Logo
Logo

काठमाडौं-५ : इश्वरलाई रोक्लान् प्रदीपले ?


71.3k
Shares

काठमाडौं । कांग्रेसका युवा नेता प्रदीप पौडेल तनहुँ–२ बाटै निर्वाचन लड्ने योजना बनाएका थिए । तर, पार्टीले टिकट थमायो, काठमाडौं–५ को ।

उनले मनोनयन दर्ता गरेर काठमाडौं–५ घरदैलो अभियान थालिसकेका छन् । कांग्रेस महामन्त्रीमा परिजित प्रदीपसँग प्रतिस्पर्धामा छन्, एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल । इश्वर २०७४ सालमा कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गर्दै यही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

२०६४ र २०७० मा भने इश्वरलाई कांग्रेसका नरहरि आचार्यले हराएका थिए । २०७४ मा आचार्य निर्वाचन लडेनन् । त्यसको फाइदा पोखरेललाई पुग्यो । २०७४ मा इश्वरले कांग्रेसका प्रकाशशरणलाई १० हजार मतान्तरले हराएका थिए । उनलाई वाम गठबन्धनको साथ थियो ।

त्यसबेला उनले २३ हजार २९ मत पाएका थिए । प्रकाशशरणले १३ हजार १ सय ६९ मत पाए । विवकेशील साझाका उज्ज्वल थापाले ६ हजार ८ सय ५३ र बाँकी १७ जना उम्मेदवारले हजार मत कटाएनन् । यसपटक परिस्थिति फरक छ । २०७४ मा एक्लै लडेको कांग्रेस माओवादी, एकीकृत समाजवादी र जनमोर्चासहितको गठबन्धन बनाएर मैदानमा छ ।

वाम गठबन्धनको साथ पाएको एमाले एक्लै । तर, पनि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यस क्षेत्रका वडाका अध्यक्षका उम्मेदवारले पाएको मतमा एमाले अगाडि छ । एमाले एक्लैको १९ हजार ७३ मत छ । कांग्रेसको १४ हजार ८ सय ५३, माओवादीको १ हजार १ सय ६८, एकीकृत समाजवादीको १ हजार ८ सय २७ र राप्रपाको २ हजार ६ सय २२ मत छ ।

काठमाडौं महानगरका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडा यो क्षेत्रमा पर्छन् । इश्वर स्थानीय निर्वाचन अनुसार नै पार्टीगत मत खस्नेमा ढुक्क छन् । तर, उनलाई सांसद हुँदा आफ्नो क्षेत्रको विकसामा चासो नदेखाएको आरोप छ ।

निर्वाचनपछि निर्वाचन क्षेत्रका नागरिकलाई एकपटक पनि नभेटेको गुनासो छ । इश्वरले २०७४ सालमा यस क्षेत्रलाई देशकै ‘अस्पताल हब’ बनाउने, ‘मनमोहन ज्येष्ठ नागरिक सदन’, ‘स्वरसम्राट नारायण गोपाल प्रतिष्ठान’ अन्तर्गत अडोटोरियम हल निर्माण, हाँडीगाउँको विकास, साइक्लिङ जोनको प्रवर्द्धन, भ्यू टावर, रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने वाचा गरेका थिए ।

जितेपछि पोखरेलले यी कुनै पनि योजना कार्यान्वयनमा चासो नदिएको स्थानीय बताउँछन् । इश्वरप्रति व्यापक जनगुनासो रहेकाले यसपटक नयाँ अनुहारले जित्ने सम्भावना रहेको यहीँकै एक एमाले नेता बताउँछन् । यसको फइदा प्रदीपलाई हुने उनले बताए ।

‘प्रदीप सम्भावना बोकेका युवा नेता हुन् । यसअघि संसद नभएका उनीप्रति नागरिकको अपेक्षा धेरै छ,’ उनी भन्छन्, ‘तर, बाहिरबाट आएको नेता भएकाले मिहेनत धेरै गरेर जनाताको विश्वास जित्न सक्नुपर्छ ।’ प्रदीप २०७४ सालमा तनहुँबाट प्रदेश सभामा झिनो मतले पराजित भएका थिए ।

युवाले रुचाएका लोकप्रिय नेता भएका कारण यसपटक स्वतन्त्र मत पनि प्रदीपलाई जाने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्