काठमाडौं । विनोद चौधरीको छवी अन्तर्राष्ट्रिय मञ्चमा नेपालबाट १ मात्र डलर अर्बपतिका रुपमा छ ।
२ पटक सांसद भइसकेपनि उनी सफल ब्यावसायीकै रुपमा चिनिन्छन् । अब भने चौधरी पूर्णकालिन राजनीतिमा आउन लागेको देखिएको छ । नवलपरासी पश्चिम– १ बाट प्रत्यक्षतर्फ दिएको उम्मेदवारीले यसलाई पुष्टि गर्छ ।
उनले धेरै कार्यक्रमहरुमा आफू अब पूर्णकालिन राजनीतिज्ञ बन्ने बताइसकेका पनि छन् । तर, प्रत्यक्ष निर्वाचन लड्नुलाई उनको बाध्यताका रुपमा पनि लिन सकिन्छ । किनभने २०७४ मा समानुपातिक सांसद भएकालाई नदोहोर्याउने कांग्रेसको मापदण्ड छ ।
जसले गर्दा फेरी सांसद यात्रा तय गर्न प्रत्यक्ष निर्वाचन लड्नैपर्ने थियो । चौधरी २०७४ सालका समानुपातिक सांसद हुन् ।
पहिलो संविधानभामा एमालेबाट समानुपातिक सांसद बनेका थिए । २०७० मा उनलाई एमालेले सांसद बनाएन । त्यसपछि एमालेसँग रुष्ट भनेका चौधरी २०७४ सालको निर्वाचनअघि कांग्रेस प्रवेश गरे ।
अनि समानुपातिकबाट सांसद बने । चौधरीले नवलपरासीमा निर्वाचनको तयारी करिब २ वर्ष पहिलेबाटै थालेका थिए ।
स्थानीय निर्वाचनमा पाएको वडागत मतअनुसार नवलपरासी १ मा कांग्रेसको मत बढी छ ।
कांग्रेसले ३० हजार ३ सय ४२, एमालेले २६ हजार ७ सय ७९, राप्रपाले ६ हजार ६ सय ८७, माओवादीले ५ हजार ३ सय ४७, जसपाले ३ हजार ५ सय ५९ र नेकपा एसले १ हजार १ सय ४१ मत ल्याएका छन् । गठबन्धनसमेत रहेका कारण यो तथ्यांकका आधारमा चौधरीलाई निर्वाचन जित्न सहज देखिन्छ ।
उनका प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी यहाँबाट २०४८ सालदेखि नै निर्वाचित हुँदै आएका छन् । त्रिपाठीले लडेका ६ वटा निर्वाचनमध्ये २०७० साल बाहेक सबैमा निर्वाचिच भएका छन् । त्रिपाठी २०७४ सालको निर्वाचनमा एमालेको सूर्य चिह्नबाट लडेर विजयी भएका थिए ।
त्यसबेला त्रिपाठीले ३८ हजार ५ सय ९२ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवकरण प्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत पाएका थिए । यसपटक त्रिपाठीलाई जसपा लगायतका दलले साथ दिएका छन् । एमाले र राप्रपाले साथ दिने चर्चा चलेको थियो ।
तर, एमालेबाट सिन्धु जलेसा बुढाथोकी र राप्रपाबाट भोजराज ढकालले उम्मेदवारी दिएपछि चाुनावी भिडन्त रोचक हुने देखिएको छ । नवलपरासीका जनतामाझ त्रिपाठी लोकप्रिय मानिन्छन् । पटक–पटक सांसद भएपनि हालसम्म कुनै पनि विवादमा मुछिएका छैनन् ।
त्यसैले त्रिपाठीसँग प्रतिस्पर्धा गर्न चौधरीलाई त्यति सजिलो भने छैन । कम्युनिस्ट पृष्ठभुमीका त्रिपाठी सद्भावना, तराई मधेश लोकतान्त्रिक पार्टी, स्वतन्त्र विचार समूह हुँदै अहिले जनता प्रगतिशील पार्टीको अध्यक्ष छन् ।
उनलाई निर्वाचन जित्नकै लागि दल परिवर्तन गर्ने गरेको पनि आरोप लाग्ने गरेकाे छ ।