Logo
Logo

कुश्मामा ‘ज्ञादी पुल’ले खोलेको पर्यटनको ढोका


सुमनजङ्ग थापा

1.3k
Shares

कुश्मा । अब सदरमुकाम कुश्मा आइपुग्न पहिले जस्तो घण्टौँ लाग्दैन । कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि दक्षिण भेगका स्थानीयवासीका लागि कुश्मा बजार सहज बनेको छ ।

यस झोलुङ्ले पुलले स्थानीयका लागि सहजता मात्र थपेन, पर्यटनको ढोकासमेत उघारिदियो । नेपालकै अग्लो तथा लामो झोलुङ्गे पुलका रुपमा देशभरि चर्चा बटुल्न पनि सफल भएको छ ।

गाउँमा यातायातको सहज पहुँच थिएन । सरकारी कामको लागि घण्टौ हिँडेर कुश्मा धाउनुपर्ने हुन्थ्यो । सामान्य घरायसी सामग्री खरिदका लागि पनि कुश्मा नै धाउनुपर्ने बाध्यता थियो ।

‘हामी स्कुलको पोशाक सिलाउन, किताब किन्न, चलचित्र हेर्न र घरमा चाहिने सामान किन्न धेरैपटक कुश्मा आउने जाने गथ्र्यौं’, ‘पीपलटारी घर भई अहिले कुश्मा बजारमा व्यवसाय गर्दैै आएका राजु पौडेलले भने ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुल नेपाली इञ्जिनीयरले बनाएको अग्लो तथा लामो झोलुङ्गु पुल पनि हो । एउटा डाँडाबाट ३४४ मिटरको दूरीमा पर्ने अर्को डाँडा त्यो पनि मोदी खोलादेखि १३५ मिटर माथिको उचाइमा पुल बनाउने कुरा धेरैका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो ।

दुई डाँडालाई जोडन सकिन्छ र जोडेरै देखाउछु भन्दै दिनरात लागि परेका इन्जिनीयर सूर्यप्रकाश पौडेलको अठोट र विश्वासका कारण नै पुल निर्माण सम्भव भएको थियो ।

धेरैका लागि असम्भव लाग्ने कुश्मा–ज्ञादी झोलुङ्गु पुल २०६७ सालमा निर्माण सम्पन्न भयो । यस झोलुङ्गे पुल पर्वतका लागि एउटा कोसेढुङ्गाका रुपमा स्थापित हुन पुग्यो । यो झोलुङ्गे पुल हेर्न र तर्नका लागि देश, विदेशका पर्यटक यहाँ आउने गर्दछन् ।

यस पुल निर्माणपछि यसकै सिको गरेर अग्ला तथा लामा झोलुङ्गे पुल एकपछि अर्को थपिँदै गएका छन् । बागलुङलाई पर्वतसँग जोड्न कुश्मा–कैया झोलुङ्गे पुल निर्माण गरियो । लगत्तै त्यसको छेउमै कुश्मा–मुडिकुवा झोलुङ्गे पुल थपियो ।

फेरि मुडिकुवा नै जोड्ने गरी अर्को मुडिकुवा–बलेवा झोलुङ्गे पुल बन्यो भने सदरमुकाम कुश्मालाई जोडने गरी खरेहामा कुश्मा–अधिकारी फाँट झोलुङ्गे पुलको निर्माण गरिएको छ ।

कुश्मा–ज्ञादी झोलुङ्गे पुलले केबलकार मोडलको यान्त्रिक पुल सञ्चालनका लागि पनि सम्भावनाको बाटो देखाइदियो । कुश्माको व्यवसाय ठप्प जस्तै भएका बेला ५०० बढी व्यवसायी तथा स्थानीयवासीले यान्त्रिक पुलको सुरुआत गरेका थिए ।

कालीगण्डकी खोँचले छुट्याएको बागलुङ र पर्वतलाई यान्त्रिक पुलले जोडने काम गरेको छ । दक्षिण बागलुङमा उत्पादन भएका कृषिउपज बिक्रीका लागि कुश्मामा आइपुग्छन् भने खाद्यान्नका सामान कुश्माबाट बागलुङतर्फ जाने गर्छन् ।

पुलले दुई जिल्लाकै व्यापार व्यवसायमा मद्दत पु¥याएको छ भने स्वास्थ्य, शिक्षा, रोजगारीमा पनि यसले सहजता प्रदान गरेको छ ।

पछिल्लो समय पर्वतको पहिचानका लागि कुश्मामा सञ्चालनमा रहेको साहसिक खेल बञ्जीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वकै अग्लो स्विङ र दोस्रो बञ्जी ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि २२८ मिटर उचाइमा बञ्जी र स्विङ (पिङ) का लागि जम्प गर्ने स्थानको निर्माण गरिएको छ ।

बागलुङ र पर्वतलाई जोडेर बञ्जीका लागि झोलुङ्गे पुलको निर्माण गरिएको छ । बन्जीले पर्वतका व्यवसायलाई गति दिने काम गरेको छ । हिजो बाँदर लड्ने भिरपाखामा होटल तथा रेष्टुरेन्ट धमाधम निर्माण भइरहेका छन् ।

द क्लिफ प्रालिले सञ्चालन गरेको बञ्जी, स्विङ (पिङ) लगायतका साहसिक खेल जेजति बनेका छन् ती सबै कुश्मा–ज्ञादी झोलुङ्गे पुलको नै देन भएको तत्कालीन पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताए ।

द क्लिफका मुख्य सञ्चालक राजु कार्कीसहितको समूहले सबैभन्दा पहिले कुश्मा–कैया झोलुङ्गे पुलमा बञ्जी गराउन लागिपरेको थियो । ‘कुश्मा–ज्ञादी झोलुङ्गे पुल बनेपछि अर्को ठाउँमा कुश्मा–कैया झोलुङ्गे पुल निर्माण गरेर सार्वजनिक निजी साझेदारीमा बन्जी गराउन सकिन्छ भनेर लागेका थियौँ’, द क्लिफका अर्का सञ्चालक नेत्र पराजुलीले भने ।

कुश्मामा पछिल्लो समय साहसिक पर्यटकलाई लक्षित गरेर जीपलाइन सञ्चालनमा आएको छ । कुश्मा आउने पर्यटकलाई यसले थप मनोरञ्जन दिन सफल भएको छ । कालीगण्डकी नदीको खोँचमा रहेको सुपरम्यान शैलीको यो जीपलाइनको लम्बाइ एक हजार ४०० मिटर छ ।

कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुआती गति प्रतिघन्टा १३० किलोमिटर हुने र गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्