पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिका–८ स्थित ‘ल्वाङ गाउँ’ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ ।
सांस्कृतिक पहिचान झल्कने गुरूङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुछ्रे हिमशृङ्खला यस गाउँका आकर्षण हुन् ।
तर पछिल्लो समय भने पर्यटकलाई आर्कषण गर्ने यस गाउँको अर्को विशेषता पनि थपिएको छ- सुन्दर चियाबारी ।
पूर्वी पहाडको चियाबगानको झझल्को मेटाउने यही चियाबारीका कारण पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।
पोखरादेखि २० किलोमिटरको दूरी पुगिने ल्वाङ गाउँ समुद्र सतहदेखि एक हजार चार सय मिटरको उचाइमा छ । ल्वाङ पुग्न यातायातको सहजताले पनि अहिले घुम्न जाने पर्यटकलाई सहज बनेको छ ।
उक्त गाउँमा २०४६ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’ले वातावरण, पूर्वाधार विकास गर्ने कार्यक्रमअन्तर्गत स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रम लगेसँगै स्थानीयको सक्रियता पनि बढ्न थालेको पाइन्छ ।
स्थानीय हितकाजी गुरूङका अनुसार २०५३ सालतिर स्थानीयको एक टोलीलाई एक्यापले नेपालको पूर्वहुँदै दार्जिलिङसम्म अध्ययन अवलोकनका लगेको थियो ।
पूर्वमा चियाबारीको आकर्षण देखेर फर्केपछि ल्वाङको माटोमा पनि चियाखेती हुन सक्छ भनेर एक्यापले नै माटो र मौसमको परीक्षण गरायो । परीक्षणले उपयुक्त देखाएपछि एक्यापले उक्त गाउँमा २०५३–५४ सालतिर चियाको बिरूवा रोपेको हो ।
चियाका बिरूवा राम्ररी हुर्कंदै गएपछि स्थानीयबीच छलफल गराएर व्यावसायिक चियाखेती गर्न एक्यापले उनीहरूलाईनै प्रेरित गर्यो । निःशुल्क बेर्ना उपलब्ध गरायो । स्थानीय उत्साहित भएर चियाको बिरूवा रोप्न थाले । मलिलो माटोमा राम्रो उत्पादन हुन थालेपछि यसलाई सहकारीमार्फत सञ्चालन गर्न थालियो ।
कास्की प्राकृतिक पर्यटनमा अनुपम उपहार हो । यहाँको पर्यटनमा अर्को आकर्षण बनेको छ, पोखरा नजिकै रहेको ल्वाङ गाउँको चियाबारी । चियाबारी घुम्न इलाम पुग्न नसकेकाहरू यहाँ पुगेर धित मार्छन् ।
चियाको उत्पादन सुरू हुन थालेपछि २०६० सालमा अन्नपूर्ण चिया उत्पादक सहकारी संस्थामार्फत् सहकारीले चिया उत्पादन गर्न थाल्यो । तर, पछिल्लो समय सहकारी व्यवस्थापन एवं बजारीकरणमा समस्या हुन थालेपछि स्थानीय हितकाजी गुरूङले ३० वर्षका लागि भाडामा लिएर एकल स्वामित्वबाट ‘ल्वाङ टि स्टेट प्राली’ सञ्चालन गर्दै आएका छन् ।
‘सहकारीबाट अलि समस्या देखियो अनि अहिले एकल स्वामित्वबाट सञ्चालन गरेका छौँ’, गुरूङले भने । ‘अहिले उत्पादन राम्रो छ, स्वदेशभन्दा विदेशमा बढी जान्छ । बीचमा कोरोना महामारीले भने निकै नोक्सान पुर्यायो । अहिले राम्रो हुँदै गएको छ ।’
उहाँका अनुसार करिब एक हजार दुई सय रोपनीमा चियाबारी फैलिएको छ । त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक अहिले चियाबारी अवलोकन गर्छन् ।
