फ कडाइ गर्न आग्रह गरेको छ । भारतका फार्मेसीमा सहज रूपमा बिक्री हुने नियन्त्रित लागुऔषध नेपालमा तस्करी हुने भएकाले त्यसको नियन्त्रणका लागि नेपाली अधिकारीले आग्रह गरेका छन् । ‘चिकित्सकको प्रेस्क्रिप्सन र परिचयपत्रविना नियन्त्रित औषधि बिक्री नगर्न भनेका छौँ,’ बैठकमा सहभागी एक अधिकारीले भने ।
केही वर्षअघिको बैठकमा सीमामा ड्रग इन्स्पेक्टर राख्ने सहमति भए पनि यो कार्यान्वयन हुन सकेको छैन । भारतमा सहजै नियन्त्रित लागुऔषध किन्न पाइने भएकाले त्यसको नेपालमा व्यापक मात्रामा तस्करी हुने गरेको छ ।
बैठकमा भारतीय अधिकारीले भने नेपाल हुँदै भारत छिर्ने तेस्रो देशका व्यक्तिको विषयमा चासो लिएका थिए । भारत हुँदै तेस्रो देशका व्यक्ति नेपाल आउने भएकाले यो विषयमा दुवै देशबाट कडाइको आवश्यकता औँल्याएको छ ।
त्यस्तै, नेपाली पक्षले भारतबाट फर्कने नेपालीलाई सीमामा सहयोग गर्न आग्रह गरेको छ । दसैँमा फर्कने नेपालीलाई सहयोग गर्न हाल सीमामा एक सय १८ हेल्प डेस्क स्थापना भइसकेको छ ।