Logo
Logo

चार महिनापछि चौपायाले भरिभराउ बेँसीका फाँटहरू


882
Shares

बागलुङ । हिउँदमा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरूको परम्परा नै हो ।

जेठ अन्तिमदेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका भल्कोटका स्थानीय पशुचौपाया लिएर लेक चढ्छन् । चार महिना बेँसी सुनसान हुन्छ । बर्खा रोकिएर चाडपर्व शुरू भएसँगै उनीहरू बेँसी झर्न शुरू गर्छन् ।

चार महिनादेखि सुनसान भर्कोबाङमा यतिबेला निकै रौनक छाएको छ । वडा नं ६ मा पर्ने भर्कोबाङमा सयौँ वस्तुभाउ र मानिसको चहलपहल छ ।

मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको पहाडको थुम्को (भर्कोबाङ) मा स्थानीयवासीले आफ्ना पशु चौपायालाई लेकबाट झारेका छन् ।

असोज ५ गतेभन्दा अगाडि कसैले पनि बेँसीमा पशु चौपाया झार्न नपाउने नियम छ । मकै भित्राइसकेपछि अहिले यो ठाउँ खुल्ला र हरियाली छ । अब केही दिन स्थानीयका सयौँ पशु चौपाया यहीँ हुनेछन् ।

लेकबाट झरेका सयौँ पशु चौपायाले भर्कोबाङको पाटाहरू भरिएका छन् । ती पाटाहरूमा सयौँको संख्यामा गाई, गोरू, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राहरू निकै रमाइरहेका देखिन्छन् ।

गोठालाहरूले पाटाहरूको छेउछाउतिर गोठ बनाएका छन् । उनीहरू अब केही दिन यहीँ गोठमा दिन रात बिताउने छन् ।

असोज ५ गते भल्कोटवासीले विशेष दिनका रूपमा पनि लिन्छन् । महिनौदेखि परिवारसँग छुटेकाहरू पनि अब भेट हुन्छन् । असोज ५ गते नै अधिकांश गोठलाहरू बेँसी झर्ने गर्छन् भने केही विस्तारै दशैंसम्म आउँछन् ।

स्थानीयवासीले लेक जाँदा महिनौंलाई पुग्ने खर्च बोकेर जाँने हुँदा बेँसी झेरपछि मात्रै परिवारसँग भेट हुने गर्छ । लेकबाट सयौँ पशु चौपाया बेँसी झरेपछि दशैं आएको सन्देश दिन्छ ।

यहाँका एक परिवारले दजनौँ पशु चौपाया पाल्ने गर्छन् । वस्तुभाउलाई घाँस पुर्याउनकै लागि उनीहरू लेकमा लैजाने गर्छन् । करिब चार–पाँच महिना लेकमा बिताउँदा उनीहरूले चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने, घ्यू उत्पादन गर्ने र बेच्ने गर्छन् ।

यसरी नै जीविकोपार्जन गर्दै आएका स्थानीय अहिले पनि परम्परागत पशुपालनमै रम्न चाहन्छन् । स्थानीय वासिन्दाले लेक वैशाखदेखि नै जान पाउने व्यवस्था गरे पनि बेँसी झर्न असोज ५ नै कुर्नु पर्ने नियम बनाएका छन् ।

‘असोज ५ गते बेँसी झर्ने नियम हाम्रा पाकापुर्खाले बनाएका हुन्, हामीले त्यसलाई निरन्तर दिँदै आएका छौँ, ५ गतेभन्दा अगाडि झर्नेलाई कारबाही हुन्छ, जरिवाना गरिन्छ, किनकी यहाँका एकै परिवाले धेरै वस्तुभाउ पाल्छन्’, स्थानीय धनिश्वर बुढाले सुनाए ।

धनिश्वरका अनुसार, पहिला बेसी झार्नेले यहाँ भएको घाँसहरू एक्लै खुवाउँछ, त्यसले गर्दा सबै एकैपटक असोज ५ गते नै बेँसी झर्नु पर्ने नियम छ । कोही ५ गतेभन्दा पछाडि पनि झर्छन् ।

