Logo
Logo
मकवानपुर- १

हारमा ‘ह्याट्रिक’ गर्नेबीच भिडन्त, कसले तोड्ला रेकर्ड ?


11k
Shares

हेटौंडा । प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर- १ मा अघिल्ला निर्वाचनहरू नफापेको उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पटकपटक हार व्यहोरेकाबीच नै प्रतिस्पर्धा हुन लागेको हो । 

मकवानपुर क्षेत्र नम्बर १ मा प्रमुख दलबाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसका महिला सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का नेता दीपक सिंहले उम्मेदवारी दर्ता गरेका छन् । 

एमालेको निर्वाचन चिन्ह लिएर मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष थापालाई एमालेको साथ छ भने कांग्रेसका सहमहामन्त्री डिनालाई सत्ता गठबन्धनको साथ छ । सिंह भने राप्रपाका उम्मेदवार हुन् । तीनै जना यसअघि निर्वाचनमा पटकपटक पराजित भएका छन् । जसले गर्दा यसपटक यो क्षेत्रमा रोचकता थपेको छ ।

प्रतिनिधिसभामा पुग्नकै लागि आफ्नो निर्वाचन चिन्ह तीर छाडेर एमालेको सूर्य चिन्ह रोजेका थापा अवसरवादी नेताका रुपमा परिचित छन् । उनले राजा हुन् या राजनीतिक दलको सरकार, दुवै कालमा सत्ताको स्वाद लिएका छन् । 

सिंहदरवारका वरिपरि घुमिरहे पनि थापाले हारको रेकर्ड बनाएका छन् । ०४८ देखि एउटा बाहेक सबै निर्वाचन लडेका थापाले एकपटक मात्रै जितेका छन् । ०४८ मा मकवानपुर १ मा प्रतिनिधिसभा सदस्यमा उनी एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए ।

०५१ मा मकवानपुर १ र ३ दुवै क्षेत्रमा उम्मेदवार बनेका उनले १ मा जिते भने ३ मा हारे । ०५६ मा १ र ३ मा उठेका उनी दुवै क्षेत्रमा पराजित भए । ०६४ मा काठमाडौं-५ र मकवानपुर ३ मा उठेका थापा दुवै क्षेत्रबाट पराजित भए ।  

दुई पटकमा चार ठाउँ हारेपछि ०७० मा भने उनी समानुपातिकमा बसे । ०७४ मा कांग्रेसको समर्थनमा मकवानपुर १ मा उम्मेदवार बनेका थापा फेरि हारे । उनी एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थिए । यसपटक पनि उनको जित्ने सम्भावना कम नै रहेको बताइन्छ । यद्यपि यसको नतिजा आगामी मंसिर ४ पछि नै थाहा हुने छ । 

गठबन्धनको समर्थनमा उम्मेदवारी दिएका कांग्रेसका डिनाले पनि हारमा ह्याट्रिक गरेका छन् । ०४८ देखि तीन पटक प्रत्यक्ष निर्वाचन लडेका उनी तीनै पटक पराजित भए ।  ०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर- २ बाट उम्मेदवार बनेकी उनी तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भए । ०५१ मा पनि उनी खतिवडासँगै पराजित भए । 

दुई पटक एमालेकै खतिवडासँग पराजित भएपछि ०५६, ०६४ र ०७० को निर्वाचन लडेनन् । ०७४ को निर्वाचनमा उम्मेदवार बनेका उनी वाम गठबन्धनको साझा उम्मेदवार बनेका एमालेकै खतिवडासँगै फेरि पराजित भए । अहिले सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका उनलाई यो पटक जित्नैपर्ने दबाब छ । 

यस्तै निर्वाचनमा पटकपटक हारेका नेता हुन्, राप्रपाका सिंह पनि । संविधानसभा र स्थानीय निर्वाचनमा चार पनि उम्मेदवार बनेका उनी चारैपटक पराजित भएका छन् ।  

०५४ सालमा पहिलोपटक मेयरमा चुनाव उठेका सिंह एमालेका डोरमणि पौडेलसँग पराजित भएका थिए । ०५६ सालको प्रतिनिधिसभामा मकवानपुर–२ मा निर्वाचन लडेका उनी एमालेका विरोध खतिवडासँग पराजित भएका थिए ।

०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेका अनन्त पौडेलसँग पराजित भए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका सिंह फेरि हारे । पराजित भएपनि उनले सम्मानजक मत ल्याएका थिए । 

हारको रेकर्ड बनाएकाहरु नै एकअर्काका प्रत्यासी भएकोले यो पटक मकवानुपर १ मा त्रिपक्षीय प्रतिस्पर्धा रोचक मानिएको छ । 
 

प्रतिक्रिया दिनुहोस्