यहाँ वार्षिक उत्पादन एक हजार दुई सयदेखि १५ हजार केजीसम्म हुने गरेको छ । अहिले सो गाउँको चिया युरोपमा निर्यात हुन्छ भने यसको केही मात्रा स्थानीय बजारमा पनि पुग्ने गरेको छ ।
चियालाई तीन ग्रेडबाट छुटयाइएको प्रालीका व्यवस्थापक छत्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार एसएफटी, टिजिएफ ओपी, पिडी गरेर तीन ग्रेडमा वर्गीकरण गरिन्छ ।
प्रतिकिलो चियाको पहिलो दुई हजार पाँच सय, दोस्रो एक हजार पाँच सय र तेस्रो पाँच–सात सय रूपैयाँमा बिक्रीवितरण हुन्छ ।
उत्पादित चियालाई स्थानीय बजारमा भन्दा विदेशमा नै पठाउन सहज हुने भएकाले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरिएको छ । नेपाली बजारमा लगानी बढी गर्नुपर्ने, ‘प्याकेजिङ कस्ट’ पनि बढी पर्ने भएकाले प्रशोधन गरेर पहिलो चरणमै कार्टुनबाट विदेश निर्यात गर्न गरिएको बस्नेतले बताए ।
ल्वाङ घुम्न आउने अधिकांशले चियाबारी घुम्ने उद्योगमा आएर चिया किनेर कोसेलीका रूपमा लाने गर्दछन् । घुम्न आउने प्रायःआफन्तलाई ग्रिन टी, ब्ल्याक टी कोसेली बोकेर जाने गर्छन् ।
चिया उद्योगमा दैनिक ज्यालादारीमा स्थानीयले २५ देखि ३० जनाले रोजगारीमेत पाएका छन् । उत्पादित चिया वार्षिक चार–पाँच हजार केजी विदेश निर्यात हुन्छ ।
उत्पादन राम्रो हुने भनिए पनि प्राविधिक ज्ञान र आधुनिक प्रविधिको अभावले सोचेजस्तो प्रतिफल पाउन अझै नसकेको उनको गुनासो छ ।
चियाखेतीले अहिले ल्वाङलाई आत्मनिर्भर हुने एउटा राम्रो माध्यम पनि बनाइदिएको छ । चियाबारीले जति धेरै पर्यटक लोभ्याउँदै जान्छ त्यति नै आयआर्जनको माध्यम पनि बन्दै गएको छ ।
गाउँमा पर्यटक भित्रिन थालेसँगै घरघरमा होमस्टे बनाएर पर्यटक भित्र्याउन स्थानीय सफल भएका छन् । अहिले उक्त गाउँमा ल्वाङ सामुदायिक होमस्टे पनि सञ्चालनमा छ ।
गुरूङ परम्पराअनुसार पाहुनालाई फुलमाला लगाएर स्वागत गरेसँगै सुन्दर गाउँमा पर्यटक रमाउने गरेको होमस्टेका सचिव तीर्थ गुरूङले बताए ।
उनका अनुसार २१ वटा घरमा होमस्टे सञ्चालनमा छन् र यहाँ दुई सय ५० देखि तीन सय जना पाहुनालाई आतिथ्य प्रदान गर्न सकिन्छ ।
होमस्टेको २०२१ सालको तथ्याङ्कमा ११ हजार दुई सय १६ आन्तरिक र बाह्य १८ जना पर्यटकले भ्रमण गरेका उल्लेख छ । कोरोनाका कारण सुस्ताए पनि अब विस्तारै पर्यटक भित्रिँदै जाने विश्वास गुरूङको छ ।
ल्वाङमा करिब ६० घर गुरूङ समुदायका छन् । मिलेको बस्ती, सुन्दर चियाबारीका कारण उक्त ठाउँमा फिल्म एवं म्युजिक भिडियो सुटिङ गर्न तथा कवि एवं साहित्यकारले आफ्ना सिर्जना प्रस्तुत गर्न पनि यहाँ पुग्ने गरेका छन् ।
यहाँका स्थानीय पछिल्लो समयमा उक्त स्थानको पर्यटन प्रवद्र्धन हुँदै गएकामा खुसी भएका छन् ।
(तस्बिरहरू युट्युव च्यानल ‘यात्री’बाट साभार गरिएका हुन् ।)