असोज ५ गतेभन्दा पछाडि आउँदा जरिवाना लाग्दैन । धेरैजसो गोठालेहरू असोज ५ मा नै बेँसी झर्छन, ढिलो झर्ने त भेडी गोठालेहरू मात्रै हुन् ।

गोठालाहरू महिनौँलाई पुग्ने खर्चपर्च बोकेर लेक जान्छन् । समय–समयमा गाउँ झर्ने, आफन्त भेट्ने र आवश्यक सामानहरू लिएर फर्किने गर्छन् ।

‘लेकबेँसी गर्ने त हाम्रो परम्परा नै भयो, गाउँलेले धेरै पशु चौपाया पाल्छन्, बाह्रै महिना एकै ठाउँमा राखेर पाल्न सकिन्न, त्यही भएर बर्खामा लेक जान्छौँ, हिउँद्मा बेसी झर्छौं, धनिश्वर सुनाउँछन् ।

धनिश्वर थप्छन्– ‘थोरै चौपाया हुन्थे भने बेँसीमै पनि पाल्न सकिन्थ्यो, धेरै हुँदा समस्या हो, बाउ बाजेले पाल्दै आएको हाम्ले छोड्न पनि भएन, लेक बेँसी गर्ने त हाम्रो लागि नौलो कुरा होइन, रहर भनौँ कि बाध्यता भनौँ, यो त गर्न परिहाल्यो ।’

गाउँका करिब दुई सय गोठाला रोल्पा, रूकुम र बागलुङको सिमाना तथा उच्च पहाडी क्षेत्रमा जाने गर्छन् । उनीहरू गोठ रिग, खोलाखर्क, तिलचनलगायतका ठाउँमा हुन्छन् ।

गाई भैँसी गोठालाहरू केही तल्लो भागमा गोठ बनाएर बस्ने गर्छन् भने भेँडाबाख्रा गोठालाहरू चार हजार दुई सय मिटरको उचाइसम्म पुग्ने गर्छन् ।

चरन क्षेत्रका रूपमा निकै प्रख्यात मानिने रिग, खोलाखर्क क्षेत्र वस्तुभाउ बेँसी झारिएसँगै सुनसान बनेको छ ।

असोज ५ गतेदेखि दशैंसम्म मध्यपहाडी लोकमार्गको भल्कोट–पातीहाल्ने खण्डमा सयौँ गाई, गोरू, भेडाबाख्रा र भैँसीको हुल देखिन्छन् ।

अघिअघि पशुचौपाया, पछिपछि गोठालाहरू निकै ठूलो भारीसहित झरिरहेका हुन्छन् । उनीहरूले गाईवस्तु बाँध्ने किलो, दाम्लो, लत्ता कपडा, ठेकीलगायतका सामानहरू बोकेका हुन्छन् ।

महिनौँ लेकमा बसेर गाउँ झर्दै गरेका उनीहरूको अनुहारमा निकै चमक छाएको देखिन्छ ।

महिनौँ परिवारसँग भेट नभएका उनीहरू ५ गते सबैसँग भेटघाट हुने गर्छन् । घर केही टाढा हुनेहरू भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशु चौपाया झार्न जान्छन् ।

यसवर्ष भेँडापालक तमबहादुर विकले असोज ५ गते नै भेँडा बेसी झारेका छन् । अघिल्लो वर्षहरूमा दशैँको दुई दिन अगाडि मात्र झर्थे ।

तमबहादुर यसवर्ष केही भेँडालाई बजारमा लैजाने हिसाबले छिट्टै बेँसी झरेका हुन् । उनले दशैं बजार छोपेका हुन् । दशैंमा उनले केही भेडाहरु बेचे ।

‘यस वर्ष भेँडा पनि बढे, केहीलाई दशैंको बेला बजारमा लगेर बेच्छु भनेर छिटो झारेको छु । यसपाली २५ वटा भेँडा बेच्ने । धेरै पाल्न पनि सकिन्न’, उनले भने ।

(राष्ट्रिय समाचार समितिको सहयोगमा तयार पारिएको सामग्री ।)

प्रतिक्रिया दिनुहोस्