Logo
Logo

एउटा इजलाशमा बयान र बहस, अर्काे इजलाशबाट आदेश


1.6k
Shares


काठमाडौं । बिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको मुद्दामा अदालतमा सुनुवाईको क्रममा अनौठो घटना भएको छ । एउटा इजलाशमा आरोपीको बयान र बहस भएपछि अर्काे इजलाशमा थुनछेक आदेश भएको छ ।


सिआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा असोजको पहिलो साता नै जिल्ला सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ९ असोजमा बयान सकिएपछि थुनछेक आदेशको तयारी भएको थियो । तर, सरकारी वकिलले न्यायाधीश दुर्गा बहादुर भुषालले यो मुद्दामा आदेश दिन नमिल्ने भन्दै इजलाश सार्न माग गरे । यहीसँग जोडिएको एउटा मुद्दामा पहिला भुषालले फैसला गरेकाले उनले हेर्न नमिल्ने सरकारी वकिलको तर्कपछि न्यायाधीश भुषालले अर्काे इजलाशले हेर्ने आदेश दिए । भोलिपल्टदेखि दशैंको बिदाले अदालत बन्द भएपछि सबै आरोपी थुनामै बस्नुप¥यो । दशैंको बिदापछि अदालत खुलेके पहिलो दिन सोमबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलाशबाट आदेश भएको हो । एउटा इजलाशमा बयान भएर अर्काे इजलाशबाट आदेश हुने घटनामा न्यायालयमा बिरलै हुन्छ । ‘सामान्यतया यस्तो हुँदैन,’ जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहाल भन्छन्,‘सरकारी वकिलले दुर्गा बहादुर भुषाल श्रीमानले यो मुद्दा हेर्न नमिल्ने भनेर कुरा उठाएपछि गोलाप्रथामार्फत थुनछेकका लागि नयाँ इजलाश तोकिएको हो ।’


२५ फागुन २०७८ मा जिल्ला अदालत बाँकेमा कार्यरत रहँदा न्यायाधीष भुसालले यहीसँग जोडिएको सवारी ज्यान मुद्दाको फैसला गरेका थिए । सर्जन बिकको मृत्यु घटनामा त्यतीबेला सवारी ज्यान मुद्दा दर्ता भएको थियो । जसमा न्यायाधीश भुसालको इजलाशले आरोपी चालक टोपबहादुर रानालाई जम्मा ३० दिन कैद र तीन हजार जरिवानाको सजाय सुनाएको थियो भने सवारीधनी सरदार अहमद खाँलाई सफाइ भएको थियो ।


त्यो फैसलामाथि पनि प्रश्न उठाउने ठाउँ भएको प्रहरी अधिकारी बताउँछ्न । लापरवाहीका साथ सवारी चलाउँदा मात्र पनि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म सजाय हुने सवारी तथा यातायात व्यवस्था ऐनको व्यवस्था छ । यही सजाय माग गरी प्रहरीले मुद्दा दायर गरेको थियो ।


अहिले पनि उनकै इजलाशमा यसको बयान भएको थियो । तर, सरकारी वकिलले प्रश्न उठाएपछि मात्र न्यायाधीश भुसालले इजलाश सार्ने आदेश दिएका थिए । सो मुद्दामा पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । तीन आरोपी भने ७५ दिन थुनामा बसेपछि साधरण तारेखमा छुटेका छन् ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले ठगी,लिखत र संंगठित अपराध मुद्दा सरकारी वकिलमार्फत दायर गरेकोमा सोमबार जिल्ला अदालत काठमाडौंबाट सो मुद्दामा थुनछेक आदेश भएको हो । जिल्ला न्यायाधीश पराजुलीको इजलासले संजीव अर्याल, सपना मल्ल, सरदार अहमद खाँ, टोपबहादुर राना र दीपक केसीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । आरोपीहरु ललिता सापकोटा, जानकी रिजाल र छवी कुमारी खत्रीलाई भने साधरण तारेखमा छाड्ने आदेश भएको छ ।

यो घटनामा बाँकेमा थप अनुसन्धान हुने भएकाले साधरण तारेखमा छाड्ने आदेश भएका आरोपी पनि प्रहरी हिरासतमै छन् । पक्राउ परेका आठै जनालाई बाँकेमा पठाइने सिआइबीका एसपी कमल थापाले बताए । बाँकेमा उनीहरुविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता छ । यसअघि योजनाबद्ध रुपमा हत्या भएको घटनालाई दुर्घटनाका रुपमा मुद्दा चलाइएको थियो । त्यसमा अब फेरि कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ ।

घटनाको उनीहरुको संलग्नताको बलियो प्रमाण नभएको आधारमा अदालतले साधरण तारेखमा छाडेको हो । उनीहरुमध्ये ललिता ७५ दिन प्रहरी हिरासतमा बसिन् । यो घटनामा उनको भूमिका सपनालाई संजीव अर्यालसँग चिनजान गराउने थियो । त्यस्तै, जानकी रिजालले ललितासँग चिनजान गराएकी थिइन् । छवी कुमारी खत्री सपना मल्लकी आमा हुन्, उनले बिमा वापतको रकम आफ्नो खातामा राखेकी थिइन् । सोही आधारमा उनीहरुलाई पनि प्रहरीले मुख्य अभियुक्त बराबर नै प्रहरी हिरासतमा राखेर मुद्दा चलायो । साढे दुई महिनामा हिरासतमा राखेर अनुसन्धान गरेका आरोपीहरु साधरण तारेखमा छुटेपछि प्रहरीको अनुसन्धानशैलीमाथि प्रश्न उठेको छ । सबै आरोपीलाई थुनामा राखेरै मुद्दा दायर गर्ने प्रहरी प्रवृत्ती छ ।


२ वैशाख ०७८ राति ११ बजे बसको ठक्करबाट सर्जनको किचेर हत्या भएको थियो । बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरस्थित भित्री सडकमा टोपबहादुर क्षेत्रीले चलाएको भे.१ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट भे.१०प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनलाई ठक्कर दिएको थियो । घटनाको दिन सर्जनलाई सञ्जीवले बियर खुवाएका थिए । नशा लागेपछि खोलामा बालुवा लोड गर्ने भन्दै सञ्जीव र सर्जन फरक–फरक मोटरसाइकलमा त्यतातर्फ गए । केही अघि बढेपछि सञ्जीवले तीव्र गतिमा आफ्नो मोटरसाइकल अघि बढाए, सर्जन बिस्तारै अघि बढे । बाटोमा एउटा बस रोकेर राखिएको थियो । सर्जनको मोटरसाइकल देख्नेबित्तिकै योजनाअनुसार बसले उनलाई पछ्याएर ठक्कर दिएको थियो ।


हत्याअघि नेपाल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको थियो । उसले नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गरेको थियो । ठूलो बिमा गरेको एक महिनामै मृत्यु भएको घटनाप्रति पुनर्बिमाले आशंका व्यक्त गरेपछि रिलायन्स लाइफ इन्स्योरेन्सले प्रहरीमा उजुरी दिएको थियो । आरोपी पक्राउ परेपछि उनीहरुले थप दुई जनालाई त्यसैगरी हत्या गर्ने तयारी गरिरहेको खुलेको छ । आधारभुत सिद्धान्तविपरीत बीमा गरिएकोमा बिमा कम्पनीका कर्मचारीको भने यसमा संलग्नता नभेटिएको सिआइबी दाबी छ ।

प्रतिक्रिया दिनुहोस्