Logo
Logo
गन्तव्य

सुदूरपश्चिममा के छैन ?


945
Shares

काठमाडौं । सुदूरपश्चिम पर्यटकीय सम्पदाले भरिपूर्ण छ । तर, प्रचारप्रसारको अभावका कारण सुदूरपश्चिमका ती पर्यटकीय क्षेत्रहरुमा चहलपहल पाइँदैन । कैलाली र कञ्चनपुर भएर आउने पर्यटकको संख्या वृद्धि भएपनि ती पर्यटक सुदुरपश्चिम भ्रमणमा आउँदैनन् ।

अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्यांकअनुसार बर्सेनि प्रदेशमा विदेशी पर्यटक दिनप्रतिदिन बढ्दै गइरहको छ । भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकको नजरमा अझै पर्न सकेको छैन सुदूरपश्चिमका पर्यटकीयस्थलहरु ।

सुदूरपश्चिम भएर काठमाडौं, पोखरा, रारा, मनाङ, मुस्ताङलगायत स्थानबाट घुम्न जाने पर्यटकको संख्ण्यामा वृद्धि हुँदै गएको छ । तर, तेस्रो मुलुकबाट आउने पर्यटकको संख्यामा भने बृद्धि हुन सकेको छैन । अध्यागमन कार्यालय कैलालीका अनुसार भारतीय पर्यटक भने महिनामा करिब तीन सय÷चार सयको हाराहारीमा आउने गरेका छन् ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट समेत तेस्रो मुलुकका पर्यटकको संख्या बढ्न सकेको छैन । तिनीहरूमध्ये अधिकांश पर्यटक सुदूरपश्चिमका पर्यटकीयस्थल छोडेर पूर्वका पोखरा, लुम्बिनी र काठमाडौँ जाने गरेका छन् ।

पर्यटकीयस्थलको प्रचार प्रसारका लागि उल्लेख्य प्रयास नभएकै कारण विदेशी पर्यटकको रोजाइमा सुदूरपश्चिम पर्न नसकेको स्थानीय बताउँछन् । प्रदेशमा बाह्य पर्यटक टिकाउन प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्ने, प्रदेशका पर्यटकीयस्थलको प्रचार प्रसारका लागि पर्चा, पम्प्लेट र विभिन्न होडिङ बोर्डहरू लगाउनुपर्ने उनीहरुको सुझाव छ ।

सुदूरपश्चिममा के छैन ?
सुदूरपश्चिममा धेरै मन लोभ्याउने स्थानहरु छन् । तर, तिनीहरुको पहिचान भएको छैन । प्रदेशका पर्यटकीयस्थललाई लक्षित गरेर कार्यक्रम नहुँदा यहाँका पर्यटकीयस्थल जति सबै ओझेलमा परेको स्थानीय बताउँछन् ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीका अनुसार प्रदेशको विकासका लागि सरकार गम्भीर छ । योजना बनाएरै प्रदेशका पर्यटकीयस्थलको प्रवद्र्धनमा लाग्ने र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

सुदूरपश्चिममा यस्ता धेरै ठाउँहरू छन्, जुन ठाउँले पर्यटकको मन लोभ्याउँछ । सुन्दर सुदूरपश्चिम प्रदेशमा हिमालका टाकुरादेखि पहाडका रमाइला फाँट, उपत्यका, भित्रीमधेश र तराईका हरिया फाँटहरू, हिमशृँखलालगायत धेरैै ठाउँहरू छन् ।

नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुल सुदूरपश्चिम प्रदेशलाई अरु प्रदेशसँग तराईका अन्य जिल्लासँग जोड्ने काम मात्र गरेको छैन, धेरैको मन लोभ्याएको छ । सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछासँगै ¥याफ्टिङ आनन्दका लागि यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।

कैलालीको लम्कीदेखि करिब १७ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिका–७ स्थित राजकाँडामा सूर्योदयको दृश्य नजिकैबाट देख्न सकिन्छ । हावापानीका दृष्टिकोणले पनि उपयुक्त रहेको उक्त क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गइरहेको छ ।

पर्यटकका लागि अर्को आकर्षणको थलो बनेको छ टीकापुर पार्क । करिब पाँच बिघा जमिनमा फैलिएको यस पार्कमा ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन् । यो पार्क विशेषगरी पिकनिक खान आउने पर्यटकका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ ।

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी तालमा रमाउन जाने पर्यटकको संख्याको पनि कमी छैन । हत्केला आकारको यो तालका १९ वटा उपताल छन् । करिब २ सय ४५ प्रजातिका चराचुरुंगी, गोही, पानी हाँस, जंगली धानलगायतका लागि यो क्षेत्र रमणीय र आकर्षक मानिन्छ ।

कैलालीको चुरे गाउँपालिकाको खैरालास्थित गर्वा दरबार सुदूरपश्चिममै एकमात्र राणाकालीन दरबार हो । विसं १९८२ सालमा निर्माण गरिएको उक्त दरबार हाल जीर्ण अवस्थामा छ ।

कैलालीमा रहेका सानाठूला गरी १९३ ताल तलैया पनि यहाँका प्रमुख आकर्षण हुन् । कोइलाही कोइलहुवा ताल, जोगनिया ताल, महादेवा ताल, जाखौर ताल, बेला ताल पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बनेका छन् ।

धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादा होमस्टेले आन्तरिक पर्यटकलाई आकर्षण गरेको छ । गाउँ तथा थारू समुदायका जनजीवनलगायत विशेष खानेकुराका परिकारले पर्यटकको मन लोभ्याउने गर्छ । कैलाली जिल्लाको गोदावरीमा रहेको नेपालकै ठूलो हनुमानको मूर्ति हेर्नेहरूको घुइँचो लाग्छ ।

गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाडा प्राकृतिकरूपमा मनोरम स्थल हो । चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । यहाँ प्रायः गर्मी मौसममा गर्मी छल्न आन्तरिक पर्यटक आउने गर्छन् ।

कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव–जन्तु पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ ।

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा रहेको शिवलिंगको स्वरुप जस्तै पहाडका डाँडा लिंगामा पनि धार्मिक पर्यटकको गन्तव्य बनेको छ । लिंगाबाट करिब ६ किलोमिटर उत्तरतर्फ डडेल्धुरा र कञ्चनपुरको सीमा छुट्याउने चुरे पहाडको तल बेतकोट तालको अवलोकन गर्न सकिन्छ ।

कञ्चनपुर जिल्लामा रहेको दोधारा–चाँदनी पुल पनि नेपालकै लामो झोलुङ्गे पुल हो । यसले नेपाल पारिका दुई ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ ।

यहाँ बर्सेनि हजारौँ स्थानीय र बाह्य पर्यटक दोधारा–चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन् । कञ्चनपुरमा रहेको सिद्धबाबाको मन्दिरमा पूर्णागिरिको दर्शन गरी आउने भारतीय धार्मिक पर्यटकको पनि घुइँचो लाग्छ ।

डडेल्धुराका प्रसिद्ध मन्दिरमा उग्रतारा मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् पर्शुरामको मन्दिर हुन् । उग्रतारालाई सुदूरपश्चिमकै ठूलो शक्तिपीठ मानिन्छ भने घटाल स्थानमा रहेको घटाल बाबाको मन्दिरको दर्शनबाट मनोकाँक्षा पूरा हुने जनविश्वास छ । यहाँ असोज कात्तिक, दसैँ र वैशाख बिसुका बेला मेला लाग्ने गर्छ ।

यस्तै, डडेल्धुराको ऐतिहासिक किल्ला हो अमरगढी किल्ला । यो किल्ला ६५०० फिट अग्लो स्थानमा रहेको छ । ऐतिहासिक दृष्टिले यो किल्ला महत्वपूर्ण मानिन्छ । यो किल्लाको अवलोकन गर्नका लागि पनि पर्यटकको घुइँचो लाग्छ । डडेल्धुराको अजयमेरू गाउँपालिकामा रहेको अजयमेरूकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ ।

यस्तै, डोटी जिल्लामा पनि घुम्न लायकका ठाउँहरू प्रसस्तै छन् । शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफालाई अखङ्गाल गुफा पनि भनिन्छ । सेती नदीमा हुने जलयात्राले धेरै आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गर्छ ।

सलगढीमा अवस्थित शैलेश्वरी माताको मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिकस्थलका रूपमा रहेको छ । सदरमुकामबाट एक सय ५० किमी दक्षिणतर्फ रहेको बड्डी केदार धाम धार्मिक पर्यटन र जटीबुटीको प्रचुर सम्भावना रहेको छ ।

बैतडीमा रहेका प्रसिद्ध भगवतीका मन्दिरमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्णमन्दिर, शिवनाथ मन्दिर पर्यटकीय आकर्षणका स्थलहरु हुन् ।

जिल्लाको तल्लो स्वराडअन्तर्गत पर्ने महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकारजस्तै बनेको अति सुन्दर मैदानमा अवस्थित प्रसिद्ध मेलौलीको मन्दिर पर्यटकको रोजाइ बनेको छ ।

यहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । देहीमाडौँमा अवस्थित निङ्गलासैनी मन्दिरमा टाढाटाढाबाट भक्तजन र पर्यटकहरू आउने गर्छन् । पाताल भूमेश्वरजस्ता धार्मिक पर्यटकीयस्थल पनि बैतडीमै पर्छन् ।

सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा अवस्थित रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने क्षेत्र हो । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकको मन प्रफुल्ल हुन्छ ।

समुद्री सतहबाट दुई हजार ७ सयदेखि तीन हजार दुई सय २७ मिटरसम्मको उचाइमा दुई सय २५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वकै एक दुर्लभ दलदले घाँसे मैदान हो ।

बाह्र बण्ड, अठार खण्डका नामले चिनिने अछाम जिल्लाको रामारोशन प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय ठाउँ हो । यहाँ १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ भने गुफा र झरना छन् ।

अछामको बूढीगंगा नदीको दायाँ तटमा वैद्यनाथ मन्दिर अवस्थित छ । स्खण्ड पुराणअनुसार देवी पार्वतीको विवाह भगवान शिवसँग भएको यो प्रख्यात ठाउँ हो । वैद्यनाथ धाम चार मुख्य धार्मिकस्थल (कैलाश, मनसरोवर, खोचरनाथ, वैद्यनाथ) मध्ये एक हो ।

बाजुराको बडिमालिका सुदूरपश्मिको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हो । भूस्वर्गको उपमा पाएको बडिमालिका नेपालकै उत्कृष्ट गन्तव्य मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्य बडिमालिकाका गहना हुन् ।

बुढीनन्दा, छेडेदह पनि यहाँका घुम्नलायक ठाउँ हुन् । दार्चुलाको अपि हिमाल (७,१३२ मिटर) आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ । अपि र नम्पा हिमालसँगै रिङ्देपानी, कायाकोर, कालीढुंगा र बबईलगायतका हिउँचुली लहरै छन् । त्यहाँ हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु आदि पाइन्छन् भने डाँफे, मुनाललगायतका चरा समेत देख्न सकिन्छ ।

प्राचीन समयमा ऋषिमुनीहरूले कैलाशपतिको कष्टसाध्य तपस्या गरेर लोकहितका अनेक कृयाकलापका लागि शिव–पार्वतीलाई खुशी तुल्याएको क्षेत्र हो बाजुराको तपोवन ।

राष्ट्रकै सातौं धामको मान्यता पाएको मालिकार्जुन शिव भगवानको बासस्थान हो भने शैल्यशिखर व्रतालुहरूका लागि तपोभूमिका रूपमा वर्णित छ । दार्चुला र बैतडीको सीमा छुट्याएर बग्ने चौलानी नदीको किनारमा अवस्थित सुन्दर नगर गोकुलेश्वरको धार्मिक तथा पर्यटकीय महत्व छ ।

नेपालको पहिचान बोकेको र अन्य समुदायभन्दा फरक सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको पश्चिमोत्तर कुनामा पर्छ । दार्चुलाको अर्को अति रमणीय ठाउँ हो, घुसा खण्डेश्वरी । अपि हिमालको काखमा बसेको सुन्दर घुसार र खण्डेश्वरी पर्यटकका लागि ‘भर्जिन’ स्थल हुन् ।

नेपालकै शिक्षामा अग्रणी भूमिका निर्वाह गर्ने बझाङ जिल्ला जयपृथ्वीबहादुर सिंह जस्ता मानवतावादी राजा, शिक्षाप्रेमी तथा पत्रकारका कारणले पनि प्रख्यात छ । बझाङ्गी राजाको कोट (दरबार)को ऐतिहासिक महत्व छ ।

सुर्माभवानी जात्रा एघारौँ शताब्दीबाट सुरु भएको मानिन्छ । सुर्मासरोवर जात्राले धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेपनि प्रचारप्रसार हुन नसकेको स्थानीयवासी बताउँछन् ।

यस्ता पर्याप्त पर्यटकीय सम्भावना रहेपनि सुदूरपश्चिम पर्यटकका लागि गन्तव्य बन्न सकेको छैन । पूर्वाधार विकास र प्रचारप्रसारको कमीले यहाँ पर्यटक आउन नसकेका हुन् । पर्यटकलाई आकर्षित गर्न सरकारी तथा निजी क्षेत्रले प्रभावकारी कार्यक्रम ल्याएका छैनन् ।

प्राकृतिक क्षेत्रको अवलोकनका लागि आउने पर्यटकलाई आवतजावतका लागि यातायातको सुविधा नहुनु, सबै जिल्लामा विमानस्थल सञ्चालन नहुनु, सञ्चालन भएका स्थानमा महँगो हवाइ भाडा, पर्यटकलाई उद्धारको व्यवस्था नहुँदा सुदू्रपश्चि पर्यटकका लागि अझै दूर बनेको छ ।

(राष्ट्रिय समाचार समितिको सहयोगमा तयार पारिएको सामग्री ।)

प्रतिक्रिया दिनुहोस्