Logo
Logo

लात मारेर हिँडेको एमालेको फेरो समाते पनि जित सहज छैन अशोकलाई


25.9k
Shares

काठमाडौं । नेकपा एमाले निर्माणमा लामो समय खर्चेका अशोककुमार राईले ७ मंसिर २०६९ मा नयाँ बाटो रोजे । संविधान लेखनका क्रममा पार्टीले खेलेको भूमिकामा चित्त नबुझाएका अशोकले नयाँ राजनीतिक दल खोले ।

काठमाडौंको नयाँबजारस्थित नेपाः बैङ्क्वेटमा संघीय समाजवादी पार्टी नेपाल घोषणा गर्दै अध्यक्ष बने । एमाले भित्रको ठूलै हिस्सा बाकेर हिँडेका अशोकले एक दशकको अवधिमा अनेक भोगे । सायद, एमाले जीवनमा पनि त्यति उथलपुथल भोगेका थिएनन् ।

संघीय समाजवादी पार्टीको अध्यक्ष बनेर नयाँ यात्रामा निस्केका अशोक केही समयपछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग एकता गर्दै कार्यकारी अध्यक्ष पदबाट सेरेमोनियल पद वरिष्ठ नेतामा खुम्चिए ।

फोरमसँगको एकतापछि बनेको संघीय समाजवादी फोरम (ससफो)का नेतृत्व उपेन्द्रले सम्हाले । अशोक वरिष्ठ नेताको रुपमा सेरेमोनियलमा थन्को लागे ।

त्यसपछि फेरि डा. बाबुराम भट्टराईसँग पार्टी एकता भयो । त्यसबेला पनि फष्टमेन बन्न हिँडेका अशोक वरिष्ठ नेताको रुपमा सेरेमोनियलमै थन्को लागे ।

सेरेमोनियलमा थन्को लाग्ने अशोकको यात्रा अझै रोकिएन । तत्कालीन राजपासँग एकता भएपछि बनेको जनता समाजवादी पार्टीमा पनि उनी सोही पदमा रहे । पछिल्लो पटक जसपा विभाजन भएपछि अशोक संघीय परिषद अध्यक्ष पदमा छन् ।
एमाले हुँदा अशोक मन्त्री भएका थिए । एमाले छोडेपछि भने अशोकलाई सांसद बन्न पनि हम्मेहम्मे परिरहेको छ । ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद बने । 

तर, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ मा एमालेका जयकुमार राईसँग भारी मतले पराजित भए । यसरी अशोकको नयाँ यात्रामा अनेक उथलपुथल भएका छन् ।

यसपटक अशोक पुनः सुनसरी–१ बाटै प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका छन् । यसपटक भने अशोकले आफ्नै पुरानो पार्टी नेकपा एमालेको फेरो समातेका छन् । तर, सहज भने देखिन्न । 

अन्तिम अवस्थामा अशोकको पार्टी जसपाले सत्ता गठबन्धन छोड्यो । घोर पश्चगामी पार्टीको रुपमा जसपाले व्याख्या गर्दै आएको एमालेसँग तालमेल गर्न पुग्यो ।

जसपाले अशोककै लागि सुनसरी–१ एमालेसँग लियो । तर, अशोकलाई उस्तै झमेला आइलाग्यो । सुनसरी–१ पार्टीले छोडेपछि एमालेका नेता कार्यकर्ता रुष्ट भए । सुनसरी–१ का प्रभावशाली नेता मनोज मेन्याङ्बोले ‘बागी’ हालेका छन् । मनोज धरानका पूर्वमेयर समेत हुन् ।

मनोजको बागीले के असर गर्छ ?
मनोजले एमालेबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिनुको सिधा अर्थ एमाले–जसपा तालमेललाई असर पर्नु हो ।  एमाले–जसपा तालमेललाई असर गर्नुको अर्थ, अशोकलाई असर पर्नु हो । किनकी, एमाले र जसपाका साँझा उम्मेदवार हुन्, अशोक ।

राम्रो जनमत भएकाले मनोजको उम्मेदवारी अशोकका लागि ठूलो खड्को हुने विश्लेषण हुने गरेको छ । धरानका एक एमाले भने भन्छन– ‘कि मनोज कमरेडले जिन्तु हुन्छ, नभए अशोक राईलाई हराउनु हुन्छ ।’

चुनावी प्रचारमा एमालेका बागी उम्मेदवार मनोज

राम्रै जनमत भएका नेता भएकाले स्वतन्त्र भए पनि मनोजले जित्ने सम्भावना समेत आंकल गर्ने गरिएको छ । त्यस्तो नभएको खण्डमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जित्न झनै सहज हुने छ ।

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट हुँदा सुनसरी–१ माओवादीको भागमा परेको छ । माओवादीबाट मुक्सामहाङ मेन्याङबो ‘मुकेश’ उम्मेदवार छन् ।

०७० को निर्वाचनमा समेत उम्मेदवार बनेका मुकेश पराजित भएका थिए । ०७४ मा भने एमालेसँगको तालमेलका कारण माओवादीले टिकट पाएन ।

गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बो

निरन्तर सुनसरीलाई नै राजनीतिक कर्मथालो बनाएका मुकेश बलियै उम्मेदवार मानिन्छन् । त्यसमा पनि यसपटक गठबन्धनका उम्मेदवार बनेका छन् ।

एमालेका विद्रोही मनोजको उम्मेदवारीको फाइदा गठबन्धनका उम्मेदवार मुकेशलाई पुग्ने सिधा विश्लेषण समेत सुरु भएको छ । मनोजले एमालेको भोट काट्दा एमाले–जसपाका उम्मेदवार अशोक भोट काटिने र गठबन्धनलाई फाइला हुने विश्लेषण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्