Logo
Logo

बाबुराम भन्छन्- प्रचण्ड र मेरो सम्बन्ध बुझ्नेलाई खीर खाएजत्तिकै सजिलो छ


2.2k
Shares

काठमाडौं । पूर्वप्रधानममन्त्री डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिताउने अभियानमा लागेका छन् ।

प्रचण्डले आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका छन् । गोरखा–२ यसअघि डा भट्टराईले चुनाव जित्दै आएको क्षेत्र हो हो ।

तर, यसपालीको संसदीय चुनाव नलड्ने भएपछि डा भट्टराईले आफ्नो क्षेत्र प्रचण्डलाई छाडेका छन् । त्यससँगै प्रचण्डले आफ्नो क्षेत्र चितवन–३ छाडेका छन् । गोरखा–२ बाट चुनाव लड्ने भएपछि प्रचण्डलाई जिताउन भट्टराईले अभियान चलाएका छन् ।
आइतबार मनोनयनपत्र दर्ता गर्न प्रचण्डसँग भट्टराई र माओवादीको बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सँगै गोरखा पुगे । उनीहरु प्रमुख निर्वाचन आयुक्तको कार्यलय पुगेर प्रचण्डको मनोनयनपत्र दर्ता गरे ।

प्रचण्डसँगै जुलुसमा समेत सहभागी भएका भट्टराईको प्रचण्डसँगको सम्बन्ध सुधार भएको तर्क गर्न थालिएको छ ।
प्रचण्डका लागि गोरखा–२ छाडेर काठमाडौं–७ मा भट्टराईकी छोरी मानुषीलाई उम्मेदवार बनाइएको छ । चुनावकै मुखमा आएर जसपा त्यागेर नेपाल समाजवादी पार्टी दर्ता गराएका डा भट्टराई माओवादीको समर्थन प्रचण्डको उम्मेदवारी दिन गोरखा पुगेका थिए ।

यसैबीच भट्टराईले पनि प्रचण्डसँगको सम्बन्धलाई लिएर नयाँ तर्क अघि सारेका छन् । उनले आफू र प्रचण्डबीचको सम्बन्ध बुझ्न धेरैलाई कठिन हुनु स्वभाविक भएको बताए ।

सोमबार गोरखामा आयोजित चुनावी छलफलमा प्रचण्डसँगै बसेर डा. भट्टराईले भने, ‘प्रचण्ड र बाबुरामको एकता र संघर्षको सम्बन्धको अन्तर्य बुझ्न धेरैलाई कठिन हुनु स्वाभाविक छ । तर, जीवन र जगतको युनिटी अफ अपोजिट्स र युनिटी–स्ट्रगल ट्रान्सफर्मेसनको नियम बुझ्नेलाई खीर खाए जत्तिकै सजिलो छ ।’

डा भट्टराईले जनयुद्ध पनि एकता र संघर्षकै बीचबाट सफल भएको तर्क गर्दै भने, ‘जनयुद्ध त्यही सम्बन्धबाट सफल भएको थियो । अबको समृद्धि अभियान त्यसैबाट सफल हुन्छ ।’

उनले गोरखाका मतदाताहरुसँग प्रचण्डलाई जिताउन समेत आग्रह गरे । ‘समृद्ध नेपालका लागि प्रचण्डको जीत आवश्यक छ । यसपटक उहाँलाई जिताइदिनु होला ।’ उनले आफू संसदीय राजनीतिमा नरहेपनि गोरखाबासी र आम नेपालीको उन्ननी र विकासका लागि सदैव सक्रिय बताए ।

प्रतिक्रिया दिनुहोस्