Logo
Logo

निगममा अर्को जीएसए काण्ड


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष बनाएर नेपाल वायुसेवा निगममा पठाएका मदन खरेललाई त्यहाँका कर्मचारीहरुले मात्र होइन, बोर्ड सदस्यहरुले पनि ‘थाल खाउँ कि भात खाउँ’ बनाउन थालेका छन् । निगमको जापान जीएसए नियुक्ति विवादमा परेलगत्तै बोर्डमा अर्को लफडा सुरु भएको छ । साउदी अरबका लागि गत साता जीएसए नियुक्त गर्न बसेको बोर्ड बैठकमा अच्युत पहाडीले ‘नोट अफ डिसेन्ट’ लेखेर विरोध जनाएका छन् । जीएसए नियुक्त गर्दा संस्थाको पृष्ठभूमि नै नहेरी ज्याज एभिएशनलाई जीएसए नियुक्ति गर्ने प्रस्ताव ल्याएपछि सञ्चालक पहाडीले एउटा ट्राभल एजेन्सीसमेत दर्ता नभएको कम्पनीलाई किन जीएसए नियुक्त गर्नुप¥यो ? त्यसमा क–कसको के स्वार्थ छ भनेर टेबुल ठोकेका थिए ।

त्यसको अर्को दिनदेखि बिदामा बसेका खरेलले पर्यटनमन्त्री योगेश भट्टराईको समेत फोन उठाएनन् । प्रधानमन्त्रीले ठाडै अध्यक्ष नियुक्त गरेका खरेलले ‘मैले जे गरे पनि हुन्छ’ भनेर चिनियाँ जहाज चलाउन क्याप्टेन पीएन नेपाली र केवी लिम्बूलाई नियुक्त गरेका छन् । जबकि खरेललाई यसरी क्याप्टेन नियुक्त गर्ने अधिकार छैन । त्यसमाथि चिनियाँ जहाजको पार्टपूर्जा खरिदको भुक्तानी नदिएर चिनियाँ कम्पनीले पार्टस् सप्लाई रोकेको छ । खरेल अध्यक्ष भएर आएदेखि चिनियाँ जहाज ग्राउण्डेड छ ।

निगमको अर्थ विभागले जहाजहरुका लागि आवश्यक पार्टपूर्जाहरु खरिद गरेको रकम समयमा भुक्तानी नगर्दा निगमका सम्पूर्ण जहाजहरु ग्राउण्डेड हुने अवस्थामा पुगेका छन् । निगममा रहेका एयरबस ३२०–३३० जहाजहरुका लागि पार्टपूर्जा सप्लाई गर्ने मुख्य कम्पनी स्याट एयरको दुई लाख ७० हजार डलर वक्यौता भएपछि उसले सामान सप्लाई गर्न छोडेको छ । निगमका इञ्जिनीयरिङ निर्देशक राजेशप्रसाद श्रेष्ठ असक्षमताका कारण इञ्जिनीयरिङ विभागको कार्य हेर्नका लागि मासिक ६ हजार डलर तिर्ने गरी फ्रान्सको डिएए कम्पनीलाई जिम्मा दिइएको छ । सुरुमा एक वर्षका लागि करारमा लिइएको उक्त कम्पनीलाई बिनाकारण अर्को एक वर्ष थप्ने प्रस्ताव कार्यकारी अध्यक्षको निर्देशनमा श्रेष्ठले अगाडि बढाएका छन् । यसमा पनि ठूलो कमिशनको चक्कर छ ।

हालै निगमले ३० लाख बाँकी पैसा नतिरेको भन्दै डीएचएल एक्सप्रेसले निगमको कुनै पनि डकुमेन्ट जहाजका सामानलाई पारवहन नगर्ने जानकारी दिएको छ । जसले गर्दा जहाजका कागजात र सामान रोकिएको छ । निगममा खरेल आएदेखि नै ग्राउण्डेड ट्वीनअटर जहाजको पखेँटा मर्मतसम्भारको लागि श्रेष्ठले फाइल बोकेर हिँडेता पनि नौ महिनासम्म मर्मतसम्भार गर्ने कम्पनीलाई पैसा नतिरेका कारण कुनै पनि कार्य अगाडि बढाउन सकिएको छैन ।

चाइनिज जहाजहरुको लागि पार्टपूर्जा सप्लाई गर्ने कम्पनीहरु सेनयाङ एभिक, वेटरहरुको बक्यौता रहेको हुँदा स्पेयर पार्टस दिन बन्द गरेका छन् । आपत्कालीन अवस्थामा अग्रिम भुक्तानी गरेर मात्र एभिकले पार्टपूर्जाहरु पठाउने गरेको छ ।

हाल निगमको उच्च व्यवस्थापनको मिलेमतोमा जहाजको निर्माता तथा सरकारी कम्पनीहरु एयरबस, बोइङ, एभिक, जोडियाक, साफ्रानलगायतका कम्पनीहरुबाट कमिशन नपाएको झोंकमा पैसा नतिरेको हुँदा जहाजका पार्टपूर्जा खरिद गर्न नसक्ने र प्राविधिक सहयोग समेत लिन नसक्ने अवस्था सिर्जना भएको छ । जसका कारण निगमका एयरबस जहाजहरु ३२० र ३३० पछिल्ला महिनाहरुमा पटक–पटक ग्राउण्डेड भएका छन् । तर, निजी तथा साना कम्पनीहरु नेपालको कोलोसस, इजरायलको पावर सिस्टम र एलहाल, सिंगापुरको एसटी एरोस्पेस, बैंककको एरोटर्वाइनलगायतका कम्पनीहरुसँग लागत रकम बढाउन लगाई मोटो कमिशन लिई तत्काल बिल भुक्तानी भइरहेको निगमको उच्च स्रोतले बताएको छ । निगमको दुईवटै एयरबस जहाजहरुको एपियु बिग्रिएका कारण अत्यन्त महंगो भाडादरमा एरोटर्वाइन कम्पनीसँग भाडामा लिएको चार महिना हुँदासम्म पनि कमिशनको लोभमा निगमको आफ्नो एपियु मर्मतसम्भार नगरी ह्याङ्गरमा नै थन्क्याएर राखिएको छ । जसबाट निगमलाई करिब १६ करोडको क्षति भएको छ । यस विषयमा सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालयको हेलो सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट संयुक्तरुपमा अनुसन्धान अगाडि बढाइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्