Logo
Logo

युवा पश्चिमा संगीतमा मस्त, मौलिक देउडाले अस्तित्व गुमाउँदै


1.9k
Shares

भर्खरै गौण्या भेट भयो, बौला झल्का रेल
कोइ पनि बिरानु छैन, हाम्रा टुँडिखेल

बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् ।

बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो । देउडा सुरू भएपछि वरिपरि झुम्मिनेहरू पनि हजारौँको संख्यामा हुन्थे ।

पाटादेवलको चौरदेखि खापरमाडौँसम्मै दर्जनौँ ठाउँमा यसरी नै देउडा चल्थ्यो । बझाङ्गी देउडियाले सुरूआत गरेपछि बाजुरेली देउडियाले यसरी डेउडाकै माध्यमबाट फर्काउथे ।

पिलाली तिरखुलो हाली, पेल्दा पेल्दै भया
हौसिया दाजुका खेल, खेल्दाखेल्दै भया

दुई पक्षबीच सुरुमा भेट हँदा स्वागतका यस्तै हरफपछि निरन्तर रातभर देउडामै सुख, दुःख, रहनसहनदेखि पारिवारिक कुराकानी, विहेबारीका कुराकानीसमेत देउडामै हुन्थे ।

खप्तडछान्ना गाउँपालिका–५ का देउडा गायक डबल पाध्याय भन्छन्, ‘सैन्डाँडा र दशहराको देउडाले देउडियालाई मात्रै होइन, दुई जिल्लालाई नै प्रेममा बाँध्यो । रहनसहन, संस्कार र व्यवहारलाई समेत देउडामार्फत् साटिन्थ्यो ।’

वर्षको एक पटक मात्रै भेट हुने मेलामा देउडिया दोस्रो वर्षको पर्खाइमा हुने गरेको उनी सम्झन्छन् । ‘अघिल्लो पटक जवाफ दिन नपाएका दोस्रो वर्षको पर्खाइमा हुन्थे’, विगत सम्झे, ‘हाम्रा त्यो बेलाका देउडिया साथीहरूसँग अहिले पनि सौहार्दपूर्ण तरिकाले कुराकानी हुन्छ तर, अहिलेको पिँढी भने त्यसप्रति चासो नै देखाउँदैनन् ।’

युवावस्थामा रात दिनसमेत देउडा खेल्ने गरेको पाध्याय सम्झन्छन् । ‘हामे (हामी) तन्नेरी हुने बेला त राम हुने ठाउँ (मेला) मा रातदिन देउडा खेल्थ्यौँ । खुट्टा दुखेर सुन्निसकेका हुन्थे तर, हाम्रो देउडा रोकिएको हुँदैनथ्यो’ उनी भन्छन् ।

रातभरि देउडा खेलेपछि बिहान छुट्टिने बेलामा आफूले हालेको देउडा सम्झन्छन पाध्याय–

पिमीली पातको दुनु दही खाया चोलाकी
छुट्न्या भइग्याउ मैना चणी फेरि भेट होला की ?
त्यसपछि बाजुरामा देउडिया महिलाले छुट्टिने बेलाको जवाफ दिन्थे ।
दाजुको दाणिम्या बल्द दैझाला दैझाला
बाँच्यापछि डाँडाबाझ फेरि भेट होइझाला

यसरी सुरूआत भएर टुङ्गिने देउडा अहिले सुन्न पाइँदैनन् । लय पुरानै भए पनि देउडाका शब्द नै अनौठा लाग्छन् पाध्यायलाई । ‘हाम्रा सैन्डाँडा र दशहरामा गाइने देउडा गीत अहिले बुझिदैनन्’, पाध्याय भन्छन्, ‘हाम्रा लोकसंस्कृतिका शब्द वीरलै कम पाइन्छन् । डोट्यालका शब्द पनि यतै छन्, डडेल्धुराकी पनि यतै, नेपाली, हिन्दी, अंग्रेजीसमेत देउडामा मिसिएका छन् । यस्ता शब्द हामी देउडियालाई बुझ्न त कठिन छ, अरूलाई सजिलो हुने त कुरै भएन ।’

