काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै राजनीतिक दलले उत्साहपूर्ण मनोनयन दर्ता गराएका छन् । सबै राजनीतिक दलका अध्यक्षले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट–१ मा उम्मेदवारी दिएका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले झापा–३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
निर्वाचन तालिकाअनुसार मनोनयनमाथि दाबी विरोधको समय बाँकी नै छ । तर, प्रमुख दलका प्रमुखको उम्मेदवारी फेरबदल हुने सम्भावना छैन । यस्तो अवस्थामा प्रमुख दलका प्रमुखका प्रतिस्पर्धी को–को छन् र सम्भावना के रहला भन्ने चासोको विषय बनेको छ ।
ओलीलाई कमजोर प्रतिस्पर्धी
झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि मनोनयन दर्ता गराएका एमाले अध्यक्ष केपी शर्मा ओलीले कमजोर प्रतिस्पर्धी पाएका छन् ।
सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा झापा–५ कांग्रेसको भागमा परेको थियो । कांग्रेसले अन्तिम अवस्थामा खगेन्द्र पाण्डप अधिकारीलाई उम्मेदवार बनाएको छ ।
अधिकारी गठबन्धनको उम्मेदवार भए पनि खासै चिनिएका र सुनिएका उम्मेदवार होइनन् । हेबी वेट ओलीको तुलनामा अधिकारी धेरै कमजोर उम्मेदवार हुन् । त्यसै पनि झापा–५ एमालेका लागि राम्रो क्षेत्र हो ।
त्यसो त ०६४ सम्पन्न संविधानसभाको निर्वाचनमा ओलीलाई त्यस्तै नपत्याउँदो उम्मेदवारले हराएका थिए । ०६४ मा माओवादीका विश्वद्वीप लिङ्देनसँग ओली पराजित भएका हुन् । तर, यसपटक त्यस्तो वातावरण छैन । एमालेले राप्रपा र जसपाको साथ पाएको छ ।
देउवाको अपराजित यात्रामा अप्ठ्यारो छैन
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सधैँको क्षेत्र डडेलधुराबाट प्रतिस्पर्धा गर्दैछन् । देउवाले प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण मल्ल पाएका छन् ।
देउवालाई हराउन एमालेले डडेलधुरामा उम्मेदवारी नदिने निर्णय गरेको थियो । तर, अन्तिम अवस्थामा एमालेबाट उम्मेदवारी पर्यो । यस्तो अवस्थामा देउवालाई झनै सहज भएको छ ।
त्यसो त देउवाकै विरुद्ध भनेर डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ढकाल पनि देउवासामु धेरै कमजोर उम्मेदवार हुन् ।
डडेलधुरामा कांग्रेसको मत आजसम्म हलचल भएको देखिएको छैन । जनताले देउवालाई छैटौँ पटक इमानदारीपूर्वक जिताइसकेका छन् । यसपटक पनि देउवालाई जित्न असहज देखिन्न ।
अधारथलोमा प्रचण्ड, कमजोर प्रतिस्पर्धी
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । गोरखालाई माओवादीको आधारथलो समेत भन्ने गरिएको छ ।
गोरखा माओवादीको आधारथलो भन्ने विभिन्न चरणमा पुष्टि हुँदै आएको छ । जुन क्षेत्रबाट पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जित्दै आएका थिए । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि माओवादीले राम्रै जितेको जिल्ला हो ।
चितवनबाट निर्वाचन लड्ने तयारीमा रहेका प्रचण्डलाई बाबुराम र नारायणकाजीकै प्रस्ताव र जोडमा गोरखा पुर्याइएको हो । त्यसैका आधारमा पनि प्रचण्डलाई जित्न सहज देखिन्छ ।
गोरखा–२ मा गठबन्धनका उम्मेदवार प्रचण्डका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नै हुन् । एमालेले कमजोर उम्मेदवार उठाएको छ । गोरखा–२ मा अब्दुस मियाँ एमालेका उम्मेदवार हुन् । २८ वर्षीय मियाँ खासै चिनिएका र सुनिएका उम्मेदवार होइनन् ।
माधवका अगाडि कमजोर अजय
नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावकुमार नेपालले यसपटक रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
अघिल्लो निर्वाचन काठमाडौं–२ बाट जितेका माधवले यसपटक रौतहट राजेका हुन् । स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीले रौटहटमा राम्रै नतिजा ल्याएको थियो ।
नेकपा माओवादीको समेत राम्रो प्रभाव रहेको यस क्षेत्रमा माधव सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । त्यसकारण पनि माधवलाई सहज देखिन्छ ।
माधवका मुख्य प्रतिस्पर्धी अजय गुप्ता हुन् । भर्खरै लोसपा परित्याग गरेर एमाले प्रवेश गरेका गुप्तालाई एमालेले टिकट दिएको हो । भर्खरै आएकालाई टिकट दिएका कारण एमालेभित्र ब्यापक असन्तुष्टि छ ।
सीकेसँग भिड्दै उपेन्द्र, सहज छैन जित
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
अन्तिम अवस्थामा सत्ता गठबन्धन तोडेर एमालेसँग तालमेल गर्न पुगेका उपेन्द्रले आफ्नो जित सुनिश्चित गर्न खोजेका छन् । तर, उपेन्द्रलाई सहज छैन ।
सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि मनोनयन दर्ता गराएका छन् । पछिल्लो समय मधेसमा उपेन्द्रभन्दा सीके निक्कै पपुलर छन् । त्यसैले उपेन्द्रलाई निर्वाचन जित्न सहज छैन ।
सप्तरी–२ मा गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर भने यादव र राउत जति प्रभाव भएका नेता होइनन् ।
लिङ्देनलाई सिटौला चुनौती
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा–३ मा रोचक प्रतिस्पर्धा हुँदैछ । अध्यक्ष लिङ्देन र नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई उम्मेदवार दोस्रो पटक आमनेसामने हुँदै छन् । सिटौंला सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् भने लिङ्देन एमाले–राप्रपा गठबन्धनका उम्मेदवार हुन् ।
लिङ्देन र सिटौलाबीच ०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । सिटौलालाई पराजित गर्दै लिङदेन निर्वाचित भएका थिए । झापा–३ मा लिङ्देन वा सिटौलामध्ये कसले जित्छ भन्ने सहजै अनुमान लगाउन सकिन्न । दुबै हेबी वेट उम्मेदवार हुन् ।
सहज छैन कमललाई
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेको समर्थमा मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
कमललाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । मकवानपुर–१ कमललाई छोडेको भन्दै एमाले नेता कार्यकर्ता असन्तुष्ट छन् । मनोनयन दर्ताकै दिन एमालेका नेता कार्यकर्ताले पार्टीका निर्णयविरुद्ध प्रदर्शन गर्दै पार्टी कार्यालयमा ताला लगाएका छन् ।
कमलको तुलनामा सत्ता गठबन्धनका उम्मेदवार कमजोर छैनन् । गठबन्धनबाट नेपाली कांग्रेसका डिना उपाध्ययले मनोनयन दर्ता गराएका छन् । त्यसैले पनि कमललाई एमालेको साथ भए पनि जित सहज छैन् ।