Logo
Logo

भागबन्डा नमिलेपछि गठबन्धनबाट बाहिरियो जसपा


9.6k
Shares

काठमाडौं । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । आगामी मंसिर ४ गते तय भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटमा सहमति हुन नसकेपछि जसपा गठबन्धनबाट बाहिरिएको हो ।

जसपाले गठबन्धनबाट बाहिरिएको औपचारिक घोषणा भने गरेको छैन । तर, शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा जसपा उपस्थित भएन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेस माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरु मात्र सहभागी भएका छन् ।

दुई साताभन्दा लामो समयदेखि सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे नियमित छलफल भइरहेको छ । तर, जसपाकै कारण गठबन्धनबीच सहमति हुन सकेको छैन । जसपाले आफ्नो अडान नछाडेपछि बिहीबार बसेको बैठक पनि निष्कर्षविहीन बनेको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले ८५, माओवादी केन्द्रले ४४ नेकपा एकीकृत समाजवादीको १५, जसपाको १६ र जनमोर्चाले २ क्षेत्र पाउनेमा छलफल भइरहेको छ । तर, जसपाले आफूले २५ सिटको केही तल माथि भएपनि २० भन्दा नघट्ने अडान राख्दै आएको थियो । तर गठबन्धनको तर्फबाट जसपालाई १६ सिट भन्दामाथि दिन नसकिने बताएपछि एमालेसँग तालमेलको प्रस्ताव लिएर जसपा अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेका थिए ।

बिहीबार बालुवाटारमा बसेको सिट बाँडफाँटबारे छलफलमा कुरा नमिलेपछि यादव बीचैमा निस्किएपछि बालकोट पुगेका थिए । सिट बाँडफाँटमा गठबन्धनसँग बार्गेनिङ नमिलेपछि यादव नेकपा एमालेसँग चुनावी तालमेल गर्न जुटेका हुन् ।

अध्यक्ष यादवले एमालेसँग पनि सिटकै बार्गेनिङ गर्न थालेका छन् । एमालेसँग तालमेल गर्न जसपाले आफूले २५ सिट पाउनुपर्ने माग गरेको छ । तर, एमालेले पनि जसपालाई २० सिटभन्दा बढी दिन तयार नभएको स्रोतको भनाइ छ ।

सिट भागबण्डाकै कारण जसपा बाहिरिएपछि अब विगतमा जसपाले दाबी गरेका क्षेत्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीले बाँडफाँट गर्ने भएका छन् । यसमा केही समय लाग्ने भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक आजै मध्यान्ह १२ बजेपछि बोलाएका छन् ।

यता, जसपा एमालेसँग तालमेलको तयारीमा पुगेको छ । विहीबार गठबन्धनसँग अन्तिम बैठक गरेर बाहिरिएका जसपा अध्यक्ष यादव एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज पनि भेट्दैछन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने एमाले र जसपाको तयारी छ । २०–२२ सिटमा एमाले र जसपाबीच सहमति हुने उनको भनाइ छ ।

यससँगै अब एमाले, जसपा, लोसपा र राप्रपाबीच चुनावी तालमेल हुने भएको छ । राप्रपा र लोसपाले पनि एमालेसँगको चुनावी तालमेलका लागि छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्