Logo
Logo

जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन : झलनाथ खनाल


7k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) कहिल्यै पनि मार्गदर्शक नभएको टिप्पणी गरेका छन् ।

खनालको शुक्रबार राजधानीमा विमोचित पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’मा जबज एउटा पुँजीवादी जनवादी कार्यक्रममात्रै भएको उल्लेख गरिएको छ । ‘नेपाली जनवादी क्रान्तिका कार्यक्रमहरु विभिन्न रुपमा आए–नयाँ जनवाद, राष्ट्रिय जनवाद वा जनताको बहुदलीय जनवाद,’ पुस्तकमा भनिएको छ, ‘जे नाम दिए पनि यी सबै पुँजीवादी जनवादी कार्यक्रम नै हुन् । जबज भनेको यसको सम्पूर्ण सामाजिक आर्थिक संरचनाका दृष्टिले एउटा पुँजीवादी जनवादी कार्यक्रम नै हो ।’

नेकपा एमालेले भने जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्छ । अबको समाजवादी क्रान्तिमा समेत यो मागर्दशक हुने एमालेको जिकिर छ । ‘जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन, यो कहिल्यै पनि हाम्रो मार्गदर्शक सिद्धान्त होइन र बनाउन जरुरी पनि थिएन,’ खनालको पुस्तकमा भनिएको छ ।

पुँजीवादी क्रान्ति सम्पन्न भएको र त्यसको सार तत्व समेत संविधानमा समेटिएको विश्लेषण गर्दै उनले अबको कार्यक्रम वैज्ञानिक समाज रहेको उल्लेख गरेका छन् ।

खनालले पुस्तक विमोचन कार्यक्रममा समेत जबज र यसलाई मार्गदर्शक सिद्धान्त मानिरहेको एमालेप्रति टिप्पणी गरेका थिए । ‘नेपालमा पनि समाजवादी क्रान्तिको युगमा प्रवेश गरेको कुरालाई केही कम्युनिष्टहरु मान्छन्, केहीले मान्दैनन्’, उनको भनाइ छ ।

खनालले थप भने, ‘केहीले अहिले जनताको बहुदलयीय जनवाद नै हाम्रो लक्ष्य हो भन्छन् । जनताको शब्द एकछिनलाई हटाइदिएर बहुदलीय जनवाद मात्रै भनौं । यो बहुदलीय जनवाद त अमेरिकामा पनि छ । फ्रान्समा पनि छ । बेलायतमा पनि छ । सारा युरोपभरि बहुदलीय जनवाद नै छ । ल्याटिन र अफ्रिकाका पनि अधिकांश भागमा बहुदलीय जनवाद नै छ । अनि एशियामा पनि समाजवादी मुलुकबाहेक बहुदलयीय जनवाद नै छ ।’

‘अब पुँजीवादी क्रान्ति सम्पन्न गरिसकेका देशमा बहुदलीय जनवादको लक्ष्य लिएर हिँड्ने कम्युनिष्ट पार्टी कस्तो हुन्छ ? त्यसको चरित्र के हो ?,’ खनालले प्रश्न गरे ।

समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने खनालको जिकिर छ । पुस्तकमा उनले समाजवादी क्रान्तिका तीन हतियार भएको उल्लेख गरेका छन् । जसमा उनले शक्तिशाली कम्युनिष्ट पार्टी, संयुक्त मोर्चा र वर्ग संघर्षलाई समेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्