एजेन्सी । अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । विश्व स्वास्थ्य संगठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अफ्रिकामा प्रति एक लाखमा कम्तीमा पनि ११ जनाले आत्महत्या गर्ने गरेका छन् । यो वार्षिक रुपमा लिइएको तथ्यांक हो ।विश्वव्यापी रुपमा मापन गरिएको प्रति एक लाखमा नौ जनाले आत्महत्या गर्ने गरेको उच्च दरभन्दा पनि बढी अफ्रिकामा ११ जना रहेको छ ।
यहाँ मानसिक रोग भएका नागरिकहरुको संख्या प्रतिदिन बढ्दै गएको तथा आत्महत्या रोक्ने उपायहरुको अवलम्बन गर्ने काम नभएका कारण बर्सेनि आत्महत्याको दर बढ्दै गएको पाइएको हो ।
अफ्रिकामा अहिले ११ करोड ६० लाख नागरिकलाई मानसिक रोग रहेको छ । सन् १९९० मा मानसिक रोग भएका मानिसहरुको संख्या ५ करोड ३० लाख मात्र रहेकामा अहिले यो सङ्ख्या बढेको हो । मानिसहरुको उपचार तथा उनीहरुका समस्याहरुको सहजीकरण गरिने भएको छ ।
यहाँ सामाजिक सञ्जालहरुबाट यी मानिससम्म यो अभियान पुर्याइने भएको हो । यही अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवसका दिनबाट यो अभियान सञ्चालन हुने सो सङ्गठनले जनाएको छ ।
यहाँका आमसञ्चारका माध्यमहरुका साथै सामाजिक सञ्जालहरुमा चेतनामूलक सामग्रीहरु प्रकाशन प्रसारण गर्ने र मानिसलाई आत्महत्या नगर्नका लागि प्रेरित गर्ने गरी सामग्रीहरु प्रेषित गरिने जनाइएको छ । त्यस्तै मानसिक रोग भएकाहरुको उपचारका लागि पनि विश्व स्वास्थ्य संगठनले विभिन्न देश र क्षेत्रहरुमा अभियान थाल्ने जनाएको छ ।