मध्य तथा सुदूरपश्चिममा अलग्गै पहिचान बोकेको देउडा भाका लोपोन्मुख अवस्थामा पुग्यो । पहिले वनपाखामा गुञ्जने ठाडी भाकाहरू पनि हराउँदै गएका छन् । बढ्दो आधुनिकतासँगै देउडाले अस्तित्व गुमाउँदै छ ।

उहाँ नयाँ पिँढीलाई सिकाउन खोजे पनि चासो नदेखाएको उनको दुखेसो छ । ‘मेलामा गएको बेलामा नयाँ पिँढीलाई खेलमा हात समातेर लिन्छु तर, एक घण्टा पनि खेलमा टिक्न सक्दैनन् ।’ नयाँ पुस्तामा मोबाइलले पुरानो कला संस्कृतिप्रति ध्यान जान नसकेको उनको गुनासो छ ।

मध्य तथा सुदूरपश्चिमको अलग्गै पहिचान बोकेको देउडा भाका अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । पहिले वनपाखामा गुञ्जने ठाडी भाकाहरू पनि हराउँदै गएका छन् । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले देउडा ओझेलमा परेको छ ।

सहरीकरणले युवाले संस्कार भूलेका छन् । परिवेश फेरियो, पुरानो पुस्ता फेरियो, प्रविधिको विकासले सोच फेरियो । देउडा पनि फेरिँदैछ ।

नयाँ पुस्तालाई देउडाप्रति चासो नै छैन । पहिलेका देउडाका भाष्यहरू सबै हराइसके । मौलिक देउडा विकाससँग जोडियो । राजनीतिसँग जोडियो । त्यसले मातृभाषासमेत फेरिन थाल्यो । भाषा, संस्कार, स्रष्टा सबै फेरिएको हुँदा अहिले सुदूरको लोकदेउडा लोप हुँदै गएको छ ।

सुदूरको संस्कृतिलाई जोगाइ राख्न अब लेख्न, पढ्न सक्ने युवा शक्ति अघि सम्भव छैन । पश्चिमेली संस्कृतिको विकाससँगै मौलिक लोक गीतहरू ओरालो लागेका छन् ।

पहिलेको पुस्ता स्वतः स्फूर्तरूपमा चासो राखेर देउडा खेल्थे । उनलाई कुनै पुरस्कारको, कुनै निर्णायकको मतलब हुँदैनथ्यो । अहिले भने जति पुरस्कार राखे पनि गहिरो चासो कोही राख्दैनन् ।

सुदूरपश्चिमका युवा जनशक्ति आफ्नो संस्कृति छोडेर बाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदै गएको सह–प्रा डा बद्री शर्मा बिनाडी बताउँछन् ।

‘देउडा मासिनु र लोप हुनु पश्चिमा संस्कृतिको प्रभाव हो । अहिलेको पुस्ता मोबाइल केन्द्रित भयो । नृत्य पनि अरू गीतमै हुन थाल्यो’ उनले अवस्था बताए ।

परम्परागत गीतहरु हस्तान्तरण गर्न नसक्नु अघिल्लो पुस्ताको पनि कमजोरी भएको उनको बुझाइ छ । संस्कृति जोगाउन स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने उनको धारणा छ ।

जयपृथ्वीबहादुर सिंहजस्ता वीर पुरूषकै बारेमा बनेका गाथाहरू संरक्षण गर्नसके पनि संस्कृति जोगिने उनी बताउँछन् । ‘कुनै पुराना कविताहरू व्यक्तिले रचेकै भए पनि यिनको संरक्षण गर्ने जिम्मा स्थानीय सरकारको नै हो । त्यसले ध्यान दिँदैन भनेपछि शिक्षित भनिएकालाई पनि आफ्नो संस्कृतिको बारेमा थाहा हुने छैन्’ उनी भन्छन् ।

अहिले देउडामा अत्यधिक भाषिक क्षयीकरण भएको उनको गुनासो छ । उनी भन्छन्, ‘अहिले जबर्जस्त बचाएका देउडाका भाषामा पटक्कै मिठास छैन । भाषिक क्षयीकरण भइसक्यो । परम्परागत भाषाका शब्दहरू नभएर विभिन्न भाषाका शब्द मिश्रित गर्दा रहेछन् । त्यो भनेको पहिचान गुमेको देउडा मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस्