रुपन्देही । लुम्बिनी विकास कोषले १० मंसिर २०७५ मा पंक्षी महोत्सव आयोजना गरेको थियो । सो अवसरमा सारसलाई लुम्बिनीको ‘नगरपंक्षी’ घोषणा गर्दा नगरबासी दंग भएका थिए ।
धार्मिकग्रन्थ रामायण र सिद्धार्थ गौतमबुद्धको जीवनकथामा समेत सारसको महत्वबारे वर्णन गरिएको छ । तर, अहिले बुद्धजन्मस्थलकै सारस संरक्षकत्वबिहीन छन् । संरक्षणको अभावका कारण दिनप्रतिदिन सारसको संख्या घट्दै गएको छ ।
विश्वभरि बुद्धको प्रचारप्रसार भइरहेको अवस्थामा बुद्धकथाको एक महत्वपूर्ण अध्यायका रुपमा वर्णित सारसको जीवनचक्र बुद्धजन्मस्थल लुम्बिनीमै संकटमा देखिएको छ ।
चरा संरक्षणको क्षेत्रमा काम गर्ने लुम्बिनी ग्रीन युथ क्लबका अध्यक्ष अर्जुन कुर्मीका अनुसार लुम्बिनी विकास कोषको पूर्वी पर्खाल बाहिर प्रायः देखिने दुई दर्जनभन्दा बढी सारसका जोडी पछिल्ला केही वर्षयता हराइरहेका छन् ।
उनका अनुसार लुम्बिनी विकास कोषको उत्तरी भाग लुम्बिनी ग्रामको सिमसार क्षेत्रमा पालिएका सात जोडी सारस पनि देखिन छाडेका छन् । साथै, त्यस आसपासका क्षेत्रमा विचरण गरिरहने सारसको बसाइँ स्थिर छैन ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको भरथापुर, भुजहिया, आमा, सम्मरीमाई गाउँपालिकाको बेतकुइँया र फरेना तथा कोटहीमाई गाउँपालिकाको बोगदिया आदि स्थानका तालतलैया, नदी–खोला र सिमसार क्षेत्र सुख्खायाममा सुक्ने गरेकाले सारस चल्ला कोरल्ने बेला अन्यत्र जाने गरेका छन् ।
कपिलवस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा सारस पाइने गरेको छ ।
स्थानीय सञ्चारकर्मी अञ्जना चौहानका अनुसार पहिले एकै स्थानमा ठूलो बथानमा सारस सजिलै देख्न पाइन्थ्यो । तर, अहिले त्यस्तो कमै देखिन्छ । बढ्दो सहरीकरणले सारसलाई विस्थापित गराएको उनको तर्क छ ।
हिमाली प्रकृति नामक संस्थानले सन् २०२२ को मार्चमा गरेको एक अध्ययनअनुसार रूपन्देही र कपिलवस्तु जिल्लामा सारसको कूल संख्या ३५४ रहेको थियो जबकि सन् २०२० मा नेपालमा सारसको संख्या ४ सय ४ र सन् २०२१ मा तीन सय ९४ थियो । तर, अहिले त्यो संख्या प्रतिदिन घट्दै गएको छ ।
संस्थानका कार्यक्रम निर्देशक डा सुदीप सुवेदीले विद्युतीय सञ्जाल, बढ्दो सहरीकरण, कोलाहल, औद्योगिक प्रदूषण, चोरी सिकारी, खेतीमा विषादीको अन्धाधुन्ध प्रयोग र सिमसार क्षेत्रमा मान्छेको व्यापक हस्तक्षेपका कारण बासस्थान असुरक्षित हुँदै गएपछि सारसको संख्या घट्दै गएको बताए ।
सिमसार, खेतबारी र घाँसे मैदानमा बस्न रूचाउँने सारस पक्षी कीरा फट्याङ्ग्रा आहार गर्ने भएकाले बालीनालीमा समेत फाइदा पुग्ने गरेको उनको भनाइ छ । सुवेदी भन्छन्, ‘खेतबारीमा अत्यधिक कीटनाशक औषधिको प्रयोगले सारसको प्रजनन क्षमतामा समेत असर पु¥याइरहेको छ ।’
सारसले प्रायः असार–साउनमा ओथारो बस्ने, चल्ला कोरल्ने गर्दछ । सम्मरीमाइ–७ का अगुवा किसान अशोक त्रिपाठीका अनुसार लामो डाँठ हुने कालानमक, कनकजिरा, गौरिया, बासमतीलगायतका रैथाने धानखेतीमा सारसले गुँड बनाउन रुचाउँछन । तर, पछिल्ला वर्षमा ती लामो डाँठेधान विस्थापित भएपछि सारसलाई सुरक्षित बासस्थलको समस्या भएको छ ।
हुन त अहिले बुद्धजन्मस्थल लुम्बिनीमा सारसको संख्या राम्रै छ । तैपनि सुख्खायाममा नदी, खोलानाला, तालतालैया लगायतका सिमसार क्षेत्र सुक्ने गरेका कारण सारसको वंश वृद्धिमा नकारात्मक असर परिरहेको पक्षी विद्हरूको भनाइ छ ।
पछिल्लो पाँच वर्षमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ को आमागाउँ आसपासमा मात्र करेन्ट लागेर ७ सारस मरेको नेचर कन्जरभेसन फाउन्डेसनका कैलाश जयसवालले बताए । उनका अनुसार जाडोयाममा कुहिरो लागेका बेला बिजुलीको नाङ्गो तारमा ठोक्किँएर धेरैजसो सारस मर्ने गरेका छन् । प्रसारण लाइनको नाङ्गोतारमा ठोक्किँएर नगरपालिका क्षेत्रमा मात्र बर्सेनि सरदर ६ जोडी सारस मर्ने गरेको उनको भनाइ छ ।
सारसलाई विश्वमै अग्लो उड्ने चरा मानिन्छ । ६ फिटसम्म अग्लो र साढे तीन किलो तौलको हुने सारसले पखेटा फैलाउँदा दुबै पखेटाको लम्बाइ आठ फिटसम्म पुग्छ ।
जयसवालका अनुसार सजिलैसँग उड्न नसक्ने शारीरिक अवस्थाका कारण नेपालको एक संरक्षित पक्षी सारस करेन्ट लागेर मर्ने गरेका छन् । चरा संवेदनशील क्षेत्र जोगाउन तारमा करेन्ट नलाग्ने गरी इन्सुलेट गर्ने, तारमा रिफ्लेक्टर राख्ने, तथा नाङ्गो बिजुलीको तार विस्थापित गरी प्लास्टिकले बेरिएको अत्याधुनिक केबुल हाल्नेजस्ता उपाय अपनाएर सारसलगायत पक्षी जोगाउन सकिने उनको भनाइ छ ।
सारसको भाले वा पोथीमध्ये एउटाको मृत्यु भएमा अर्कोले नयाँ जोडी बनाउँदैन । सकेसम्म एक्लै बस्ने अथवा छिटो प्राणत्याग गर्ने गर्छन् ।
सिद्धार्थ गौतम (बुद्ध)को जीवनीमा सारसको प्रसंग महत्वपूर्ण छ । नातामा दाजुपर्ने आफ्ना मामाको छोरा देवदत्तले प्रहार गरेको बाँण लागेर घाइते सारसलाई राजा शुद्धोधनको न्यायालयमा उभिएर राजकुमार सिद्धार्थ (पछि बुद्धत्व प्राप्त गरेपछि उनी गौतमबुद्ध बने)ले जीवनरक्षा गरेका थिए ।
हिन्दूहरूको सबैभन्दा आस्थाको धार्मिकग्रन्थ रामायणका रचनाकार महर्षि वाल्मीकिले सारसको जोडीको वियोगान्त कथाबाट छन्द निर्माणको प्रेरणा पाएको धार्मिक कथन छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बरईले भन्छन्, ‘बाल्मिकीले रचना गर्नुभएको रामायणको आरम्भ नै सारस (क्रौन्ची) जोडीको वियोगमा आधारित रहेको मानिन्छ ।’
राजकुमार सिद्धार्थले घाइते सारसलाई जीवनदान दिएदेखि नै बुद्ध जन्मस्थलमा सारसको बाक्लो बासस्थान सुरु भएको मानिन्छ । अधिकारकर्मी तथा नागरिक अगुवा कपिलबस्तुका रामदयाल ठाकुर भन्छन्, ‘सारस ‘बुद्धपक्षी’ हो, यसको रक्षा गर्नु हाम्रो धर्म हो ।’
गत वर्ष मंसिर १० गते लुम्बिनी विकास कोषले आयोजना गरेको पक्षी महोत्सवमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगरपक्षी घोषणा गर्दै लुम्बिनीका तत्कालीन नगर प्रमुख मनमोहन चौधरीले भनेका थिए, ‘भगवान बुद्ध र सारसबीच विशेष सम्बन्ध छ । त्यसैले हामीले सारसलाई नगरपक्षी घोषणा गरेका हौँ ।’
सरकारले नेपालमा पाइने ८९० प्रजातिका चराचुरुङ्गीमध्ये सारसलाई अतिसंवेदनशील प्रजातिमा सूचीकृत गरेको छ । नेपालमा हाल सारसको संख्या तीन सयभन्दा बढीको हाराहारीमा रहेको पक्षीविद्हरूको अनुमान छ ।
नेपाल पक्षी संरक्षण संघका परियोजना अधिकृत भूपाल नेपालीले लुम्बिनीमा मात्रै दुई ५० को हाराहारीमा सारस रहेको बताउँछन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा सारसलाई दुर्लभ पक्षीका रुपमा सूचीकृत गरेको छ ।
लुम्बिनी विकास कोष र क्रेन फाउन्डेसनको सहकार्यमा सन् १९९४ देखि लुम्बिनीमा सारस संरक्षण अभियान समेत सञ्चालन गर्दै आएको छ ।
अमेरिकाको अन्तर्राष्ट्रिय क्रेन फाउन्डेसनले सन् १९९४, डिसेम्बर २५ मा लुम्बिनी विकास कोषसँग सम्झौता गरेर सारस संरक्षणका लागि कोषअन्तर्गतको एक हजार १५५ बिघामध्ये लुम्बिनी ग्राम क्षेत्रभित्र पर्ने दुई सय ५६ एकड (१५३ बिहा) जमिन ५० वर्षका लागि भाडामा लिएको छ । तर, सारस आरक्षको अवस्था ज्यूँका त्यूँ छ ।
नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सारसलाई संरक्षित पक्षीको रुपमा अनुसूची १ मा सूचीकृत गरेको छ । साइटिस सन्धिले अनुसूची २ र आइयुसिएनले रातो किताबमा सारसलाई संवेदनशील पक्षीको सूचीमा राखेको छ ।
चरा विज्ञहरूका अनुसार नेपालसँगै अस्ट्रेलिया, कम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा सारस पाइने गर्छन् । विश्वमा १५ प्रजातिका सारस पाइने गरेका छन् भने नेपालमा चार प्रजातिका सारस पाइन्छन् । नेपालमा पाइने प्रजातिमा क¥याङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस क्रेन हुन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सारसलगायत दुर्लभ पक्षीको सिकार गर्ने व्यक्तिलाई १५ हजारदेखि ३० हजारसम्म जरिवाना वा तीनदेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
(यो सामग्री राष्ट्रिय समाचार समितिले तयार पारेको आलेखबाट तयार पारिएको हो)